नोभेम्बर २५ देखि शुरु भएको महिला हिंसा विरुद्ध ऐकेवद्धता जनाउन र चेतना फैलाउन विश्वभर मनाइने १६ दिने अभियान आज सकिदैछ । तर, यसपटक कोरोना महामारीका कारण यो अभियान सशक्त हुन सकेन । अर्कातिर कोरोना महामारीकै कारण सिर्जित परिस्थितिमा महिला हिंसा भने बढेको छ । आर्थिक गतिविधि न्यून भएको तथा लामो समय लकडाउन र निषेधाज्ञा गरिएका कारण सिर्जित परिस्थितिका कारण महिला हिंसा बढेको छ । नेपालमा पनि भर्चुएल माध्यमबाट र स–साना भेला मार्फत् महिला हिंसा विरुद्धको १६ दिने अभियान चलाइएको छ । तर, यही अवधिमा महिला हिंसाका घटनाहरु प्रसस्त मात्रामा सार्वजनिक भएको छ । अर्थात्, अभियानकै दौरानमा ६ वर्षीया बालिकादेखि किशोरीहरु माथि बलात्कृत हुनुदेखि मृत्यु समेत भएका छन् ।
विभिन्न अध्ययनले त संसारभर तीन मध्ये एक महिला आफ्नो जीवनकालमा हिंसामा पर्छन् । हिंसा पनि आफन्त, प्रेमी, विश्वासपात्र देखि पतिबाट बढी हुने गरेको छ । अर्थात्, महिला हिंसा अन्त्य गर्न सजिलो विषय छैन । कतिपय अध्यात्मिक कारणले पनि हिंसाका घटना बाहिर आउने गरेका छैनन् । महिलाको अनिच्छामा हुने यौनजन्य गतिविधि र अश्लिल हर्कत आफन्तबाटै हुने कुरालाई अध्यात्मिक चिन्तनले प्रकट हुन नदिइएपछि पीडितले न्यायको अनुभूति गर्न सकिरहेका छैनन् । अझ ३५ प्रतिशत महिलाले जीवनकालमा शारीरिक (यौनजन्य) हिंसा सहनु परिरहेको छ ।
अन्तर्राष्ट्रिय कानूनहरु मार्फत् नै महिला हिंसालाई अपराध मानेर दण्डनीय व्यवस्था गरिएको छ । अझ अगाडि बढेर महिला सशक्तिकरण र सहभागितामा बृद्धि गर्ने लक्ष्य सहितका संविधान समेत बनेको छ । तर, कानूनतः दण्डनीय कार्य नरोकिनुमा राज्य संयन्त्रकै समस्या देखिन्छ । केही दिन अगाडि मात्रै बलात्कारका घटनामा मिलापत्र गराउनेलाई पनि जेल सजाय हुने अध्यादेश आएको छ । यसको अर्थ हिंसाका गम्भीर अवस्था (बलात्कार) मा समेत मिलापत्र गराउने प्रवृत्तिले महिलाले कुन तहको शोसन खेप्नु परेको छ भन्ने प्रष्ट हुन्छ ।
पछिल्लो समय भने हिंसालाई प्रविधिले बल पु¥याएको छ । जबर्जस्ती गर्ने र त्यसको भिडियो बनाएर बारम्बार हिंसा गरिरने प्रवृत्ति बढेको छ । सामाजिक मर्यादालाई लिएर महिलाले आफू माथि भएको हिंसा लुकाउन खोज्ने र त्यही कमजोरीलाई टेकेर बारम्बार हिंसा भइरहने नयाँ समस्या देखिएको छ । यसको निरुपण फेरि कानूनतः खोज्नुपर्छ । सँगै, हरेक नागरिकमा हिंसाबारे जानकारी गराउने र त्यसबाट बच्ने समाजको निर्माण गर्न जरुरी छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies