-अच्युतप्रसाद पौडेल “चिन्तन”
यस वर्षको अन्तर्राष्ट्रिय युवा दिवस आज (साउन २८ गते) परेको छ । कोरोना कहरका बीच पनि यथारुपमा यसलाई मनाउने गरी सरकारीस्तरमा समिति पनि गठन भएको सार्वजनिक भएको छ । स्वस्थ युवा शक्ति रोजगारसहितको जनशक्तिको मूल ध्येयका साथ सबैले मनन गर्नु पर्ने अवस्था छ अहिले ।
देशमा जनशक्ति योेजनाको अभाव र राजनीतिक अस्थिरताले ल्याएको विषम परिवेशका कारण धेरै नेपाली बाहिरिएका थिए । हाल विश्वव्यापी कोरोना संकट र त्यसबाट उत्पन्न परिवेशले विदेशस्थित धेरै नेपालीहरुले स्वदेश फर्कने इच्छा व्यक्त गरेका छन् । विदेशस्थित एक तिहाई नेपाली मात्रै पनि एकै पटक स्वदेश फर्कन पर्ने अवस्था आयो भने मुलुकले कठिन परिवेश व्यहोर्नु पर्नेछ भनी यस अघि पटक पटक भनिदै अएको हो । अहिले बाध्यता छ, नेपाली माटोको माया गर्दै लाखौँ जनशक्ति फर्कने अवस्थामा छन् र त्यसको व्यवस्थापन कार्य अहिले सबैलाई समस्याको घडी छ । अर्बौ रकम विप्रेषणका रुपमा पठाएर देशको आर्थिक परिवेशलाई राम्रोे पार्ने हाम्रा नेपालीहरु अधिकाँश युवा नै छन्, बेरोजगारीकै कारण ती बाहिर गएका हुन् । मुलुकको सामजिक र आर्थिक रुपान्तरण युवाशक्तिकै हातमा हुन्छ । सामाजिक सद्भावको अभिभारा युवा शक्तिमा हुन्छ । सांस्कृतिक रुपान्तरण युवा जिम्मेवारीकैै विषय हो । राजनीतिक रुपान्तरणमा युवा शक्तिकै हात छ । हाम्रो मुलुकमा अधिंकाश परिवर्तनहरु युवा शक्तिबाटै भएको हो । तर त्यही युवाशक्ति मुलुकबाट पलायन छ । ती अहिले कोही यूरोप, अमेरिकामा छन् त कोही जापान, कोरिया, अष्ट्रेलिया प्रतिभा पलायनकै कारण छन् भने खाडी मुलुक श्रम रोजगारीका खोजिमा पनि कम छैनन्् । यता देश भने नराम्रो आर्थिक मन्दीमा फसेको छ । चौतर्फी सीमा समस्यामा अड्केको छ । राजनीतिक दलभित्र किचलो छ । गुट र उप गुटमा पर्दा देशका मूल मूल मुद्दाहरु ओझेलमा परेका छन् । सत्ताबीच टकराव छ भने नेतृत्वमा गुटबन्दी । बहनाहरु बनाउँदै बैठकहरु सर्ने क्रम छ भने सीमा अतिक्रमणमा जनस्तरमा तीव्र विरोध छ । कोरोनाले काठमाडौँलाई मात्र नभइ देशैभरी भूकम्पभन्दा ठूलो र नराम्रो झट्का हानेको छ । देशमा जनशक्ति परिचालनको अवस्था नाजुक छ । भएका जनशक्ति पनि कोरोनाबाट ग्रस्त छन्, प्रहरी, प्रशासन, न्याय, उद्योग, व्यापार सबैतिर । सरकार विगतमा भँैm आकर्षक र मनै लोभिने खालको भाषण दिन छुटेको छैन, नीति कार्यक्रमदेखि बजेटैसम्म र अन्य अर्ति उपदेश उसका नराम्रा छैनन्, तर जनता भने ट्वाल्ल परेर चित्त बुझाउनबाहेक केही गर्न नसक्ने भएका छन् ।
विश्वको समृद्धि प्राप्त मुलुक जापानले वृद्धहरुको सम्मान गरेको छ भने दिन दुई गुणा र रात चौगुणाले विकास गर्ने मुलुक थाइल्याण्डमा युवा शक्तिको गतिलो परिचालन भएको छ । सिर्जनशीलता अनि साहस, सिक्ने क्षमता र उच्च आत्मविश्वास युवा शक्तिमा रहेको हुन्छ । उद्यमशीलतामा, नेतृत्व विकासमा उनीहरुलाई प्रयोग गर्ने सकिए मुलुकको समृद्धि टाढा हुन्न । गुण्डा, मुद्रे र डनको हिसाबमा प्रयोग भए त्यही युवा शक्तिले मुलुकमा भारी उच्छृङ्खलता पनि ल्याउन सक्छ । नेपालको कूल जनसंख्याको १६ देखि ४० वर्ष उमेर समूहका मानिसहरु ४१ प्रतिशत बढी छन् । देशको जनसंख्या ३ करोड नाघेको र जन्मदै ४२ हजार रुपैयाँ ऋण बोकेर जन्मने भएका छन् । सबै युवा शिक्षित, सीप सम्पन्न, अनुसाशित र उद्यमशील हुने हो भने हामीले सोचेको विकासको रफ्तार टाढा हुन्न । युवा जनशक्ति भनौँ मानव पुँजी पलायन हुन नदिने र श्रमशक्ति मुलुकमै प्रयोग हुने वातावरण सिर्जना गर्ने काम सरकारको हो । सबैलाई सरकारले रोजगारी दिन नसके पनि रोजगारीका अवसर सिर्जना भने गर्न सक्छ । मुलुकमा अहिले सरकार स्थिर छ । तर नीति स्थिर छैन । रोजगारीको अवसर नै छैन । नाना, खाना र छानाकै लागि युवाशक्ति विदेशिएको हो । आपूm र आफन्त आश्रित बुढाबुढीहरुको सपना पूर्तिका लागि पनि घरजग्गा बेचेर ऋण काढेर युवाशक्ति देशबाट पलायन भएको हो । विदेश बसेर कोरोनाको समस्याले अहिले चुक्चुकाउँदैछन् सबैजसोले ।
उद्योग, उद्यमशीलता, लगानी भनौँ रोजगारीका क्षेत्र युवामैत्री भएन । कुनैपनि सरकारी काम बढी प्रक्रियामुखी झन्झट र अपारदर्शी भयो । सरकारले सामाजिक सुरक्षाको कुरा गरे पनि युवाहरुले पत्याएनन् । रोजगार दाताको सूचीकृत संख्या नगन्य छ । रोजगारदाताहरु यस अभियानमा उत्साहित नभएको देखिन्छ । रोजगारी सिर्जना गरी उद्यमशीलतामा, उद्योगमा युवाशक्ति सरिक गराउने काममा लघु, घरेलु साना उद्योगहरुको बढी हात हुन सक्छ । तर यसै क्षेत्रबाट सामाजिक सुरक्षा अभियानमा खासै चासो दिएको देखिँदैन ।
हाल मुलुकका धेरै निजी क्षेत्रमा भनौं सञ्चार, दूर सञ्चार, शिक्षा, सहकारी एवं बंैकहरुमा धेरै युवाशक्ति परिचालित छन् । मुलुकमा पछिल्लो समय देखिएको निजी क्षेत्रको संलग्नताले युवा रोजगारी सिर्जनामा धेरै सहयोग पुगेको हो । तर कोरोेना सन्त्रासबाट भएको लकडाउनका कारण यी संस्थाहरु तत्कालै उठ्न सक्ने स्थितिमा छैनन् । कतिले भएका रोजगारी पनि गुमाइ सकेका छन् । पर्यटनक्षेत्र त्यसको अर्को उदाहरण हो, समृद्ध देश अमेरिकामै रोजगारी गुमाउने धेरै भए । हाम्रो सरकार भन्छ धेरै राहत खोज्ने हो भने कर बढाउनु पर्छ । खर्च कटौती गर्न सक्ने धेरै आधारहरु छन् त्यतातिर ध्यान दिनु भन्दा अफिस सञ्चालनकै लागि एउटैको डेढ करोड पर्नेे महँगो गाडी किन्न सरकार पछि पर्दैन । स्वदेशमा शिक्षाकोे वातावरण तय भइसकेको छैन । मध्यम र उच्च शिक्षा प्राप्त युवा शक्ति विदेश पलायनबाट कसरी रोक्ने त्यसतिर आँखा लाउनु पर्ने हो । मुलुकभित्रै आर्थिक, उत्पादन, सेवा क्षेत्रमा संलग्न हुने अवसर पाए कसैलाई विदेश जाने रहर हुँदैन । व्यवहारिक र व्यवसायिक शिक्षाको अभाव छ मुलुकमा ! युवा जोस जाँगरको प्रयोग हुनेगरी दिइने तालीम, शिक्षण, प्रशिक्षणको अभाव छ यहाँ ! केही तालिम, शिक्षण, प्रशिक्षण संस्थाहरु भए पनि समन्वयको अभाव छ । बढ्दो युवा जनसंख्यालाई उद्यमशीलता अभियानमा सरिक गराउन सके मुलुकमै उद्योग धन्दाहरु फस्टाउने थिए । तर, सरकारलाई लगानीको वातावरण तय गर्ने फुर्सद छैन । कालापानी, लिम्पियाधुरा हेर्ने कि मेचीदेखि कालीसम्मको पूरै दक्षिणी भेगमा सीमा समस्या छ त्यता हेर्ने कि । सत्तासीन दलभित्र किचलो छ, बैठक बस्ने भन्दै मिति टार्नेतिर ध्याउन्न छ, कता हेर्ने कता नहेर्ने ? निहुँ पाए लक्डाउन गरी दिए भइहाल्यो । विषयपिच्छे सरकारलाई जनताले औंला ठड्याएका छन्, तर हेर्ने समय छैन । मानौँ सबैतिर सकस छ अहिले । देशमा उत्पादन वृद्धि गरी आयातलाई प्रतिस्थापन गर्ने वातावरण छैन । कोरोनाको राहत बाँड्न पनि विदेशी चामल आवश्यक छ । व्यापार घाटा चुलिँदो छ । नेपाली श्रम खेर जाँदा लक्डाउनको एकाध महिनामा ४ अर्वको तरकारी आयात गर्ने कस्तो परिवेश होला हाम्रो ।
देशमा सुखका दिनको आशा गर्दै प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्र मुलुकमा स्थापनाका लागि धेरै युवा शक्तिले आफ्नो जोस्, जाँगर देखाए तर त्यही जनशक्तिलाई मुलुकले विकासको अभियानमा शरीक गराउन सकेन ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies