शुक्रबार नेपाल प्रहरीले ६५औं प्रहरी दिवस मनाएको छ । २०१२ सालमा स्थापित नेपाल प्रहरीले बर्षेनि प्रहरी दिवस धुमधामका साथ देशभर मनाउने गरेको छ । यस पटक पनि नेपाल प्रहरीले स्थापना दिवस मनाएको छ । तर, पहिलेका वर्षहरू जस्तो धुमधाम भने हुन सकेन । विश्व नै कोरोना महामारीका कारण त्रसित बनिरहेको बिषम् परिस्थितिमा नेपालमा प्रहरी दिवस धुमधाम हुने कुरै भएन । तर पनि नेपाल प्रहरीले समुदायमा शान्ति सुव्यवस्था कायम गर्न खेलेको भूमिकाबारे चर्चा गर्दै प्रहरी दिवस मनाइएको छ ।
त्यसै पनि प्रहरी दिवसमा प्रहरीले खेप्नु परेका समस्याहरुबारे लामै चर्चा हुने गरेको छ भने वर्षभर फेरि प्रहरीको भूमिकामाथि संशय पैदा गर्ने गरिन्छ । यसपटक त नेपाल प्रहरी आफ्नो जीवन जोखिममा राखेर समाज जोगाउन अग्रपंक्तिमा खडा हुनु परेको छ । उसोत, सधैं नै नेपाल प्रहरी समाजकोे सुव्यवस्था कायम राख्न अग्रपंक्तिमा खटिने गरेका हुन् । विशेषगरी मानिसबाट मानिसका लागि हुने अशान्ति विरुद्ध प्रहरी दिनरात खट्ने गर्छन् । तर, यसपटक भने मानिसलाई मानिसबाट नभएर अदृष्य महामारीको खतरा बढ्यो ।
जुन खतराबाट जोगाउन प्रहरी अग्रपंक्तिमा खटिउनुपर्ने बाध्यता आइलाग्यो । महामारी रोकथामका लागि देशब्यापी लकडाउन र स्थानीय स्तरबाट गरिएको निषेधाज्ञाका बेला प्रहरी सधैं सडकमा तैनाथ हुनु परेको छ । जसको कारणले गर्दा प्रहरीका सात हजार बढी संक्रमित भएका छन् । तर, आफ्नै सहकर्मीलाई संक्रमण भइरहँदा पनि प्रहरी अग्रपंक्तिबाट पछि हटेन । हुन त अन्य क्षेत्र स्वास्थ्यकर्मी, सञ्चार कर्मी पनि सधैं अग्रपंक्तिमा खटिनु परेको छ । आफ्नै सहकर्मी उपचारमा रहँदा उनको समेत कार्यभार उठाएर जोखिम विरुद्धको अभियानमा खटिनु परेको छ । एकातर्फ संक्रमणको जोखिम अझ बढेर गएको छ । नेपालमा संक्रमणको दर उच्च गतिमा बढिरहेको छ ।
यसबाट नागरिकको जीवन सुरक्षामा खटिएकाहरुले उचित सम्मान भने पाउन सकिरहेका छैनन् । निजी क्षेत्र हाबी भएको स्वास्थ्य र सञ्चार क्षेत्रमा खटिनेहरुले रोगसँगै भोकको समेत चिन्ता लिनु परेको छ । प्रहरी सरकारी सेवामा रहेकाले भोकको चिन्ता तुलनात्मक कम होला । तर, प्रहरीलाई हेर्ने आम दृष्टिकोण अझै पनि सकारात्मक देखिदैन । सधैं असफलको पगरी बोकेर काममा उत्साहित हुन सकिदैन । यसर्थ, सरकारले प्रहरीका लागि विशेष प्याकेज ल्याउन जरुरी छ । त्यसै पनि संकटका बेला नै हो, सरकारको विशेष उपस्थितिको आशा गरिने ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies