सरकारले देशमा कस्तो सुशासन कायम गर्न चाहन्छ भन्ने उसका गतिविधिबाट बुझ्न गाह्रो छैन । सरकारले गर्ने हरेक राजनीतिक नियुक्तिले उसको चरित्र स्पष्ट पारको छ । राज्यले आफ्ना संयन्त्रमा ‘हाम्रा’ भन्दा राम्रा र योग्य व्यक्तिलाई नियुक्त गर्ने हो भने उनीहरुका कामले नै राज्यको सफलता झल्किन्छ । तर, राजनीतिक नियुक्ति सत्ता सञ्चालनको नेतृत्वमा पुग्नेहरुले विभिन्न संस्था र संरचनामार्फत शासन सत्तामा आफ्नो पकड र प्रभाव कायम राख्न एवम् आफ्ना राजनीतिक स्वार्थ पूरा गर्न ती सरकारी संयन्त्रहरुमा आफ्ना विचार र उद्देश्यसँग मिल्नेलाई सुम्पने परम्परा नै कायम भएको छ ।
सुशासन आम नागरिकको अनुभूतिमा खोज्नुपर्छ । नागरिकको चेतन र अर्धचेतन मनले जस्तो ‘शासन’को परिकल्पना गर्छ, त्यही नै मुलुकको सुशासनको स्थिति हो । सुशासन कमजोर भयो वा बिग्रियो भने सबैभन्दा बढी प्रश्न सरकारको वैधानिकतामाथि उठ्छ । सरकारले नै नीति उत्पादन गरेर अन्य पात्रहरूलाई खेलको मैदान निर्माण गरिदिने हो, कडा र नरम दुवैथरी नियमनद्वारा समाजमा सुव्यवस्थित बनाइदिने पनि सरकारकै काम हो । त्यसैले प्रमुख पात्रको भूमिकामा रहनेले जवाफदेहिता वहन गर्नैपर्छ । तर विडम्बना, नीति निर्माण गर्ने राजनीतिक क्षेत्र नै भ्रष्टाचारबाट अछुतो छैन । हरेक वर्ष भ्रष्टाचारको ग्राफ बढ्दै गएकाले नेपालको शासन व्यवस्थामा हावी भएको राजनीतिक नेतृत्व र उसको गलत स्वार्थ नै मुख्य जिम्मेवार ठहर्छ । यसमा निजी क्षेत्र पनि केही हदसम्म दोषी छ । सरकारले मात्र शासन गर्न सक्दैन भन्ने निष्कर्षले निजी क्षेत्रको आर्थिक शक्ति र नागरिक समाजको सामाजिक उर्जाको बहुपक्षीय साझेदारीले ‘गभर्नमेन्ट’लाई ‘गभर्नेन्स’को अवधारणाले विस्थापित गरेको हो ।
सुशासनबिना देशको आर्थिक, राजनीतिक, सामाजिक र सांस्कृतिक विकासका लक्ष्यहरू हासिल गर्न सम्भव हुँदैन । नेपालको संविधानले दिगो शान्ति, विकास, समृद्धि र सुशासनलाई मुख्य रुपमा अंगिकार गरेको छ । यी चार आकांक्षामध्ये दिगो शान्ति, विकास र समृद्धि हासिल गर्न सुशासनबिना सम्भव छैन । त्यसैले, सुशासन दुवैका लागि महत्वपूर्ण अंग हो । यसले गरिबी न्यूनीकरण गर्न सहयोग गर्नुका साथै अधिकारमा मात्र नभइ कर्तव्यप्रति पनि सचेत र जिम्मेवार बनाउँछ । राज्य व्यवस्थाप्रति जनताको विश्वास सिर्जना गर्न सघाउ पु¥याउँछ । वास्तवमा सुशासनले राज्यका धेरै सकारात्मक परिणमहरूलाई निर्देशित गरेको हुन्छ । त्यसैले सुशासन सभ्य, समतामुलक र न्यायपूर्ण समाज निर्माणको आधार हो ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies