काठमाडौं : भारतीय विदेशमन्त्री एस जयशंकरले गौतम बुद्ध र महात्मा गान्धी भारतका दुई ठूला व्यक्ति भएको अभिव्यक्ति दिएपछि नेपालमा तीव्र आलोचना भएको छ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले विदेशमन्त्री शंकरको अभिव्यक्तिप्रति आपत्ति जनाएका थिए । सत्तारुढ नेकपाका विदेश विभाग प्रमुख माधवकुमार नेपालले पनि जयशंकरको अभिव्यक्तिमा आपत्ति जनाए ।
परराष्ट्र मन्त्रालयले प्रेस नोट जारी गर्दै यसप्रति आपत्ति जनाएको थियो । प्रेस नोट जारी गर्दै परराष्ट्र मन्त्रालयले गौतम बुद्ध नेपालमा जन्मिएका हुन् भन्ने प्रमाण अकाट्य भएको प्रष्ट पारेको थियो । मन्त्रालयले ऐतिहासिक र पुरातात्विक ढंगले प्रमाणित भएर स्थापित तथा अकाट्य भइसकेको समेत उल्लेख गरेको छ ।
परराष्ट्र मन्त्रालयले सन् २०१४ मा नेपाल भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको संसद सम्बोधन गर्दै बुद्धको जन्मभूमि नेपाल भएको बताएको पनि संस्मरण गरेको थियो । विदेश मन्त्री जयशंकरको अभिव्यक्तिप्रति नेपालमा जनस्तरमै विरोध तीव्र भयो ।
यसपछि भने भारतीय भारतीय विदेश मन्त्रालयले मन्त्री जयशंकरको अभिव्यक्तिबारे प्रष्टिकरण दिएको छ । विदेश मन्त्रालयले गौतम बुद्ध नेपालमा नै जन्मिएका हुन् भन्नेमा कुनै शंका नरहेको उल्लेख गरेको छ । परराष्ट्र मन्त्रालयले प्रेस नोट जारी गर्दै आपत्ति जनाएपछि भारतीय विदेश मन्त्रालयले जवाफ दिएको छ ।
“कुनै शंका छैन, गौतम बुद्ध लुम्बिनीमा जन्मिएका हुन् । जुन ठाउँ नेपालमा पर्छ”, भारतीय विदेश मन्त्रालयको बक्तव्यमा उल्लेख छ । भारतीय विदेश मन्त्री जयशंकरले गौतमबुद्धको जन्मस्थलबारे दिएको अभिव्यक्ति प्रति विवाद गर्नुपर्ने कुनै कारण नरहेको पनि मन्त्रालयले जनाएको छ ।
अगस्ट ८ मा भारतीय उद्यमी तथा व्यापारीहरूको छाता संगठन भारतीय उद्योग परिसंघको कार्यक्रमलाई सम्बोधन गर्दै विदेश मन्त्री जयशंकरले गौतम बुद्धबारे विवादास्पद अभिव्यक्ति दिएका थिए । उनले भनेका थिए, “आजसम्म हामी सबै दुई जना महान भारतीयहरूलाई चिन्दछौं । गौतम बुद्ध र महात्मा गान्धी ।”
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies