काठमाडौं उपत्यकामा एकैदिन तीन हजार १०७ सहित देशभर पाँच हजार ७४३ जनामा संक्रमण पुष्टि भएको छ । यो सहित नेपालमा संक्रमित हुनेको संख्या एक लाख ४४ हजार ८७२ पुगेको छ । राजधानी उपत्यकामा एकैदिन थपिएको संक्रमित संख्या अहिलेसम्मकै उच्च हो । काठमाडौंमा मात्रै बुधबार थपिएको सहित ५० हजार संक्रमित नोघेको छ । यो कुल संख्या मध्ये एक तिहाइ भन्दा बढी हो । देशकै शहरहरु मध्ये सवैभन्दा बढी आवादी रहेको काठमाडौंमा उच्च दरमा संक्रमण फैलिदा लगभग कुनै पनि क्षेत्र बच्न सकेको छैन ।
कोरोना संक्रमण सिंहदरबार, बालुवाटार, खुमलटार सहित उच्च पदस्थ व्यक्तिसम्मै पुगेको छ । तीन जना मन्त्रीहरु (योगेश भट्टराई, गिरिराजमणि पोखरेल र वसन्त नेम्वाङ) संक्रमित भएका छन् । केही दिन अगाडि मात्रै प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख सल्लाहकारहरु सहित बालुवाटारमा खटिएका ठूलो संख्यामा संक्रमण पुष्टि भएको थियो । प्रदेशसभा सदस्य, प्रदेश मन्त्री देखि स्थानीय तहका जनप्रतिनिधिहरु समेत संक्रमणबाट जोगिएका छैनन् । रोकथामको अग्रभागमा खटिएका सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, सरकारी कर्मचारी, सञ्चारहरुमा ठूलो संख्यामा संक्रमण भएको छ । राजनीतिक दलका नेताहरुमा पनि संक्रमण पुष्टि भइसकेका बेला आमसाधरणको मनोविज्ञान र महामारीको अवस्था अनुमान गर्न गाह्रो पर्दैन ।
चैतदेखि भदौसम्मको लामो लकडाउन र निषेधाज्ञाका कारण मुलुकको अर्थतन्त्री नराम्रोसँग प्रभावित बनेको छ । एकैपटक रोग र भोक दुवैको चिन्ता बढेको छ । शिक्षा क्षेत्रको अवस्था चौपट बनेको छ । यो आठ महिना यता शैक्षिक गतिविधि रोकिदा बाल मनोविज्ञानमा नराम्रो असर परिसकेको छ । यस्तो बेला महामारी विरुद्ध लड्दै सामान्य कालमा फर्कन राष्ट्रिय सहमतिको जरुरी छ । महामारी विरुद्धको लडाइ हामी सवैको साझा हो भन्ने मनोविज्ञान निर्माण हुन जरुरी छ । तर, यसको बिपरीत सरकार र सत्तारुढ दल, एक दल र अर्का दल बीचको सम्बन्ध कटुतापूर्ण बनिरहेको छ । केही महिना अगाडि प्रधानमन्त्री केपी शर्मा ओली विरुद्ध गठबन्धन थियो भने यसको बदलामा प्रधानमन्त्री ओलीले अध्यादेश ल्याउनेदेखि जनप्रतिनिधिहरुले विमर्श गर्ने ठलो संसद अधिवेशन नै अन्त्य गरिदिएका थिए । अहिले कर्णाली प्रदेश सरकारमा ठूलो समस्या देखिएको छ । प्रतिपक्षी दल देखि सत्तारुढभित्र पनि व्यक्तिगत स्वार्थ हाबी हुने र अनुचित समयमा राजनीतिक संघर्ष चर्किएको छ । तर, आवश्यकता भने राष्ट्रिय सहमतिको हो ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies