काठमाडौं : सरकारले पर्याप्त मात्रामा उद्धार तथा नियमित उडानको व्यवस्था नगर्दा रोजगारी गुमाएर स्वदेश फर्किएका अधिकांश कामदारले पाउनुपर्ने तलवलगायतका सुविधा त्यत्तिकै छोडेको पाइएको छ । कति कामदारहरुले आफुले पाउनुपर्ने तलव तथा सुविधा छोडेर फर्किए सरकारी स्तरमा तथ्यांक नभएपनि कोरोना भाइरसको संक्रमणपछि खाडीका विभिन्न मुलुकहरुबाट फर्किएका अधिकांश कामदारले पछिल्ला केही महिनाको तलव छोडेको बताएका छन् ।
नियमअनुसार पाकेको तलव तथा सुविधा गुमाउनेहरुमा अधिकांश महिला कामदार, त्यसमा पनि गर्भवती, सुत्केरी, घरेलु श्रमिकसहित सबै क्षेत्रमा काम गर्ने कामदार रहेका छन् । सुरक्षित आप्रवासनका लागि राष्ट्रिय सञ्जालले आइतवार गरेको सरोकारवालाहरुसँगको अन्तरक्रिया कार्यक्रममा कोरोना भाइरसको संक्रमणपछि विभिन्न देशबाट फर्किएका कामदार तथा विदेशस्थित नेपाली नियोगहरुमा कार्यरत काउन्सेलर श्रमहरुले नेपाली कामदारमा आफ्नो तलव सुविधा भन्दा घर फर्किने हतार र हतासको अवस्था देखिएको बताए ।
विश्वव्यापी स्वास्थ्य संकटको बहानामा आप्रवासी श्रमिकहरुको हक अधिकार कुण्ठित गर्दै रोजगारीबाट निकाल्ने, पारिश्रमिक नदिने, स्वास्थ्य सेवाबाट बञ्चित गराउने जस्ता घटनाहरु भइरहेको गुनासोहरु बढ्दै गएको छ ।
त्यसको सबैभन्दा बढी मारमा ती मुलुकको श्रम कानूनको दायरामा नपर्ने घरेलु कामदार देखिएका छन् । ईजिप्टबाट फर्किएकी मनमाया तामाङले भनिन्, ‘६ महिनाको तलव लिन बाँकी थियो । साहुले एक्कासी भोलि तिम्रो उडान छ भनेर जहाज टिकट थमाइदियो । पाउने तलव सुविधा माग्ने अवस्था नै भएन ।’
महामारीले लकडाउन भएसँगै रोजगारी गुमेपछि दुई महिना यत्तिकै बस्नुपरेको कतारबाट फर्केका दिनेश पौडेलले बताए । रोजगारी नभएको समयमा खानेलगायत सम्पूर्ण खर्च आफैंले व्यहोर्नुपरेको उनले जानकारी दिए । उनले पनि करिब २ महिनाको पारिश्रमिक नपाएको बताए ।
१५ दिन अघि मात्रै युएईबाट फर्केका दिलकुमार विश्वकर्माले पनि २ महिनाको पारिश्रमिक लिन पाएनन् । फ्रि भिसा फ्रि टिकटमा गएका हुनाले त्यहाँको कम्पनीले छोडेर गएमा ८ हजार दिराम तिर्नुपर्ने भएकाले निकै मारमा परेको उनले बताए ।
कोभिड–१९ क्राईसिस म्यानेजमेन्ट कमिटी (सीसीएमसी) ले आइतबार साँझसम्म ८० हजार १६ नेपालीको उद्धार भएको जनाएको छ । त्यसमध्ये ७० हजारभन्दा बढी वैदेशिक रोजगारीमा गएका कामदार रहेको आँकलन गरिएको छ । त्यसमा सबैभन्दा बढी यूएईबाट २३ हजार २ सय ३७ जना स्वदेश फर्किएका छन् । फर्किनेमा वैदेशिक रोजगारीका क्रममा श्रम करार अवधि र भिसा सकिएका, गर्भवती, सुत्केरी, महिला, विरामी धेरै छन् ।
साउदी अरबस्थित नेपाली दूतावासका काउन्सेलर श्रम जीवन राईले कोरोना भाइरस संक्रमणपछि चार्टर फ्लाईट पर्याप्त नहुँदा करार अवधि सकिएका कामदारहरुलाई स्वदेश फर्किने हतार भएका कारण उनीहरुले पाउनुपर्ने सबै सेवा सुविधा नपाए पनि गुनासो गर्न नआएको तर स्वदेश फर्किएका सबै कामदारले पाउनुपर्ने तलव लगायत सेवा सुविधा नपाएको अनौपचारिक जानकारी रहेको बताए ।
साउदी अरबमा स्वदेश फर्किने कामदारलाई तलव र सुविधा भन्दा कम्पनीले दिने एक्जिट पर्मिट नै प्राथमिकतामा रहको भन्दै काउन्सेलर श्रम राईले भने, ‘एक्जिट पर्मिट पाएकाको टिकट भएको छैन, स्वदेश फर्किन दूतावासले निकालेको सूचीमा नाम रहेको कामदारको एक्जिट पर्मिट नहुने अवस्था छ । उडान भएपछि अवस्था केही सहज हुन्छ की भन्ने आशा बढेको छ ।’
यूएईस्थित नेपाली दूतावासकी काउन्सेलर श्रम निर्मला थापाले यूएईमा अवस्था सहज हुँदै आएको भएपनि जरिवाना प्रमुख टाउको दुखाईको विषय भएको बताइन् । यूएईमा प्रतिमहिना १० हजार नेपाली कामदारको भिसा सकिने गरेको जानकारी दिँदै काउन्सेलर श्रम थापाले त्यहाँबाट ६० हजारसम्म नेपाली फर्किनसक्ने बताइन् । भिसा सकिएकालाई दूतावासको अनुरोधमा कम्पनीहरुले आवासको व्यवस्थापन गरेको भएपनि स्वदेश फर्किंदा अध्यागमनले जरिवाना लिने गरेका कारण समस्याको कसरी समाधान गर्ने ठूलो समस्या रहेको बताइन् ।
कोरोना संक्रमणले कामदार मात्र नभई रोजगारदाता नै समस्यामा रहेको र यूएईको रोजगारको ठूलो हिस्सा होटल पर्यटनमा आधारित रहेकोले ती क्षेत्रमा कार्यरत विश्वका अन्य मुलुकका कामदारसहित नेपाली पनि प्रभावित रहेको भन्दै काउन्सेलर श्रम थापाले केही नेपाली कामदार घर फर्किन नपाएपछि रोजगादातासँग झगडा गर्ने, मादक पदार्थ सेवन गर्ने नकारात्मक प्रवृत्तितर्फ उन्मुख भएको समेत सुनाइन् ।
मार्चदेखि लकडाउन गरेको यूएईले जुलाई १२ तारेखपछि भिसा नहुनेलाई जरिवाना तिराउने गरेको छ । अधिवक्ता सोम लुईंटेलले कम्पनीबाट पारिश्रमिक नलिई नेपाल फर्केका कामदारको नेपालबाटै कानूनी तवरबाट समस्याको समाधान गर्न पहल गर्नुपर्ने बताए । सामान्य अवस्थामा भाषाको समस्याले न्याय पाउने स्थिति नरहेको, पारिश्रमिक नपाउने, बेतलबी विदा बस्न बाध्य बनाउने र विरामीको लागि पेन्सन उपलब्ध नगराउने जस्ता समस्या भोगिरहेको हुनाले यसको समाधान याथाशीघ्र हुनुपर्ने लुईंटेलको भनाइ छ ।
पराराष्ट्र मन्त्रालयका सह–सचिव हरिश चन्द्र घिमिरेले कोरोना संक्रमणको समय लम्बिँदै गएपनि वैदेशिक रोजगारीमा रहेका नेपालीको समस्या शुरुमा सोचेजस्तो भयावह नरहेको बताए । राष्ट्र बैंकले सार्वजनिक गरेको रेमिट्यान्स आप्रवाहको पछिल्लो तथ्यांकले नेपाली कामदारहरुले तलव छोड्नु परेको अवस्थाको चित्रण नगर्ने उनले टिप्पणी गरे ।
बैंकले शनिबार चालु आर्थिक वर्षको पहिलो महिना साउनमा विदेशमा बस्ने नेपालीले ९२ अर्ब ७१ करोड रुपैयाँ नेपाल पठाएको र उक्त रकम चालु आर्थिक वर्षको पहिलो महिनामा अघिल्लो महिनाको भन्दा २३ प्रतिशतले बढी रहेको जनाएको थियो ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies