शुभ नारायण कामती /
मध्सान्ह सिरहा, १३ असोज । सदरमुकाम सिरहामा राजा सलहेश गहबर क्षेत्रमा रहेका जीर्ण मन्दिरलाई भत्काएर नयाँ दरबार (मन्दिर) बनाउने कार्य सुरु भएको छ । न्यायका प्रतीक मानिने राजा सहलेशको ऐतिहासिक दरबार निर्माण गर्न सिरहा नगरपालिकाले एक करोड ९४ लाख २५ हजार ९ सय २३ रुपैयाँ लागत अनुमान तयार गरेको थियो । तर, बालाजी निर्माण सेवा सिरहा–१, सिरहाले एक करोड २४ लाख २७ हजार ९ सय ४५ रुपैयाँमा ठेक्का पाएको सिरहा नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत बलिराम यादवले जानकारी दिए । २०७८ असार २५ मा योजना सक्ने गरी सम्झौता गरिएको निमित्त प्रमुख प्रशासकीय अधिकृत यादवले बताए । तर, दरबार निर्माण गर्न असार १५ मै स्वीकृति दिए पनि कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि लकडाउन र निषेधाज्ञा भएपछि असोजदेखि काम सुरु भएको छ ।
को हुन् राजा सलहेश ?
जयबर्धन सलहेश (राजा सलहेश), मालिनी, बुधेश्वर, चुहडमल, करिकन्हालगायतको चर्चा लोकगाथामा छ । सिरहा सदरमुकामको महिसौथामा मुख्य डिह (दरबार) रहेको सलहेशले छैटौँ र सातौं शताब्दीमा अन्याय–अत्याचारविरुद्धको मोर्चाको नेतृत्व गरेको सलहेश गाथामा उल्लेख छ । अन्याय–अत्याचारविरुद्ध संघर्ष गरेका उनको न्यायका प्रतीकको रूपमा सिरहा, धनुषा, महोत्तरी, सप्तरी र भारतका विभिन्न ठाउँमा राजा सलहेश गाथा चल्ने गर्छ ।
राजा सलहेशसँगै प्रेम–सम्बन्ध जोडिएको ‘सलहेश फूलबारी’मा प्रत्येक वर्ष वैशाख १ मा हारमको रूखमा मालाकार रूपमा सुनाखरीको फूल फुल्ने गरेको छ । सिरहा जिल्लाको सदरमुकाम सिरहामा सलहेश दरबार, लहान नगरपालिका क्षेत्रमा सलहेश फूलबारी, पकडीयागढ, मानिक दह र लक्ष्मीपुर पतारी गाउँपालिकामा पतारी पोखरीलाई सलहेश गाथासँग जोडिएको स्थानको रूपमा लिइन्छ ।
प्रत्येक वर्ष वैशाख १ र २ मा सिरहाको सलहेश गहबर, सलहेश फूलबारी, मानिक दह, पकडीयागढ, पतारी पोखरीमा नेपाल भारतका विभिन्न स्थानबाट लाखौँ श्रद्धालु दर्शन गर्न पुग्ने गर्छन् । भारतमा इस्टइन्डिया कम्पनीको शासनकालमा बेलायती नागरिक जर्ज ग्रियसनले सलहेशबारे आफ्नो पुस्तकमा चर्चा गरेको बताइन्छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies