प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस अहिले महाधिवेशनको चटारोमा छ । विश्वव्यापी कोभिड महामारी र भूराजनीतिक शक्ति संघर्षको दलदलमा मुलुक फसिरहँदा प्रमुख प्रतिपक्षी दल काँग्रेसका नेताहरुको पूरा ध्यान भने नेतृत्व हत्याउनमा केन्द्रित देखिन्छ । सभापति शेरबहादुर देउवा समूह र संस्थापन इतर बरिष्ठ नेता रामचन्द्र पौडेल–पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला समूहबीच शक्ति संघर्ष नेतृत्व हत्याउनकै निम्ति केन्द्रित रहेको बुझ्न गाह्रो पर्दैन ।
सम्वाद कम, तर संघर्ष बढी देखिन थालेको काँग्रेसभित्र केन्द्रदेखि स्थानीय तहसम्म तीन लाइन (देउवा–पौडेल–सिटौला) गतिविधि बढेको छ । सभापति देउवाले एक्लौटी रूपमा विभाग संख्या बढाएको र पदाधिकारी सहित सदस्यहरु मनोनित गरेको आरोप लगाइरहेको पौडेल–सिटौला समूहले अस्वीकार गर्ने चेतावनी नै दिएको छ । पौडेल र सिटौला निकट रहेकाहरुले सभापति देउवाले गरेको मनोनित सदस्य बहिष्कार गरेका छन् । केही दिन अगाडि मात्रै संस्थापन इतर समूहका केन्द्रीय सदस्यहरुले विभाग गठनको निर्णय खारेज गर्न माग गरेका थिए भने बरिष्ठ नेता पौडेलले सात बुँदे प्रस्ताव मार्फत् देउवाको निर्णय नमान्ने अडान लिएका थिए ।
अर्थात्, काँग्रेसभित्र जसरी पनि नेतृत्व हत्याउने संघर्ष चर्किएको बुझ्न सकिन्छ । महाधिवेशन आउन केही महिना मात्रै बाँकी रहँदा सभापति देउवाले विभागमा आफू निकट रहेकाहरुलाई ल्याएर बहुमत हासिल गर्ने रणनीति लुक्दैन । संस्थापन इतरले भने महाधिवेशन सम्पन्न भएको ६ महिनाभित्र गरिसक्नुपर्ने काम निर्धारित चार वर्षे कार्यकाल सकिएपछि मात्रै अगाडि बढाएको भन्दै विभागकै अर्थ नरहेको बताउनुमा आफ्नो पक्ष कमजोर हुन नदिने रणनीति रहेको बुझ्न सकिन्छ ।
लोकतान्त्रिक राजनीतिक दल र बहुदलीय राजनीतिक व्यवस्थाभित्र महाधिवेशन एउटा महत्वपूर्ण र नियमित प्रक्रिया हुन् । तर, यसकै कारण सम्पूर्ण दलीय भूमिका नै ओझेलमा पर्ने परिस्थिति भने मुलुकका लागि लाभदायी हुन्न । किनभने, सरकारलाई सही ठाउँमा राख्न प्रतिपक्षी दलको भूमिका महत्वपूर्ण हुन्छ । अझ अहिलेको विषम परिस्थितिमा मुलुकको सम्पूर्ण गतिविधितर्फ कम ध्यान दिने र आन्तरिक कलहलाई प्रधान मान्ने परिस्थितिले बहुदलीय लोकतन्त्रलाई बलियो बनाउन सक्दैन । समृद्ध समाज निर्माणमा प्रतिबद्ध संविधान कार्यान्वयनको दिशातर्फ बढ्न सक्दैन । तसर्थ, काँग्रेसको स्थापनादेखि नै नेतृत्वमा पुग्न मुलुकको गाम्भीर्यतालाई समेत बिर्सने रोगलाई अझै निरन्तरता दिनु बदलिदो परिस्थितिका लागि उपयुक्त हुन्न । नेतृत्वमा पुग्नुलाई कम र पार्टीले लिएको समाजवादी उद्देश्य प्राप्तिलाई बढी महत्व दिनु अहिलेको काँग्रेसको कार्यभार समेत हो ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies