केपी शर्मा ओली दुई तिहाइ नजिक संसदीय जनमत प्राप्त शक्तिशाली प्रधानमन्त्री मात्रै होइनन्, उनी यो देशमा ‘उग्र कम्युनिष्ट’ को धारमा हिडेका नेता पनि हुन् । सामन्ती सिध्याउने कार्यक्रमका कारण परिचित झापा विद्रोहका नेता ओली १४ वर्ष त जेल बसे । उनले जेल बस्नुमा राजनीतिक परिवर्तनको अभियान मात्रै थिएन । त्यो राजनीतिक परिवर्तनको मार्ग शान्तिपूर्ण नभएर टाउको काट्ने नीतिका कारण हिंसात्मक भएकैले ओली १४ वर्ष जेल बस्नुपरेको थियो । जबकी पञ्चायतकालमा अन्य कयौं नेता जेल बसेका थिए । तर, प्रधानमन्त्री ओली जति चाहिं कमै नेताहरुले मात्रै जेल सजाय भोगे । अझ प्रधानमन्त्री ओली त गोलघरकै सजाय भोगेका नेता हुन् ।
तिनै झापा विद्रोह, १४ वर्षे जेल सजाय र विभिन्न आन्दोलनलको जगमा ओली नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष, संसदीय दलका नेता र प्रधानमन्त्री छन् । २०७४ को प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा प्राप्त जनमतमा नेकपा देशकै ठूलो दल बनेपछि ओली पाँच वर्षे स्थीर सरकारको नेतृत्व गरिरहेका छन् । तर, तिनै कम्युनिष्ट नेता ओली प्रधानमन्त्रीको भूमिकामा भने धार्मिक रुझानतर्फ बढी नै आकर्षित भएको दृष्टान्त देखिदै आएको छ । धार्मिक ग्रन्थ रामायण वर्णित रामको जन्मभूमि बारेको दलिल ओलीमा धार्मिक रुझान बढेकै बलियो प्रमाण हो ।
दक्षिणी छिमेक भारतसँगको कुटनीतिक र सांस्कृतिक–सामाजिक सम्बन्धमै प्रतिकुल असर पर्ने तथ्यबारे समेत राम्रोसँग हेक्का नराखी प्रधानमन्त्री ओलीले रामको जन्मभूमि अयोध्या नेपालमा भएको र भारतको अयोध्या नक्कली भएको सार्वजनिक अभिव्यक्ति नै दिन पछाडि परेका छैनन् । ओली एक सामान्य नेता मात्रै नभएर देशकै प्रधानमन्त्री भएकाले चितवनको माडी नगरपालिकामा राम मन्दिर बनाउने कार्यले तीव्रता पाएको छ भने संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले समेत गतिविधि बढाएको खुलेको छ । ‘रामायण पथ’ लाई सर्किटका रुपमा पुर्वपश्चिम बिस्तार गर्नेगरी पर्यटन बोर्डले गतिविधि बढाएको पाइएको छ । अर्थात्, कुनै बेलाका कट्टर कम्युनिष्ट नेता ओलीकै कारण ‘धार्मिक मार्केटिङ’ हुन थालेको प्रष्ट हुन्छ ।
धर्म व्यक्तिगत रोजाइको विषय भएकाले यसबारे नकारात्मक असर पार्नेगरी प्रचार गरिनु हुन्न । त्यस्तो गतिविधि क्षम्य हुन सक्दैन । तर, सरकारले नै कुनै धर्म विषेशको प्रचार गरिनु र त्यसमा पनि कम्युनिष्ट पृष्ठभूमिका नेताहरुको अगुवाई हुनु अर्थपूर्ण छ । यसले धर्म निरपेक्षताको भावना कदर गर्दैन, बरु फेरि पनि धर्म विशेष राज्यतर्फ आकर्षित हुन पुग्दछ । जबकी अहिले धर्मको रक्षा भन्दा पनि वर्तमान संकटबाट मानव जीवनको रक्षा महत्वपूर्ण कार्यभार हो ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies