काठमाडौं : श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयबाट खटाइएकी सहसचिव विनु बज्राचार्य कुँवरले बुधबारबाट वैदेशिक रोजगार कार्यालय, ताहाचलको कार्यालय प्रमुखको जिम्मेवारी सम्हालेकी छन् । उक्त कार्यालयका तत्कालीन प्रमुख उमेश बस्नेत गृह मन्त्रालयमा सरुवा भई गएपछि केही दिन यता उक्त कार्यालय निमित्त प्रमुखको भरमा सञ्चालन हुँदै आएको थियो ।
बुधबार एक संक्षिप्त कार्यक्रमकाबीच कार्यालयका निमित्त प्रमुख छत्र शाहलगायतका कर्मचारीहरुले नवनियुक्त कार्यालय प्रमुख कुँवरलाई स्वागत गरे । केही दिनअघि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बढुवा भएका नयाँ १० जना सहसचिवहरुको पदस्थापन र अन्य १६ जना गरी २६ जना सहसचिवहरुको एकैसाथ सरुवा गरेको थियो । उक्त सरुवामा काठमाडौं कार्यालयका प्रमुख बस्नेत गृह मन्त्रालयमा सरुवा भएर गएका थिए भने सहसचिव कुँवर श्रम मन्त्रालय आएकी हुन् । कुँवर तत्कालीन राजप्रासाद सेवाबाट सेवा प्रवेश गरेकी कर्मचारी हुन् ।
यसैबीच संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले श्रम मन्त्रालयका सहसचिव बाबुराम अधिकारीलाई प्रदेश नं. ५ को अर्थ मन्त्रालयमा सरुवा गरेको छ भने सो स्थानमा युवा तथा खेलकुद मन्त्रालयका सहसचिव विनोद कुमार सिंहलाई पठाएको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies