काठमाडौं : मलेसियामा हालै चर्चित सुरक्षागार्ड कुटपिट प्रकरण लहरो तान्दा पहरो गर्जंदै हुन पुगेको छ । एउटा अपराधमा पक्राउ परेका व्यक्तिको एक पछि अर्को मुद्दामा फस्दै जान थालेपछि यस्तो अवस्था आएको हो ।
सुरक्षागार्डका सुपरभाईजरबाट कुटपिटमा परेका कारण मलेसियाका सञ्चारमाध्यमदेखि सामाजिक सञ्जालमा चर्चित बनेका नवलपरासीका ईस्लाम हुसेन एक महिलामाथि अभद्र व्यवहार गरेको गम्भीर आरोपमा तानिएका छन् । उनलाई कुटपिट गर्ने नेपाली सुरक्षागार्ड रामगोपाल मुराउ र हुसेन दुवै जना मलेसियामा अवैधानिक रुपमा बसेको भेद खुलेपछि मलेसियन प्रहरीले दुवै जनाविरुद्ध थप अनुसन्धान शुरु गरेको बताएको छ ।
थप अनुसन्धानका लागि मलेसियन प्रहरीले अध्यागमन विभागसँग कागजात मागेको बताइएको छ । त्यसैक्रममा हुसेनले केही महिनाअघि एक मलेसियन महिलालाई दुव्र्यवहार गरेको खुलेको हो । गत असार २३ गते मलेसियाको राजधानी क्वालालम्पुरस्थित एक व्यापारिक मलमा ड्युटी गरिरहेका ईस्लाममाथि मुराउले अमानवीय शैलीमा कुटपिट गरेका थिए । हाल दुवै नेपाली मलेसियन प्रहरीको नियन्त्रणमा रहेका छन् ।
मलेसियन प्रहरीले दुवै जना नेपाली मलेसिया प्रवेश गरेको मिति र अवैधरुपमा बसेको सम्बन्धमा प्रमाण जुटाइरहेको बताइएको छ । मुराउविरुद्ध कुटपिट र अध्यागमन तथा हुसेनविरुद्ध अध्यागमन र मलेसियन अपराध संहिताको दफा ३५ तथा ३५४ अन्तर्गत अनुसन्धान हुने बताइएको छ ।
उक्त दफा अनुसार अपराध प्रमाणित भएमा दोषीलाई दश वर्ष कैद, जरिवाना वा शारिरिक दण्ड ‘क्यानिङ’ हुने व्यवस्था छ । ईस्लामको कानून व्यवसायी रहेकी सुमिता शातिन्नीले घटना धेरै महिनाअघि भएको भएपनि ईस्लाम पक्राउ पर्नुभन्दा तीन दिनअघि मात्र ती महिलाले प्रहरीमा उजुरी गरेको बताएकी छन् । सुमिताले ईस्लामले प्रहरीसामु महिलामाथि दुव्र्यवहार गरेको अभियोग स्वीकार गरेको बताएकी छन् ।
प्रहरीमा आत्मसमर्पण गर्नुअघि मुराउ र ईस्लाम दुवै जना मलेसियास्थित नेपाली दूतावास गएका थिए । दूतावासमा दुवै पक्षबीच छलफल भएपछि मुराउले मलेसियन प्रहरीसमक्ष आत्मसमर्णण गरेका थिए । त्यसपछि ईस्लामलाई पनि मलेसियन प्रहरीले पक्राउ गरेको बताइएको छ । नेपाली दूतावासको उजुरीका कारण नेपालीहरु लामो समय जेल पर्ने भन्दै कतिपयले प्रहरीमा आफ्ना नागरिकविरुद्ध उजुरी दिने दूतावासको कदमको आलोचना गरेका छन् ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies