-गोविन्द विक
आफ्नै अनुहारसँग झस्कीनु पर्ने समाजमा आफ्नै अनुहार छोपेर हिडनुपर्ने हरेक पल अनुहार ऐनामा हेर्दा आफूमा अथाह शक्ति बटुलेर जिउँदै जलेको पीडाले जिउन सिक्नु पर्ने यसलाई आफ्नै कमजोरी भन्ने की राज्यको बेवास्ता । अपराधको कुनै जात हुँदैन लिंग हुँदैन धर्म हुँदैन अपराध अपराध नै हो । महिलामाथि हुने एसिड आक्रमणका जघन्य अपराधको जति नै निन्दा गरे पनि कम हुन्छ । किशोरी तथा महिलामाथि एसिड आक्रमणका घटनाहरु पछिल्लो समयमा निकै बढीरहेका छन् । यसले आम किशोरी तथा महिलाहरुमा एक हिसावले त्रासको वातावरण सिर्जना गरिरहेको छ ।
यो समाजले महिलालाई हरेक पाइलामा दोस्रो दर्जाको नागारिकका रुपमा हेर्दै आयो । उनीहरुको आँट र साहसलाई मूल्यांकन गर्न यो समाजले कन्जुस्याइ गरिरहयो । हुर्काइको क्रमदेखि नै लैंगिक विभेदको चपेटामा समाजले सामाजिकीकरण गर्दै लग्यो । त्यसकारण उनीहरु लैंगिक विभेदका विरुद्धमा अगाडी आउन अकमकाइ रहे । जसले गर्दा उनीहरु जघन्य हिंसाका सिकार भइराखेका छन ।
महिलामाथि भइराखेका एसिड आक्रमणका घटना विचलन मानसिकताको डरलाग्दो उदाहरण हो । एसिडले जलेको दाग सामान्य अवस्थामा आउन निकै कठिन हुने हुनाले यो जतिको पीडा जिवनमा के नै हुन सक्छ र ? एक ठाउँमा भएको घाउले हजार ठाउँ चिमोटिरहन्छ जसले गर्दा हजारौ पटक पीडकको काहाली लाग्दो दृष्यहरु आफू सामु आउँदा राज्यप्रति आक्रोस पोख्नु कुनै अनौठो विषय हुँदैन ।
चिया त तातातातो मुखमा लगाउँदा जिब्रो पोलेर सहन गा¥हो हुने महसुस गरेको मान्छेले हातमा छिटा लाग्यो भने पनि प्वाल पार्ने एसिड कसरी अनुहारमा छ्याप्न सकेको होला ? सामाजिकीकरणको दौडानमा महिलाहरुको दर्जा तल र पुरुषको दर्जा माथि छ भन्ने मानसिकता हामी सबैमा रहिरहेको हुनाले पनि महिलामाथि हुने एसिड प्रहार जस्ता जघन्य हिंसालाई बल पुगेको हुनुपर्छ । एसिडले जलेको अनुहार लिएर मुस्कुराउँदै हरेक पल समाजसँग रमाउनका लागि खुसी देखाउने साहसलाई स्यालुट गर्न किन कन्जुस गर्ने ? एसिड आक्रमणमा परेका महिलाहरुले आफूमाथि पोखिने हरेक विचारका शब्दहरुलाई कसरी पचाइरहेका होलान ?
एसिडले जिउँदै जलाइएकाहरुको पीडालाई यो राज्यले कहिले बोध गर्ला ? एसिडको लडाइलाई जितेको अनुहारले समाज जित्न कति गाह्रो छ भन्ने कुरा राज्यले कहिले बुझला ? महिला अधिकारका विषयमा राज्य जहिले पनि संवेदनशिल हुने आर्दशका शब्दहरु पोख्दै गर्दा दिउँसै एसिडले महिला तथा किशोरीहरु जलाइएको खबरले राज्यको मन पोलेको छ कि छैन ? एसिड प्रहारको पहिलो घटना हुँदा नै राज्यले थप यस्तै किसिमका घटना नदोहोरिन कालागि कुन कदम उठायो ? यसको उत्तर राज्यसँग छ ?
प्रतिनिधिसभामा ३२.७३ प्रतिशत, राष्ट्रिय सभामा ३७.२९ प्रतिशत र स्थानीय तहमा ४०.९३ प्रतिशत महिलाहरुको प्रतिनिधित्व गराएको यो राज्यले उनीहरुमाथि हुने एसिड प्रहार जस्ता जघन्य अपराध किन रोक्न सकिराखेको छैन । राज्यका निकायहरुमा महिलाहरुको प्रतिशत वृद्धिले मात्र महिला हिंसा निर्मुल नहुने विषयमा राज्य कहिले चनाखो होला ? महिलामाथि हुने एसिड प्रहारको चिन्ता महिलालाई मात्र हैन पुरुषलाई पनि त्यत्तिकै हुनु पर्दछ । करिब सात वर्षको अन्तरालमा भएका एसिड आक्रमणका २३ घटनामध्ये १९ वटा घटना महिला तथा किशोरी माथि भएका छन् । एसिड आक्रमणकारी किन पुरुष मात्र हुँदै छन् ? यसको मनोवैज्ञानिक विचलनको पाटोमा बहस गर्ने कि ? मुस्कान खातुनको मुस्कान खोस्नेहरु पनि मात्र १५ वर्षका कलिला बालक नै थिए । हामीले कुन सिकाइ र व्यवहारमा हाम्रा बालबालिकालाई सोसोलाइजेसन गर्दैछौ ? सोसोलाइजेसनका गलत मान्यतालाई एक पटक समिक्षा गर्ने की ? केटाको प्रेम अस्वीकार गर्दा हेटौडाकी बिन्दासिनीले एसिडले जल्नु प¥यो । केटालाई इग्नोर गरेकै कारण संगीता र सम्झनाले एसिडको जलनलाई सामना गर्नु प¥यो । विहेको प्रस्ताव नमान्दा चितवनकी बसन्ती परियारले एसिड प्रहारको सिकार हुनुपर्यो । लोग्नेले भनेको नमान्दा श्रीमानले जेनी खड्कालाई एसिड प्रहारले जवाफ दिए । आफूभन्दा दोब्बर जोठो मान्छेले राखेको प्रेम प्रस्ताव नमान्दा रौतहटका सम्झना र सँगै सुतेकी सुस्मीतालाई एसिड प्रहार भयो अन्तत उपचारको क्रममा सम्झनाको दुखद निधन भयो । प्रेम प्रस्ताव नपचा एकै कारण काठमाडौमा पवित्रा कार्कीमाथि बुबा उमेरका मान्छेको योजनामा एसिड प्रहार भयो ।
यसरी विभिन्न कारणले नजिक हुने र नमान्दा एसिड छयापेर रिस साध्ने ठरलाग्दो योजनाको चपेटाबाट महिलाहरुलाई संरक्षण गर्नका लागि यो राज्य कठोर हुनुपर्ने अवस्था देखिँदैछ । एकपछि अर्को गर्दै एसिड प्रहारका घटनाहरु घटिरहँदा राज्यका निकायहरुले प्रभावकारी काम गर्न चुक्नु आफैमा पीडादायी छ । सुन पसल तथा हार्डवेयरमा एसिड सहजै रुपमा उपलब्ध हुने भएका कारण पनि अपराधिक प्रवृत्तिका मान्छेहरुलाई एसिड प्रहारले रिस साँध्न सहज भएको हुनुपर्छ । विषेश गरी प्रेमको खटपट प्रेममा धोका जस्ता विषयहरुमा एसिड प्रहार भएका छन् । प्रेममा धोका हुँदा त भावुकता हुनु पर्नेमा त्यसो नभइ रिसको आवेग किन झल्कीरहेको छ ? अनि एसिड प्रहार पनि किन अनुहारमा नै हुन्छ ? अनुहार नै विगार्नुको पछाडी कुन उद्देश्यले काम गर्दैछ ? हाम्रो समाजमा प्रेम अस्वीकार गर्नु ठूलै अपराधको रुपमा किन मौलाइरहेको छ ? केटाले प्रेम अस्वीकार गर्दा केटीले उसको भलाइका लागि हरेक मन्दिरमा दियो बाल्छीन् अदृश्य सम्झना छ भन्दै कुनामा बसेर आँसु झार्छिन् तर केटीले प्रेम अस्वीकार गर्दा एसिड प्रहारको जलनले जवाफ दिइन्छ अखिर किन ? आफ्नो पुरुषत्व देखाउन ? पितृसत्तत्मक समाजको प्रतिक हुन ? आफूलाई शक्तिशाली पुरुष देखाउन ? मुखमा सामान्य मास्क बोक्दा त अप्ठयारो हुने हामीलाई जिवनभरी दागको मास्क बोकेर हिँडने एसिड सरभाइबलको पीडा अन्दाज गर्न पनि हामी सक्दैनौ । एसिड प्रहारबाट विचलित भएको अनुहार हामीलाई स्वीकार गर्न निकै कठिन हुन्छ । तर उनीहरुले आफैंलाई कसरी स्वीकार गरेका होलान् । साच्चै ती मुटुमा आँट र साहसको महासागर नै हुनुपर्दछ । एसिड प्रहारमा पारिवारिक तथा सामाजिक भयावह डरलाग्दो रुपमा झाँगिदै गइरहेको कुरालाई राज्यले बेलैमा महसुुस गरेर सोही अनुसार राज्य संयन्त्रहरुलाई क्रियाशिल गराउन जरुरी छ ।
कानुन आफैले कहिलै काम गर्दैन जबसम्म व्यक्तिले काम गर्दैन कानुनको कुनै मतलबै हुँदैन । कानुनमा एसिड प्रहार गर्नेलाई १८ वर्षसम्म सजाय हुने व्यवस्था छ । एसिड हानेर घाइतेको ज्यान गएमा कतव्र्य ज्यान मुद्दा लाग्ने प्रवाधान मुलुकी अपराध संहिता २०७४ मा छ । संहिताको दफा १९३ मा तेजाव वा अन्य रसायनिक जैविक वा विषालु पदार्थ प्रयोग गरी कुरुप पार्नेलाई कसुरको प्रकृति हेरी अनुहार कुरुप पारेमा ५ देखि ८ वर्ष कैद एक लाखदेखि पाँच लाख रुपैयाँसम्म जरिवानाको व्यवस्था गरिएको छ । कानुनमा मात्र लेखेर के गर्ने कनुन कार्यान्वयन व्यक्तिले गर्ने हो । त्यस कारणले कानुनमा भएका व्यवस्थाहरुलाई कार्यान्वयको सहि मार्गमा अवतरण गराउने जिम्मा व्यक्तिको हुने हुनाले राज्यका अधिकार सम्पन्न निकायमा रहने व्यक्तिहरुले आगामी दिनमा यस किसिमका कुरुपजन्य अपराधलाई रोक्नका लागि हरतरहले चनाखो हुनु जरुरी छ । सजायकै कुरा गर्दा एसिड बिक्री वितरण गर्नेलाई पनि १० वर्षको कैद हुने व्यवस्था छ ।
तर आजसम्म एसिड बिक्री गर्नेलाई सजाय भएको कुनै समाचारमा सुनिएकै छैन । एसिडसँग लडेर जितेकाहरुलाई यो राज्यले विशेष व्यवस्था गर्नुपर्ने हो । तर त्यसो गरेको पनि सुनिएको छैन । जताभावी एसिड बिक्री र वितरण गर्न राज्यले तत्काल रोक लगाउनु पर्दछ । एसिडको काराबार गर्नेहरुलाई लाइसेन्सको व्यवस्था गरी उनीहरुको नियमन तथा अनुगमन राज्यले कडाइका साथ गर्नुपर्दछ । कठोर रुपमा राज्यका निकायहरुले एसिड प्रकार जस्ता जघन्य अपराधका घटनामा नियमनकारी भूमिका नेखेलेसम्म आगामी दिनमा पनि धेरै मुस्कान खातुनहरुको मुस्कान खोसिने श्रृङखला बन्द हुने छाँट देखिँदैन ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies