काठमाडौं : केही समय यता नेपाली काँग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेल समूहलाई साथ दिदै आएका पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलाले आफ्नो खेमा तेस्रो धारकै रुपमा अडिग रहने संकेत गरेका छन् । १४औं महाधिवेशन आगामी फागुनमा तय गरेको काँग्रेसभित्र चर्किएको विवादकै बीच सिटौलाले आफ्नो समूह आफ्नै निर्णयमा अडिग रहने संकेत दिएका हुन् ।
आइतबार सभापति शेरबहादुर देउवालाई बुझाउन तयार पारिएको विरोध पत्रमा सिटौला सहित उनी निकट नेताहरुले हस्ताक्षर गरेनन् । बरिष्ठ नेता पौडेल, महामन्त्री शशांक कोइराला, कोषाध्यक्ष सितादेवी यादव समूहले सभापति देउवालाई बुझाउन विरोध पत्र तयार पारेको थियो । उक्त विरोधपत्रमा समायोजन, क्रियाशील सदस्यता वितरण, विभाग गठन, भातृ संस्थाहरुको अवधि र नेतृत्व लगायतमा असन्तुष्टि जनाउँदै पौडेल खेमाले विरोध पत्र तयार पारेको छ । यसअघि नै अनशनसम्मको विरोध कार्यक्रम पौडेल समूहले तयार पारेको छ । ती छलफलहरुमा सहभागी हुँदै आएको सिटौला समूहले सभापति देउवालाई बुझाइने विरोध पत्रमा भने हस्ताक्षर गरेन ।
यो समूहका नेताहरु सिटौला, गगन थापा, प्रदीप पौडेल र शिव हुमागाइले हस्ताक्षर गरेनन् । चार जना केन्द्रीय सदस्यले हस्ताक्षर नगरेपछि पौडेल समूहका २७ जनाले सभापति देउवाको कार्यशैली सच्याउनुपर्ने माग सहित विरोध पत्र तयार पारेका छन् । एक सदस्यले भने, “उहाँहरुले हस्ताक्षर गरेको भए ३१ हुने थियौं, तर उहाँहरुले हस्ताक्षर गर्न मान्नु भएन ।”
१३औं महाधिवेशनमा तेस्रो खेमा खडा गरेको सिटौला समूहले देउवालाई सभापति बनाउन सहयोग गरेको थियो । केही समयसम्म सिटौला र देउवा एकै ठाउँमा उभिएको पनि थियो । नेवि संघ, महिला संघ लगायत केही भातृ संगठनमा पनि देउवा र सिटौला एकै ठाउँ उभिएर निर्वाचन लडेको थियो । विभाग गठन र केन्द्रीय सदस्य मनोनितमा पनि दुई नेता एकै ठाउँ उभिए । महामन्त्रीमा पराजित भएका गगन थापा र कोषाध्यक्षमा पराजित उमाकान्त चौधरीलाई तत्कालै केन्द्रीय सदस्य मनोनित गरिएको थियो भने शिव हुमागाई केही समय पछाडि केन्द्रीय सदस्य नियुक्त भएका थिए ।
तर, त्यसपछाडि भने देउवा र सिटौला समूह छुट्टियो । सिटौलाले सभापति पदमा पराजित पौडेल समूहलाई साथ दियो । तर, १४औं महाधिवेशन आउन केही महिना बाँकी रहँदा सिटौलाले आफ्नै खेमा तयार पार्ने संकेत दिएका छन् । सिटौला आफैले आफ्नो समूहको निर्णय आफै गर्ने सार्वजनिक अभिव्यक्ति समेत दिएका छन् ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies