यो वर्षको संविधान दिवसको अवसर पारेर सरकारले धेरै ठूलो संख्यामा पदक बितरण गरिने व्यक्तिहरुको नामावली सार्वजनिक गरेको छ । अघिल्ला वर्ष र अघिल्ला सरकारहरुले वितरण गरेको जस्तै यसपटकको पदक वितरण कार्य पनि विवाद रहित हुन सकेन । पदक वितरण सूचीमा केही विवादित व्यक्तिहरु समेत समेटिएपछि सरकारको तीव्र आलोचना भइरहेको छ । विशेषगरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त नविन घिमिरेलाई पदक वितरण गरिने भएपछि आलोचना बढी देखिएको छ ।
घिमिरे बाहेक अन्य थुप्रै व्यक्ति छन्, जसको नामलाई लिएर पदकको गरिमा माथि नै प्रश्न उठाइएको छ । कतिसम्म भने कोभिड महामारीले जनतामा त्राहीमाम भइरहेका बेला पदक वितरणको लम्बेतान सूची देखाएर जनता तहमा आक्रोश बढी देखिएको छ । सरकारका सवै निर्णय विवाद रहित हुनुपर्छ र हुन्छ भन्ने हुन्न । किनभने, नेपाली समाजको विशेषता बहुलता युक्त मात्रै नभएर संविधानले नै लोकतान्त्रिक अधिकार सुनिश्चित गरेकाले सरकारका निर्णयहरुमाथि केही प्रश्न उठ्नु स्वभाविक हो ।
तर, वर्षेनि एउटै प्रश्न उठ्नु स्वभाविक होइन । अझ संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना पछाडि पनि ‘राजशैली’ अपनाइएको आरोप उचित होइन । राजाले आफन्तलाई वक्सिस दिएर आफू अनुकुल जमात तयार पार्न लिने विधि नै गणतान्त्रिक सरकारले अपनाउन थाल्यो भने यसले सरकारप्रतिकै विश्वासनीयता गुम्दै जान्छ । अहिले त्यसै पनि सरकारको निर्णय प्रति जनतामा अपनत्व घट्दै गएको अनुभूति हुन थालेको छ । अझ २०७४ को प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमार्फत् दुई तिहाइ नजिकको संसदीय जनमत प्राप्त नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेतृत्वको सरकारबाटै लगातार एकपछि अर्को निर्णय विवादित हुनु राम्रो होइन ।
पदक वितरणमै उठ्ने प्रश्नले समाजले सम्मान गर्नेपर्ने र राज्यले विभुषित गर्नैपर्ने व्यक्तिको समेत अवमूल्यन हुन जान्छ । किनभने, आलोचनात्मक चेत राख्ने समाजले समाजका केही त्यस्ता पंक्तिलाई भने सम्मान योग्य नै ठान्ने गरेको पाइन्छ । यसपटक कै पदक वितरणमा पनि डा.सून्दुक रुइतलाई दिइएको पदकबारे समाजमा प्रशंसा नै भएको छ । दुनियाँलाई आँखाको ज्योति दिलाउने र देशलाई अन्तर्राष्ट्रिय तवरमा परिचय दिलाउने डा.रुइतलाई दिइएको पदकको प्रशंसा हुनुले जनता फेरि पनि सरकारबाट राम्रो निर्णयको पर्खाईमा देखिन्छन् । अतः आगामी वर्षहरुमा यस तर्फ ध्यान दिइयोस् । जे होस्, पदक प्राप्त गर्नेहरुलाई बधाई !
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies