कोभिड–१९ को संक्रमणबाबट राजधानीमा उपत्यका सहित बुधबार एकै दिन आठ जनाको मृत्यु भएको छ । एकै दिन मृत्यु भएको यो संख्या अहिलेसम्मकै उच्च हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार, काठमाडौं, धुनषा, बारा, कपिलवस्तु र सप्तरीमा संक्रमितको मृत्यु भएको छ । धनुषामा एकै दिन तीन जनाको मृत्यु भएको छ । बुधबार एकै दिन आठ जनाको मृत्यु भएपछि नेपालमा कोरोनाबाट मृतक संख्या ९१ पुगेको छ । अर्थात्, गएको माघ ९ गतेदेखि संक्रमण देखिन थालेको कोरोनाले उच्च रुप लिदै गएको अनुमान गर्न सकिन्छ । लकडाउन खुलेसँगै लगातार संक्रमण बढिरहेको राजधानी उपत्यकामा एकै दिन १३८ जनामा संक्रमण पुष्टि भएको छ । त्यस मध्ये काठमाडौंका मात्रै १०९ जना छन् ।
स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार, अझै ८० जना भन्दा बढी आईसीयूमा भर्ना भएका छन् । मृत्यु भएपछि संक्रमण पुष्टि हुँदै आएकोमा पछिल्लो समय भने लक्षण सहितका संक्रमित देखिने, अस्पतालमा भर्ना हुने र मृत्यु हुने गरेको पाइएको छ । केही दिन अगाडि मात्रै पूर्व मन्त्री मोहनबहादुर बस्नेतका बुवाको मृत्युु भएपछि कोराना संक्रमण पुष्टि भएको थियो । मलामी गएका पाँच सय बढी अहिले क्वारेन्टिनमा छन् । सत्तारुढ दलकै शीर्ष नेताहरु समेत कोभिड महामारीका कारण आइसोलेसनमा छन् ।
प्रदेश–२ का आन्तरिक मामला तथा कानून मन्त्री ज्ञानेन्द्र यादव, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त नविन घिमिरे, प्रदेश–१ सांसद कुसुम श्रेष्ठ लगायत भीभीआईपी नै संक्रमित बनेका छन् । संक्रमित संख्या २४ हजार ४३२ जना पुग्दा राजधानी उपत्यकामा मात्रै एक हजार ४४८ जनामा संक्रमण पुष्टि भएको छ । राजधानी उपत्यकामा संक्रमण पुष्टि भएका मध्ये कयौंको ट्राभल हिस्ट्री फेला पर्न सकेको छैन । अर्थात्, संक्रमण समुदाय स्तरमा फैलिएको आशंका गरिएको छ । तर, स्वास्थ्य मन्त्रालयले यसबारे केही भनेको छैन ।
राजधानी उपत्यका मात्रै नभएर धेरै जनसंख्या रहेका शहरहरुमा संक्रमण बढेको छ । तर, सरकारले भने खोलिसकेको लकडाउनबारे फेरि अर्को निर्णय नगर्ने मनसाय देखाएको छ । राजधानी उपत्यकामा निजी सवारी साधनमा जोरबिजोर प्रणाली लागू गर्ने बाहेक थप कदम चालेको देखिदैन । यसले जोखिमको त्रास भने बढेर गएको छ । यस्तो बेला सरकार र आम नागरिकसँग एउटै विकल्प छ– जिम्मेवार हुने, रोकथामका प्रावधान पालना गर्ने ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies