सात दशक लामो राजनीतिक संघर्ष पश्चात् गठित संविधानसभाबाट संविधान जारी भएको पाँच वर्ष पुगेको छ । यो पाँच वर्षमा दुई पटक संशोधन भएको छ । पहिलो पटक मधेश केन्द्रीत दल, जनजाति लगायत असन्तुष्ट पक्षको माग सम्बोधन गर्न २०७२ माघमै संविधान संशोधन भएको थियो । दोस्रो पटक भने गएको जेठमा नेपालको निशाना छापमा अंकित नेपालको नक्सा बदल्न संशोधन भएको छ । पहिलो पटकको संविधान संशोधन असन्तुष्ट पक्षको स्वीकार्यता बढाउनलाई भएको थियो भने दोस्रो पटकको संशोधनले नेपालको भूगोल थप गरेको छ । २०१८ साल पछाडि गुमेको भूक्षेत्र समेट्दै नेपालको नक्सा संशोधन गरिएपछि त्यसलाई संविधानमा राखिएको छ ।
तर, संविधानप्रतिको असन्तुष्टि र कार्यान्वयनमा देखिएको जटिलता अझै कायमै छ । नेपालको संविधान–२०७२ को मूल विशेषता गणतन्त्र, संघीयता, धर्म निरपेक्षता र समानुपातिक समावेशिता कार्यान्वयनमा सरकारकै उदासिनताबारे आलोचना हुँदै आएको छ । विशेषगरेर प्रदेश सरकारको भूमिका, प्रत्यायोजित अधिकार र आम अपनत्व दिलाउने कार्यमा संघीय सरकार र सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को नियतप्रति प्रश्न उठ्ने गरेको छ । संघीय संविधानको भावना बिपरीत पुरानै राज्य संरचना शक्तिशाली बनाउने संघीय सरकारका कतिपय निर्णय, कानून निर्माण र राज्य स्रोतको वितरणका कारण संविधान कार्यान्वयनमाथि नै प्रश्न उठ्ने गरेको छ ।
समानुपातिक समावेशिता कार्यान्वयनमा सरकारका कतिपय निर्णय विरुद्ध असन्तुष्टि जनाउँदै सडक विद्रोह नै भएका छन् । धर्म निरपेक्षता कार्यान्वयनमा समेत सरकारको प्रष्ट धारणा देखिदैन । जबकी यो संविधान एक होइन, अनेक विद्रोहको परिणाम होे । माओवादीले चलाएको दश वर्षे सशस्त्र विद्रोह, दोस्रो जनआन्दोलन, मधेश आन्दोलन, जनजाति आन्दोलन लगायत जनसंघर्षको जगमा २०६४ मा पहिलो पटक संविधानसभाको गठन भयो । तर, पहिलो संविधानसभाबाट संविधान जारी हुन सकेन । दोस्रो पटक २०७० मा भएको दोस्रो संविधानसभा निर्वाचन पछाडि भने जनताका प्रतिनिधिहरु सम्मिलित संविधानसभाबाट संविधान जारी भएको हो ।
तर, यति छोटो यात्रामै स्वयम् सरकार र असन्तुष्ट पक्षको चेपुवामा संविधान देखिनु राम्रो संकेत होइन । यसरी देश सञ्चालनको मुल विधान नै कमजोर हुनुले जनसंघर्षका क्रममा ज्यानको आहूती दिनेहरुको अपमान मात्रै हुने छैन, जनभावना माथि धोका हुन पुग्नेछ । सँगै, मुलुकको सार्वभौमिकता र राष्ट्रियता समेत खतरामा पर्नेछ । तसर्थ, हरेक क्षेत्रबाट संविधानको मर्म अनुरुप कदम चालिन जरुरी छ । संविधान दिवस २०७७ को अवसरमा सवैमा शुभकामना ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies