-शिवप्रसाद ढुंगाना
संसदीय अभ्यास नै पुँजीवादी लोकतन्त्रको आधारस्तम्भ हो । नेपालको संविधानमा समाजवाद उन्मुख संघीय लोकतान्त्रिक गणतन्त्र भनिए पनि लोकतन्त्र स्थापना पश्चात् गरिएको अभ्यास समाजवाद उन्मुख नभएर पुँजीवाद उन्मूख देखिन्छ । यसका लागि उदाहरण दिन धेरै तथ्य खोजी रहनै पर्दैन । संविधानसभामा निजी स्कूलका सञ्चालक, बैंकका अध्यक्ष, प्रतिष्ठित व्यापारीले पैसाले ‘माननीय’ पद किने । र, उनीहरुले आफ्नो स्वार्थमा कानुन निर्माणदेखि पद प्रतिष्ठा दुरुपयोग गरेर व्यापार गरे ।
संविधानसभाका माननीय नै किनबेचमा परेपछि संविधानसभालाई अर्धसामन्ती पुँजीवादले निल्ने प्रयत्न गर्यो । त्यस्तो संविधानसभाले बनाएको संविधान मूलतः शब्दमा मात्रै समाजवाद उन्मुख हो सारमा पुँजीवादी थियो भन्न अरु तथ्य अन्वेषण गरिरहन पर्दैन ।
त्यही संविधानको जगमा हो हामीले २०७४ देखि सुरु गरेको संघीयतासहितको संसदीय अभ्यास । त्यस निर्वाचन ताका छरिएका दुई भ्रम अहिले एकैसाथ ३ वर्षपछि पटाक्षेप भएका छन् । पहिलो भ्रमः ‘अहिले नेकपा एमाले र माओवादीको गठबन्धनलाई भोट हालौं, हामी एकै पार्टी र चुनाव चिन्ह लिएर अर्को निर्वाचनमा आउँछौं, बहुमत पाए पाँच वर्षसम्म स्थिर सरकार चलाएर समृद्धि र विकासको जग बसाल्छौं ।’
यो किन भ्रम थियो भने संसद विघटन काण्डले देखाइसक्यो, कि ओलीलाई एमाले ठूलो पार्टी भए पनि प्रधामनन्त्री बन्न सकस हुने त्रास थियो र, प्रधानमन्त्री बन्नकै लागि प्रचण्डसँग गठबन्धन गर्न पुगे । प्रचण्डले निर्वाचनपछिको आफ्नो हालत पूर्वानुमान गरिसकेका थिए र दुई वर्ष भएपनि प्रधानमन्त्री खाने लोभमा फसे । खासमा यी दुवैलाई एकै पार्टी बनाउने इच्छाशक्ति नै थिएन । कुर्सीकै लागि मात्र थियो त्यो साँठगाँठ भन्ने त अध्याँरो कोठामा विष्णु पौडेल र जनार्दन शर्मा साक्षी राखेर गरिएको ‘अवैध तमासुक’ प्रमाणका रुपमा काफी छ ।
दोस्रोः देशको समृद्धि र विकासको मन छुने नारा भ्रम मात्रै थियो । किनभने जिल्ला जिल्लामा सुरु भएको बुहवर्षीय आयोजनामा बजेट नभएर ठेक्का लाग्दै स्थगित हुँदै रहेका अवस्थामा औषधी खरिददेखि ओम्नी र यतिहोल्डिङस्, बालुवाटार काण्ड आइरहे । यो समृद्धि जनताको होइन, मन्त्रीको भन्ने देखियो ।
अझ अर्को रोचक कुरा त हुँदै नभएको दुई अध्यक्षात्मक प्रणाली र पार्टी एकीकरण गर्ने नाटक छ । कार्यकर्ता र मतदातालाई देखाउन केन्द्रमा केही काम गरे पनि जिल्लासम्म एककरण भएन भागबण्डा सुरु भयो । यही किचोलोमा ‘अबैध तमासुक’ पद दिने र नदिने, लिने र नलिने भनेर ‘ओलि इजलास’मा ‘बहस नोट’ बनिरह्यो । अन्ततः पाँच वर्षे कार्यकालको संसदलाई बलीवेदिमा चढाएर निर्वाचन घोषणा गरियो । समृद्धि र विकासको यो अर्को भ्रम थियो । किनकी जुटेर विकास गर्न दिइएको जनादेश लत्याएर फुट र भ्रष्टाचारको दलदलभित्र डुबेका मन्त्रीहरुको जोगाउन प्रधानमन्त्री डटिरहे । र, अन्ततिर ओलिलाई सोही दलदलमा फसाइदिए ।
संसद विघटन र निर्वाचनले विकासका सुरु भएका कामसमेत अवरुद्ध हुन थाले । लोकतन्त्रको ‘कवच कुण्डल’ संसदको हत्या गरियो । ‘कवच कुण्डल’ बिनाको लोकतन्त्र नभएर यो त भष्मासुरको हात जस्तो हुन्छ । यस सन्दर्भमा महाभारतका कर्णको कथा उल्लेख गर्नु सान्दर्भिक हुन्छ ।
महाभारतमा कर्णलाई आदर्स पात्रका रुपमा हेरिन्छ । महाभारतका कर्णको जन्म आमा कुन्ती कुमारी अवस्थामा रहँदा नै सूर्यको अबैध संसर्गबाट भयो । कथा अनुसार उनी महाभारतका दुर्जेय योद्धा र ठूला दानी पनि हुन् । कर्ण सबेरै सूर्योदयको समयमा उनको ढोकामा आउने याचकलाई हरेक दिन मागे बमोजिमको दान दिने गर्थे । उनका लागि धर्मपालनको त्यो आदर्श रूप थियो । एक दिन भिक्षा माग्दै उनको ढोकामा छलपूर्वक देवराज इन्द्र आए । उनले दान दिएर बाँकी बसेको आफ्नो जन्मसँगै अंगमा जडित कवचकुण्डल काटेर दान दिएका थिए ।
उक्त प्राणरक्षक कवचकुण्डलले कर्णलाई दुर्जेय बनाएको थियो, जुन रहस्य उनलाई ज्ञात पनि थियो । उनले त्यस्तो आत्मघाती कार्य धर्मको नाममा गरेका थिए । त्यसैमा उनलाई गर्व थियो । आखिर कुरुक्षेत्रको युद्धमा कर्णको मृत्युको कारण त्यही कवचकुण्डल बन्न पुग्यो ।
कर्णको मृत्युको कारणजस्तै बन्यो नेकपाका लागि दिइएको ६५ प्रतिशत जनमत र ओलिको सत्ता पनि । कर्णले धर्ममा आफ्नो कवचकुण्डल समेत दान दिए, ओलीले सत्ता जोगाउन लोकतन्त्रको कवचकुण्डल संसदको हत्या गरे । त्यो जनमत त इन्द्रलाई कर्णले दिएको कवचकुण्डलजस्तो सत्ता जोगाउन र जनमतमाथि लात मार्न पो प्रयोग भयो ।
कवच कुण्डल इन्द्रलाई दिएजस्तै बाम गठबन्धनका नाममा दिइएको ६५ प्रतिशत जनमत र सत्ता त लोकतन्त्रको चीरहरण गर्न पो रहेछ त ! किनकी ओलीको २०७८ वैशाखको निर्वाचन संसद विघटन गर्ने सहारा मात्रै हुने निश्चित छ ।
को होला त युधिष्ठिर ?
संवैधानिक अड्चनकै बीचमा अधिक लोकतन्त्रप्रेमी देखिन घोषणा गरिएको निर्वाचन भारुण चरोको कथा जस्तो हुनेमा दुईमत छैन । किनकी एकै पेट दुई चुचो गरेको भारुण चराले एक अर्काको स्वादको विषयमा इष्र्या गरेर अर्कालाई ठिक पार्न एउटाले विष खाएपछि दुवै एकैसाथ मरेजस्तै विभाजन गरेर एक अर्कोलाई ठिक लाउन गरिएको निर्वाचनले दुवै पछारिने आम आँकलन छ ।
अझै पनि बाम गठबन्धनका मतदातामा संसद पुनस्थापना भए नेकपा विभाजन रोकिथ्यो कि भन्ने आश छ । ओलीको पद खुस्किए खुस्कियोस् तर, नेकपा सग्लो रहोस् भने धेरै मतदाताको मत छ । यो मतलाई आधार मान्ने हो भने नेकपाभित्र कि कोही युधिष्ठिर निस्केर एकता गरिदेओस् या त निर्वाचन आयोग र अदातलको फैसलाबाट पार्टी विभाजन नहोस् भन्ने अधिकांश मतदाताको चाहाना देखिन्छ ।
यसो सम्भावना ज्यादै न्यून अर्थात् अपवादबाहेक सबै कुरा बन्द भइसकेका छन् । यही निशाराका बिचमा एकता महाअभियान भनेर विज्ञप्ती जारी गरेका तर सक्रिय नभएका बामदेवप्रति पनि केहीका आँखा लागेका छन् । मनैदेखि उनले यो अभियान सुरु गरिहाले केही दावाव हुन्थ्यो कि भनेर आश गर्ने मतदाता पनि देखिएका छन् । हालकै अवस्थामा गौतम नेकपाभित्रका युधिष्ठिर बन्ने आश त नगरौं किनकी उनको भूमिका त्यो तहमा हुने आधार देखिँदैन । तर, तटस्थ बसेका कार्यकर्ता भने उनले देशव्यापी अभियान थाले आकर्षित भने निश्चित हुने छन्, गौतम समुह युधिष्ठिर बने पनि छुट्टै गुट बनेपनि ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies