-गणेश पौडेल
२०१९ को डिसेम्बरमा चीनको वुहानमा पहिलो पटक मानवमा देखिएको कोरोना भाइरसले यो लेख तयार पार्दासम्ममा संसारभरमा नेपालको कुल जनसंख्याभन्दा धेरैमा संक्रमण फैलाइसकेको छ । १० लाखभन्दा धेरैले ज्यान गुमाइसकेका छन् । दिनहुँ लाखौँको संख्यामा नयाँ संक्रमितहरू थपिइरहेका छन् । संसारभरि नै यतिबेला कोरोना महामारीको रूपमा फैलिएको छ । विश्व अर्थतन्त्रलाई कोरोनाले नराम्ररी प्रभावित गरेको छ । पुराना उद्योगहरू धमाधम बन्द भइराखेका छन् । नयाँ खुल्न सकेका छैनन् । लाखौँले रोजगारी गुमाएका छन् । बीबीसीका अनुसार यो वर्ष मात्रै रोजगारी गुमाउनेको दर १० प्रतिशतभन्दा माथि पुग्नेछ । भोकमरी १४९ बाट बढेर २७० मिलियन जनसंख्यामा पुग्ने अनुमान विश्व स्वास्थ्य संगठनको छ । र, यो अनुपात अझै बढ्दै जाने देखिन्छ । भोकमारीको अनुपात बढेसँगै मानिसहरूमा मानसिक स्वास्थ्यको समस्या पनि बढेको छ । डिप्रेसनको वृद्धिदर तीव्र छ । आत्महत्या गर्नेहरूको अनुपात उत्तिकै बढिरहेको छ ।
कोरोना भाइरस मानवमा देखिएको र सक्रिय भएको वर्ष दिन पुग्न लाग्दा पनि यसको रोकथामका निम्ति कुनै औषधि बनिसकेको छैन । यसले भय झनै थपेको छ । हुन त संसारका शक्तिशाली राष्ट्रहरू भ्याक्सिन निर्माणमा लागिपरेका छन् । कति राष्ट्रले निर्माण गरेकै दाबी गरे पनि कोरोना दिन प्रतिदिन बढ्दो रफ्तारमा छ । विकसित देशबाट विकासशील देशतर्फ फैलँदो क्रममा छ । संसारको सबैभन्दा शक्तिशाली भनिएका अमेरिकी राष्ट्रपति र उनकी श्रीमतीमा समेत कोरोना पोजेटिभ भएको प्रमाणित भइसकेको छ । यसैले पनि पुष्टि गर्छ कोरोनाको भय बढ्दो छ भनेर ।
यतिखेर अमेरिकापछि सबैभन्दा बढी कोरोना प्रभावितको संख्या भारतमा छ । यसरी भारतमा तीव्रतर फैलिइरहेको कोरोनाको प्रत्यक्ष असर नेपालमा पनि देखिन्छ । अहिलेसम्म नेपालमा मात्रै कोरोना प्रभावितको संख्या लाख पुगेको छ । मृत्यु हुनेहरू ५ सयमाथि कटिसकेका छन् । कोरोनाको महामारी कहिले रोकिन्छ, यसले कतिलाई प्रभावित पार्छ, कोरोनाकै कारण कतिले ज्यान गुमाउनुपर्छ, कसैले पनि अनुमान गर्न सकेका छैनन् ।
कोरोना के हो त, कहर कि भय ?
यो लेखमा मैले नेपालका बारेमा कुरा गर्नेछु । त्यसैले कहर अथवा भय यी विषयमा चर्चा गर्नुअघि एकैछिन नेपालको अवस्थालाई हेरौँ । गत चैतमा कोरोनाको जोखिमबाट डराएर सरकारले देशैभर लकडाउन ग¥यो । जनतालाई अत्यावश्यक कामका लागि भन्दा अन्य प्रयोजनका लागि बाहिर ननिस्कन कडाइ गरियो । उद्योग कल कारखाना, पसल तथा व्यापारिक केन्द्र, शैक्षिक संस्था बन्द गरिए । यातायात र हवाई सेवा ठप्पा पारियो । लामो समय गृहयुद्धमा फसेर भर्खरै तङ्ग्रिदै गरेको हाम्रोजस्तो विकासशील देशका लागि महामारीबाट जोगिने सबैभन्दा उत्तम उपाय लकडाउन नै हो । एक जना मात्रै कोरोनाको बिरामी देखिएको समयमा नेपाल सरकारले लकडाउन गरेका कारण धेरैले सरकारलाई धन्यवाद दिए । सबैले सोचे अब कोरोना फैलिँदैन ।
सुरुसुरुमा लकडाउनले राम्रै असर देखायो । विकसित भनिएका देशहरूमा तीव्र रूपमै फैलिइरहेको कोरोना हाम्रो देशमा शून्यप्राय थियो । यसरी नेपालमा कोरोना नफैलनुको कारणलाई देखाएर विभिन्न अड्कलबाजीहरू हुन थाले । प्रधानमन्त्री स्वयम्ले केही टिप्स दिनुभयो– नेपालीको इम्युनिटी पावर राम्रो छ, नेपालीलाई कोरोना लाग्दैन, मसलाजन्य पदार्थहरू खानाले कोरोना भाग्छ । साबुनपानीले हात धोए र बेसारपानी पिए कोरोनाले छुँदैन । यो कुरा त प्रधानमन्त्रीले दोहोर्याई तेहेर्याई नै गर्नुभयो ।
यहाँनेर मैले प्रधानमन्त्रीको तर्कलाई जोडेर खिल्ली उडाउन खोजेको होइन । मैले भन्न खोजेको के भने प्रधानमन्त्रीको कुराले जनमानसमा भय सिर्जना ग¥यो । सबैलाई लाग्यो( कोरोनासँग लड्नका लागि हाम्रो सरकारसँग कति पनि हुति रै’नछ । र, लकडाउनकै बीचमा स्वास्थ्य संगठनभित्रको अनियमितता, कमिसनका खेल, लापारबाहीजस्ता समाचारहरूले झनै भय बढायो ।
धेरै मिडियाले पनि होडबाजीको पछि लागेर ‘अन्दाजीफिकेसन’मै समाचार सम्प्रेषण गरिरहे । युवाहरू फुर्सदिला भएका र सामाजिक सञ्जालमा धेरै समय बिताउने भएकाले सामाजिक सञ्जाल हुँदै कोरोना हाउगुजीको रूपमा विकास भयो । यसले जनमानसमा झनै भ्रम पैदा गर्यो । भय झनै बढ्यो ।
सुरुसुरुमा सामाजिक सञ्जालतिर मान्छेले खुबै आत्तिएका पोष्टहरू गर्थे । फोन (म्यासेजमा प्रश्नहरू आइरहन्थे) हाम्रो भेट फेरि होला नहोला, कोरोनाले बचाउला नबचाउला ? कोरोनालाई जितिने हो कि होइन ! मान्छेलाई सबैभन्दा धेरै भय मृत्युले दिँदो रहेछ । मृत्युसँग मान्छे सबैभन्दा धेरै डराउँदो रहेछ ।
एकदमै न्यून मृत्युदर भएको कोरोना कतिसम्म भय बन्यो भने मजदुरीका लागि भारत तथा तेस्रो मुलुकमा रहेका नेपालीहरू रातारात नेपाल फर्किन खोजे । रातारात नेपाल भारत सिमानामा जम्मा भए । भोकको कारण देखाइए पनि अधिकांशमा आफ्नो परिवार नभेटिने पो हो कि अथवा परिवारसँगै मर्न नपाइने पो हो कि भन्ने भयले नै काम ग¥यो । त्यति मात्र हैन, घर देशमा रहेका आफन्तहरूले परदेशमा रहेका आफन्तहरूलाई तारन्तार फोन गर्न थाले । कुनै न कुनै विकल्प खोजेर घर फर्कन अनुरोध गर्न थाले ।
यता लकडाउन बढेको बढ्यै । यसरी बढेको लकडाउनले हुँदा खाने वर्गलाई नराम्रोसँग प्रभावित पा¥यो । दुई गाँस जोर्न धौ–धौ पर्न थाल्यो । मान्छे मर्ने हो कि बाँच्ने हो, बाँचे त तिर्ला मरिहाले कसरी तिर्ला भन्ने भयले ऐँचोपैँचो चल्न छाड्यो । भएकाहरूले पनि भविष्यलाई सोचेर लुकाए । जतिसक्दो आफूलाई सुरक्षित राख्न थाले । भोकभोकै मान्छे मर्न थाले । विपद्मा मान्छेले आफ्नो मात्र सोच्दो रहेछ । आफूलाई मात्र सम्झँदो रहेछ ।
अन्ततः ‘मर्नुभन्दा बहुलाउनु बेस’ भन्ने युक्तिलाई बढावा दिँदै जनताले विस्तारै लकडाउनलाई चुनौती दिन थाले । बाहिरफेर निस्कन थाले । कुनै तरिकाले रोजीरोटीको जोहो गर्न थाले । यतिञ्जेलसम्ममा जनमानसमा कोरोना रोग कम भय ज्यादा हो भन्ने पर्न थालिसकेको थियो । मान्छेमा कोरोना लागेरभन्दा भोकले छिटो मान्छे मर्ने रहेछ भन्ने पर्न थाल्यो । यसले कोरोनाको जोखिमलाई बढायो ।
यसैबीच, सरकारले भारतमा रोजगारी गर्ने नेपालीहरू घर फिर्न लाग्दा सिमानामै रोक्यो । सिंगो भारतमा कोरोना फैलिइसकेकाले कतिपय नेपालीहरूलाई पनि कोरोनाले भेटिसकेको थियो । उनीहरू पनि घर फिर्न त्यही भीडभाडमा मिसिए । रोगीहरू निरोगीको सम्पर्कमा आए । नजानिँदो पाराले रोग सर्न थाल्यो । फैलिन थाल्यो । सरकारले बेवास्ता गरेपछि भोकभन्दा ठूलो रोग हैन भनेर सिमानामा थुनिएका नेपालीहरूले घर फिर्न वैकल्पिक बाटो र विधि अपनाए । यसरी लुकिछिपी नेपाल छिरेका अधिकांश नेपालीहरूले कोरोना पनि सँगै बोकेर छिरे । सिधै घर परिवारको सम्पर्कमा पुगे । यस विषयमा कसैले खासै चासो दिएन । परिवारका सदस्यहरूले आफन्तले रोग पो बोकेर आएको छ कि भनेर सोचेनन् । सोचेभन्दा पहिल्यै गाउँ बस्तीमा रोग फैलिन थाल्यो ।
समस्यासँग जुध्ने बानी परेपछि विस्तारै समस्याहरू कम हुँदै जान्छन् । बाध्यताहरूले भयलाई ओझेलमा पारिदिन्छ । जोखिमसँग जुध्दा जोखिम कम भए पनि जोखिमलाई नजरअन्दाज गर्नाले जोखिम झन् बढ्छ ।
लकडाउन थपेर सरकार निदाई बस्यो । यहाँनेर सरकार नराम्ररी चुक्यो । उसो त सरकारका आफ्नै समस्याहरू थिए होलान्, सरकार चलाउने पार्टीभित्र गुट उपगुट सलबलाए, प्रधानमन्त्री जनतालाई बेसारपानी दिएर पार्टीभित्र आफ्नो वर्चस्व कायम राख्नमै तल्लीन भए । माफियाहरूले यही बेला मौका छोपे ।
लकडाउनलाई अवसर बनाएर स्वास्थ्य क्षेत्रलाई चुस्तदुरुस्त बनाउनुपर्ने ठाउँमा उल्टो स्वास्थ्य क्षेत्रलाई कमजोर मात्र होइन, नालायक नै बनाइयो । चेकजाँच, क्वारेन्टाइन र ट्रेसिङ सिस्टमलाई भगवान् भरोसामै छाडियो । पहिल्यै ग्रामीण बस्तीमा प्रवेश गरिसकेको कोरोना भित्रभित्रै फैलिन लाग्यो । कतिले रोग लागिवरी पचाइसक्दा पनि मलाई कोरोना भयो भनेर पत्ता पाएनन् । त्यति मात्र कहाँ, सरकारको गैरजिम्मेवारीले मान्छेको मृत्यु हुँदासम्म उसलाई के भएको थियो भन्ने पत्ता लाग्न सकेन ।
सम्भावित बिरामीहरूले जँचाएको हप्तौँसम्म पनि नतिजा पाउन सकेन । क्वारेन्टाइनको नाममा सबैलाई बिनासतर्कता कोचेर राखियो । यसरी निरोगीहरू निरोगी भएको प्रमाण आउँदासम्म रोगी भइसकेका थिए । यो कुरालाई ध्यान नदिई उनीहरूलाई निरोगिताको प्रमाणपत्र दिएर घरघर पठाइयो । जँचाउन गएकाहरू उल्टै रोग बोकेर घर फर्किन थाले ।
लकडाउन अवधिमा भयको रूपमा रहेको कोरोना लकडाउन खुलेपछि एकाएक विस्फोट भएर कहरको रूपमा देखाप¥यो । यसरी हेर्दा कोरोना भय हुँदै कहरको रूपमा विकास भएको देखिन्छ । अहिलेको अवस्था हेर्ने हो भने कोरोनाबाट जोगिन्छु भन्दा पनि जोगिन सक्ने अवस्था छैन । प्रत्येक १० जनामा एक जनालाई कोरोना भइसकेको अनुमान गर्न कुनै गाह्रो छैन । अब सबैले कोरोना झेल्नैपर्ने कहर बन्दै गएको छ ।
कहरलाई अवसर कसरी बनाउने त ?
चुनौती आफैँमा समाधान पनि हो । समस्याले जहिल्यै निदान खोज्छ । समस्याको चरमोत्कर्ष नै निदानको उद्गमस्थल हो । हामी यतिखेर समस्याको चरमोत्कर्षको एकदमै नजिक पुगेका छौँ । देशको अर्थतन्त्र नकारात्मक छ । अब हामीले समाधान खोज्नुपर्छ । भयलाई झेल्दै विपद्लाई अंगीकार गर्नैपर्छ । नत्र हामी ठूलो दुर्घटनामा पर्नेछौँ ।
उदाहरणको रूपमा दोस्रो विश्वयुद्धपछिको जापानलाई लिन सकिन्छ । हिरोसिमा र नागासाकीमा भएको बमबारीपछि उसले सिकेको पाठलाई लिन सकिन्छ । बारबार आउने भूकम्प र सुनामीको जोखिमसँग जुध्दै आफूलाई कसरी समृद्धितिर लगेर विश्व अर्थतन्त्रमा बलियो खम्बा बन्यो भनेर हेर्न सकिन्छ । त्यसै गरेर अर्को उदाहरणको रूपमा दक्षिण कोरियालाई लिन सकिन्छ । करिब तीन वर्ष कोरियाली प्रायद्वीपमा फैलिएको युद्धले ठूलो धनजनको विनाश ग¥यो । चरम गरिबी र भोकमरी जन्मायो । यसबाट दक्षिण कोरियाले पाठ सिक्यो । र, करिब ५० वर्षको छोटो अवधिमा संसारका सबल राष्ट्रहरूको पंक्तिमा देखापर्यो ।
विश्व इतिहासलाई हेर्ने हो भने ठूलठूला महामारीबाट विश्वका विकसित राष्ट्रहरूले कसरी आफूलाई समृद्ध बनाउन सके भन्ने यथेष्ट उदाहरणहरू जति पनि भेटिन्छन् । तिनै इतिहासलाई आधार मानेर कोरोनाबाट हामीले पाठ सिक्न जरुरी छ । कोरोना कहरलाई मोहरमा रूपान्तरण गर्न जरुरी छ ।
‘कोरोना कहरलाई मोहरमा कसरी रुपान्तर गर्ने त ?’ यतिखेरको तपाईंको दिमागमा यही प्रश्न उब्जिएको हुनुपर्छ । आउनुस्, यसै विषयमा केही तर्कहरू केलाएर हेरौँ ।
यतिखेर देशमा चरम गरिबी छ । भोकमरी छ । दिनदिनै भोकले मान्छे मरिरहेका छन् । गरिबीले मान्छे मरिरहेका छन् । रोगव्याधिले मान्छे मरिरहेका छन् । डिप्रेसन र मानसिक समस्या बढ्दो छ । कतिले अवसर नदेखेर आत्महत्या गरिरहेका छन् । यी कुरालाई एकैछिन् नजरअन्दाज गरौँ ।
लकडाउनको समय र त्यसपछि विश्वभर छरिएर रहेका हजारौँ, लाखौँ नेपालीहरू विभिन्न विकल्पहरू रोजेर घर फर्किइसकेका छन् । फर्किँदै छन् । शहरतिर कुनै इलम गरेर उतै बस्ने युवाहरू शहरभन्दा गाउँ सुरक्षित देखेर गाउँघरमै छन् । यसरी भनौँ, वर्षाैँपछि गाउँघर युवाहरूको पहुँचमा पुगेको छ । जन्मदै डे केयर र मन्टेश्वरीको बोझमा परेका स–साना बालबच्चाहरूले जीवनकालकै स्वर्णिम समय बिताइरहेका छन् । परिवारका सबै सदस्यहरूसँग रमाइरहेका छन् । कोरोना कहरकै कारण बाल मनोविज्ञानमा सकारात्मक प्रभाव परेको छ । यसले भावी पिँढीको संवेगात्मक विकासमा सकारात्मक प्रभाव पार्नेछ । किनकि, लालाबालाहरूका लागि परिवारको माया र साथभन्दा ठूलो पाठ्यपुस्तक वा अरु केही हुन सक्दैन ।
विभिन्न कारणले एक अर्काबाट टाढिएर बसेका परिवार एकजुट भएका छन् । विभिन्न घरायसी कामकाजहरू सामाधानको निम्ति उपयुक्त समय यही हो । ज्येष्ठ नागरिकहरू रोगव्याधिको भयले पिरोलिनुभन्दा पारिवारिक मिलनले रमाइरहेका छन् । युवाहरू पनि सबै काम थाँती राखेर फुर्सदिला भएका छन्, छौँ । फुर्सदको समयमा नै हो विकल्पहरूबारे सोच्ने, विकल्पहरू खोज्ने । उदाहरणको रूपमा, भइरहेका केही भर्चुअल क्रियाकलापहरूलाई लिन सकिन्छ । जस्तो कि यतिबेला पूर्वाञ्चल विश्वविद्यालयले प्रविधिको माध्यमबाट ब्याचलर तहको केही सेमेस्टरको परीक्षा गरिरहेको छ । यो हाम्रो देशको परिप्रेक्षमा नौलो प्रयोग हो । यसले निटक भविष्यमा खुला विश्वविद्यालयको अवधारणालाई मूर्त रूप दिन सहयोग गर्छ ।
केही दिनअघि वरिष्ठ गायक बद्री पंगेनीले गाउँमा घाँस काट्दै गरेको भिडियो सामाजिक सञ्जालमा हाले । ’असली म त यो पो रहेछु’ उक्त भिडियोमा उनले भनेका छन् । उनको तात्पर्य थियो, उनी गायक कम र किसान ज्यादा हुन् । गायन उनको रुचि हो । किसानी उनको पारिवारिक पेसा । यसैबाट पनि थप प्रष्ट हुन्छ । युवाहरूको ठूलो समूह आफ्नो धरातलमा आइपुगेको छ । उसो त हामी युवाहरूले गाउँघरमा खासै केही गरिहालेका भने छैनौँ । साथीभाइ भेट्ने, गफ गर्ने, लुडो, तास खेल्ने । यस्तैयस्तैमा फुर्सदिलो समय कटाइरहेका छौँ । मेरो मतलब, हामीले नयाँ सम्भावनाहरू खोज्ने सुवर्ण अवसर फेसबुक, ट्वीटर, युट्युब, टिकटक, पब्जीजस्ता सामाजिक सञ्जाल र अनलाइन गेममा भुलेर खेर फालिरहेका छौँ । नजानिदो पाराले हाम्रो ऊर्जाशील समय अनुत्पादक क्षेत्रमा खेर गइरहेको छ ।
यी सबै कुरालाई मध्यनजर गरेर सरकारले विकास निर्माणका विशेष केही योजनाहरू बनाउनुपर्ने हो । तर, दक्षिण एसियाकै शक्तिशाली भनिएको ओली सरकार कानमा तेल हालेर सुतेको छ । कानमा तेल हालेर सुत्नु सिवाय अरू धेरै थोक गर्न सक्नुपर्थ्यो यतिबेला । जस्तो, गाउँगाउँमा गएर युवाहरूलाई परिचालन गर्न सक्छ । विकास निर्माणमा खटाउन सक्छ । खासमा कोरोना कहर सरकारका लागि अवसर हो । विकासको मूल फुटाउने बलियो आधार हो । मैले देखेका केही सम्भावना यस प्रकार छन् ।
कृषि क्रान्ति
नेकपामा निकै बौद्धिक भनेर चिनिने नेता हुन् घनश्याम भुसाल । उनी यतिबेला कृषिमन्त्री छन् । तर, दुर्भाग्य हाम्रो कृषि क्षेत्र डामाडोल छ । कृषियोग्य जमिन बाँझो छ । जनशक्तिको अभाव छ । आधुनिक स्रोत साधनहरू छैनन् । कृषि प्राविधिकहरू पलायन हुन बाध्य छन् । उन्नत कृषि बिउबीजन पाइँदैन । मल विषादीहरू नपाएर किसान हैरान छन् । रोगव्याधिले फसल कमसल भइराखेको छ । उत्पादित सामानहरूले बजार पाउँदैन । बजार पाइहाले हजार (मूल्य) पाउँदैन । भण्डारणका लागि शीतघर छैन । अर्कोतर्फ बजारमा खाद्य सामग्रीको अभाव छ । महँगी छ । भारतबाट दैनिक करोडौँको खाद्यसामग्री आयात गर्नुपर्छ । जताततै विचौलियाहरू हाबी भइराखेका छन् ।
यी कुरालाई पनि एकैछिन नजरअन्दाज गरौँ । लकडाउनको समयमा ढुवानी, बजारको अभाव र कोरोनाको भयले देशमा रहेका अधिकांश कृषि फार्महरूले आफ्ना उत्पादनहरू सडकमा फाले । खाल्डो खनेर जमिनमा गाडे । र, सोही अवधिमा अर्बाैँको तरकारी भारतबाट आयात गरियो । यहाँनेर बौद्धिक भनिएका कृषिमन्त्रीको बौद्धिकताले हावा खायो । उनी निकम्मा देखिए । विचौलियाको चंगुलमा फसे । उनले चाहेको भए, कृषि मन्त्रालयले चाहेको भए, देशमै रहेका कृषि फार्महरूमा कृषिजन्य उत्पादनहरू नष्ट हुन पाउँथेनन् । सरकारले उत्पादक र उपभोक्ताबीच मध्यस्थकर्ता हुन सक्थ्यो । गाउँघरमा बेरोजगार भएर फोगटिया रहेका युवाहरूलाई सुरक्षित तरिकाले प्रयोग गर्न सक्थ्यो । रोजगारी दिन सकिन्थ्यो । गाउँगाउँमा शीतघरहरू निर्माण गर्न सक्थ्यो ।
विकास निर्माणमा युवा परिचालन
दक्ष तथा अदक्ष सबै प्रकारका युवा बेरोजगार भएकाले उनीहरूलाई दक्षताअनुसार आवश्यक सावधानी अपनाएर विकास निर्माणमा प्रयोग गर्न सकिन्थ्यो । प्रधानमन्त्रीले बारबार रेल आउँछ भन्नुहुन्छ । मेची महाकाली रेलजस्ता महत्वपूर्ण योजनाहरूमा फुर्सदिला युवालाई प्रयोग गर्न सकिन्थ्यो । मध्यपहाडी लोकमार्गको निर्माणमा युवाहरू प्रयोग गर्न सकिन्थ्यो । सरकारले निकै महत्त्वाकांक्षी भनेको निजगढ विमास्थल निर्माणको काम विदेशी ठेकेदारको हातमा नसुम्पिएर बेरोजगार आफ्नै नागरिकहरूलाई प्रयोग गर्न सक्थ्यो । दसौँ वर्षदेखि भ्रष्टाचारको अखडा बनिरहेको मेलम्ची खानेपानी आयोजनालाई लकडाउनको अवधिमा मूर्तरूप दिन सक्थ्यो ।
लकडाउनको समयमा काठमाडौंका सडक टिलिक्क टल्काएका शहरी विकासमन्त्री वसन्तकुमार नेम्वाङ र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई चिटिक्क पारेका पर्यटनमन्त्री योगेश भटराईले जस्तै अरू मन्त्रालयले आफ्ना काम चुस्त दुरुस्त पार्न सक्थे । प्रधानमन्त्रीले आफ्नै मन्त्रीहरूबाट सिक्न सक्थे ।
सहुलियतपूर्ण लगानी
लकडाउनको कारण बैंक तथा वित्तीय संस्थाले लगानी गर्न नपाएर बैंकमा अधिक पैसा थुप्रिएको छ । त्यही पैसालाई सरकारले सहुलियतपूर्ण ब्याजदरमा विकास निर्माण कार्यमा लगाउन सक्थ्यो । करको दायरा बढाउने अर्थ मन्त्रालयले जनतामा लगानीको दायरा बढाउने विकल्प देखेन, सोचेन ।
निर्यातमा प्रविधिको प्रयोग
देशमा उत्पादित सानामहरूलाई अन्तर्राष्ट्रियकरण गर्न सरकारले युवाहरूको सहायतामा आधुनिक प्रविधिको प्रयोग गरेर आवश्यक कदम चाल्न सक्थ्यो । देश विदेशमा आफ्ना उत्पादनहरू बेच्न सक्थ्यो ।
वैदेशिक रोजगारीमा बन्देज
कोरोनाका कारण विभिन्न देशबाट फर्किएका युवालाई फेरि पलायन हुनबाट सरकारले रोक्नुपर्छ । देशमै रोजगारीको अवसर सिर्जना गरेर एकपटक वैदेशिक रोजगारीमा गइसकेका युवाहरूलाई फेरि पनि वैदेशिक रोजगारीमा जान पूर्ण प्रतिबन्ध लगाउनुपर्छ ।
सरकारी कर्मचारीलाई राष्ट्र निर्माणमा परिचालन
लामो समय लकडाउनमा सरकारी कर्मचारीहरू खाली भए । उनीहरूलाई आवश्यक तालिम दिएर गाउँघरमा जनचेतना अभिवृद्धि गर्न प्रयोग गर्न सकिन्थ्यो ।
अत्यावश्यक वस्तुको उत्पादनमा ध्यान
कोरोनाको परीक्षणका लागि चाहिने टेस्टिङ किट्स, पञ्जा, पीपीई, मास्कलगायतका सामान खरिदमा स्वास्थ्य मन्त्रालय नमज्जाले पछारियो । तिनै गल्तीबाट पाठ सिकेर अत्यावश्यक वस्तुहरूको उत्पादन सरकारले थाल्नुपर्छ । भैपरी आउने जोखिमलाई ध्यानमा राखी सरकारी तवरबाट मास्क, पीपीईलगायत अन्य स्वास्थ्यजन्य सामग्रीको उत्पादन तथा भण्डारणमा ध्यान दिनुपर्छ ।
अनुसन्धान केन्द्रहरूको निर्माण
महावीर पुनजस्ता प्रतिभाहरूलाई बेवास्ता गरिनु हुन्न । रोजीरोटोको जोहो गर्न पलायन भएका युवा वैज्ञानिकहरूलाई देशमै केही गर्ने अवसर दिनुपर्छ । राष्ट्रिय तवरबाट अनुसन्धान केन्द्रहरू खोलिनुपर्छ । यी विषयमा सरकारले कोरोनाबाट पाठ सिक्नुपर्ने हो ।
अन्त्यमा, कोरोना कहरको बहानामा हामीले महत्वपूर्ण एक वर्ष गुमाइसक्न लागेका छौँ । फुर्सदिला नागरिकलाई फुर्सदिलै छाडिदिएर सरकारले गल्ती गरिरहेको छ । यो कहरलाई अवसर बनाउने महत्त्वपूर्ण अवसरबाट हामी चुकिरहेका छौँ । दक्षिण एसियाकै शक्तिशाली कम्युनिस्ट सरकार कमाउनिस्ट भइरहेको छ । सरकार त निकम्मा भयो नै, हामी नागरिक पनि आफ्नो कर्तव्यबाट भागिरहेका छौँ । चुनौतीसँग डराएर भय सिर्जना गरिरहेका छौँ । सामाजिक सञ्जालमा भ्रम फैलाइरहेका छौँ । कोरोनालाई कहर होइन, अवसर बनाऔँ । आफ्नो तवरबाट जेजति सकिन्छ गरौँ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies