भारतीय विदेश सचिव हर्षवर्द्धन श्रींगला मंसिर ११ गते नेपाल भ्रमणमा आउने भएका छन् । सोमबार मात्रै परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गरेर भारतीय विदेश सचिव आउने जानकारी दिएका हुन् । यसअघि नै उनी नेपाल भ्रमणमा आउने चर्चा चलिसकेको थियो । तर, सोमबार परराष्ट्र सचिव भरतराज पौडेलले उनको भ्रमणबारे पुष्टि गरेका हुन् । केही समय अगाडि मात्रै भारतीय खुफिया एजेन्सी रअका प्रमुख सामन्त गोयल नेपाल भ्रमणमा आएका थिए । उनले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरी स्वदेश फर्किएपछि अर्को आलोचना भएको थियो ।
रअका प्रमुखलाई नेपालका प्रधानमन्त्रीले भेट्नुलाई सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कै नेताहरुले आपत्ति जनाए । यसलाई कुटनैतिक मर्यादा बिपरीतको भेटवार्ता भएको आरोप लगाइएको छ । फेरि भारतीय विदेश सचिव नेपाल आउँदैछन् । भारतीय विदेश सचिव काठमाडौं आएलगत्तै चिनियाँ रक्षा मन्त्री वेइ फेङ्हे नेपाल भ्रमणमा आउँदैछन् । चिनियाँ पक्षबाट नेपालमा कमै भ्रमण हुने गरेको छ । जति भ्रमण भारतबाट हुन्छ, त्यसको तुलनामा कमै नेपाल भ्रमण आउने रक्षामन्त्री वेइ चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) का उच्च तहका नेता समेत हुन् ।
नेपालमा विदेशी नेताहरुको भ्रमण हुनुलाई सकारात्मक दृष्टिले हेर्न नसकिने होइन । किनभने, यस्तो भ्रमणले दुई पक्षीय सम्बन्धलाई प्रगाढ बनाउन बल पुग्छ । गत वर्ष झण्डै तीन दश पछि चिनियाँ राष्ट्रपति सी जिनफिङले नेपालको भ्रमण गरेका थिए । भारतीय प्रधानमन्त्रीले भने लगातार नेपाल भ्रमण गर्दै आएका छन् । तर, नेपाल र भारतको सम्बन्धमा सीमा समस्या चर्किएपछि भने भ्रमण हुन सकेको छैन । तसर्थ, भारतीय पक्षबाट उच्च तहको नेपाल भ्रमण हुनुलाई सकारात्मक रुपमा लिन सकिन्छ । तर, अहिलेको नेपाल भित्र जस्तो राजनीतिक संकट देखिएको छ । यस्तो बेला बाक्लिएको विदेशीहरुको भ्रमणले भने केही आशंका समेत जन्माएको छ । किनपनि भने सत्तारुढ नेकपा आन्तरिक कलहका कारण विभाजनको नजिक छ ।
अझ नेपालले केही महिना अगाडि मात्रै नयाँ नक्सा जारी गरेको छ । जसलाई भारतीय पक्षले स्वीकार गरेको छैन । अर्कातिर नेकपाको स्थीर सरकार बनेपछि नेपालको आन्तरिक मामलामा हस्तक्षेप घटेको विश्लेषण हुने गरेको थियो । फेरि नेकपा विभाजन हुने, सरकार बदलिने जस्तो चर्चाका बीच एकपछि अर्कोगरी विदेशी पाहुनाको भ्रमणले मुलुकको राष्ट्रियतामाथि भने केही आशंका देखिएको छ । जुन आशंका मिथ्या भएको प्रमाणित गर्दै छिमेकीहरुसँगको सम्बन्ध अझ उचाइमा पु¥याउने दायित्व भने फेरि पनि राजनैतिक नेतृत्वको नै हो ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies