चितवनको ठोरीस्थित अयोध्याबारे अध्ययन, अनुसन्धान र उत्खनन् गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले वडाध्यक्षलाई निर्देशन दिएका छन् । प्रधानमन्त्रीको टेलिफोन गएपछि वडाध्यक्ष मात्रै नभएर स्थानीय तहका प्रमुख र उपप्रमुख नै काठमाडौं आएका छन् । यो टोली काठमाडौं हिडेको प्रचार योजनाबद्ध रुपमा गरियो । अर्थात् अब प्रधानमन्त्री ओलीको विवादास्पद अभिव्यक्तिलाई प्रमाणित गर्न सरकारी प्रयत्न अगाडि बढेको छ । यसले धार्मिक ग्रन्थ रामायण बर्णित् रामको जन्मभूमि भारतको अयोध्या नभएर नेपालको ठोरी हो भन्ने प्रमाणित गर्ने प्रयास गर्नेछ ।
प्रधानमन्त्रीले भानुजयन्तीको अवसरमा आफ्नै सरकारी निवास बालुवाटारमा आयोजित एक कार्यक्रममा रामको जन्मभूमि नेपाल नै भएको अभिव्य िक्त दिएका थिए । यो अभिव्यक्तिले नेपालमा मात्रै नभएर दक्षिणी छिमेक भारतमा समेत ठूलै तरंग ल्याएको छ । धर्मको राजनीति शिखरमा चढिरहेको भारतीय जनता पार्टी (भाजपा) नेतृत्वको भारतीय सरकारले पहिलेबाटै अयोध्यालाई आफ्नो राजनीतिक अस्त्र बनारहेकै थियो । कतिसम्म भने बाबरी मस्जिद ध्वस्त बनाएर त्यही ठाउँमा रामको विशाल प्रतिमा बनाइदैछ । प्रधानमन्त्री ओलीको अभिव्यक्ति पश्चात् अयोध्यामा रामको प्रतिमा शिलान्यास नै भएको छ ।
यता, प्रधानमन्त्री ओलीले पनि ठोरीस्थित अयोध्याको उत्खनन् शुरु गरेका छन् । यसले कुटनैतिक असर पर्ने भन्दै कतिपयले आलोचना गरेका छन् । उनीहरुको मतअनुसार, छिमेकलाई चिढ्याउनेगरी प्रधानमन्त्री ओलीले अभिव्यक्ति मात्रै दिएनन्, उत्खनन्कै काम अगाडि बढाए । यसलाई प्रधानमन्त्री ओलीले भने राष्ट्रियतासँग जोडेका छन् । कतिपयले प्रधानमन्त्रीको कदमको स्वागत समेत गरेका छन् । तर, स्वयम् नेकपाभित्र भने यस्तो झन्झटमा सरकार पर्न नहुने भन्दै आलोचना भइरहेको छ । कतिपयले भने रामको जन्मभूमिको प्रशंग इतिहास नभएर साहित्य भएकाले यसलाई चलाउनु उचित मोनका छैनन् । साहित्यको उत्खनन्तिर लागेर छिमेक सम्बन्ध बिगार्ने काम गर्न नहुने कतिपय परराष्ट्र मामलाका जानकारहरुले बताउँदै आएका छन् ।
तर, प्रधानमन्त्रीले थालेको कामबारे पक्ष वा विपक्षमा लाग्ने भन्दा पनि अहिलेको सन्दर्भमा सरकारको प्राथमिकता कतातिर जानुपर्ने हो भन्ने चाहिं महत्वपूर्ण छ । किनभने, विश्वव्यापी कोभिड महामारीका कारण मुलुक ठूलै संकटमा फसेको छ । जनता एकै पटक रोग र भोक विरुद्ध लड्नुपर्ने अवस्था सिर्जना भएको छ । यसतर्फ सरकारको प्राथमिकता हुनुपर्ने हो । निष्कर्षमा भन्दा धार्मिक ग्रन्थको राम भन्दा पनि आज महामारी विरुद्ध लडिरहेको रामहरुको संरक्षण प्रधानमन्त्रीको पहिलो प्राथमिकता हुनुपर्छ । अन्य विषय बिस्तारै बहस गर्न सकिन्छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies