काठमाडौं : आप्रवासी कामदार भर्नामा शोषण रहेको भन्ने अमेरिकालगायत केही पश्चिमा राष्ट्रहरुबाट दवाब आइरहेका बेला मलेसियाका टप ग्लोब्सलगायतका रवर उत्पादन कम्पनीले कामदारको भर्ना शुल्क फिर्ता गर्न थालेका छन् । मेडिकल ग्लोब्स उत्पादनमा विश्व चर्चित कम्पनी टप ग्लोब्सले सन् २०१९ अगाडि कम्पनीमा भर्ना भएका आप्रवासी कामदारहरुको भर्ना शुल्क फिर्ता गर्ने शुरु गरेको बताएको छ ।
कोरोना भाइरस संक्रमणबाट सबैभन्दा बढी प्रभावित अमेरिका टप ग्लोब्स कम्पनीको प्रमुख ग्लोब्स आयात गर्ने मुलुक हो । तर अमेरिकाको कष्टम एण्ड बोर्डर प्रोटेक्सनले कामदारको स्वच्छ भर्ना प्रक्रियाको मापदण्ड पूरा नगरिएको र समयमा तलवलगायतका सुविधा नदिई कामदारहरुको शोषण गरेको भन्दै उत्पादन आयातमा प्रतिवन्ध लगाएको थियो ।
रोजगारीका लागि मलेसिया जाने नेपालीसहितका आप्रवासी कामदारहरुको भर्ना प्रक्रियामा मध्यस्थहरुद्वारा अनुचित असुली गरिएको भन्दै समाचारमा त्यसले कामदारलाई ऋणको दुश्चक्रमा पर्ने उल्लेख छ ।
टप ग्लोब्सले स्टक बजारका लागि सोमबार सार्वजनिक गरेको आफ्नो विज्ञप्तिमा कामदारको रकम फिर्ताका लागि पहिलो किस्ता वापत ४.४ मिलियन रिंगेट छुट्याएको उल्लेख गरेको छ । उक्त कम्पनीले कामदारको फिर्ता गर्नुपर्ने रकम ५३ मिलियन रिंगेट रहेको र त्यसलाई चरणवद्धरुपमा चुक्ता गर्ने योजना रहेको जानकारी अमेरिकी कष्टम एण्ड बोर्डर प्राटेक्सन विभागलाई दिएको छ । टप ग्लोब्सले आप्रवासी कामदारको नयाँ भर्नाका लागि शुन्य लागतको नीति अपनाइएको घोषणा गरेको छ ।
त्यसैगरी अर्को कम्पनी हार्टालिगा होल्डिङ्स बिएचडिले पनि आप्रवासी कामदारको फिर्ता गर्नुपर्ने ४० मिलियन रिंगिट चौथो किस्तामा फिर्ता गरिसक्ने बताएको छ । त्यस्तै अर्को कम्पनी सुपरमाक्स क्रोप्स बिएचडी कम्पनीले जुन अन्त्यसम्म ३९९.६२ मिलियन रिंगिट नाफा गरेको भन्दै कामदारहरुको भर्ना रकम फिर्ता गर्ने योजना बनाएको बताएको छ ।
रवर ग्लोब उत्पादन गर्ने कम्पनी डब्लुआरपीले गत महिनादेखि नै किस्तावन्दीमा रकम फिर्ता गर्दै आएको बताएको छ । अमेरिका र पश्चिमिा मुलुकको दवाबपछि सबैजसो मेडिकल उत्पादक कम्पनीहरुले आप्रवासी श्रमिकले भर्ना प्रक्रियामा कुनै शुल्क तिर्नुनपर्ने विषयलाई कडाइका साथ पालना गराउने बताएका छन् ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies