-गोविन्द विक
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को नेतृत्व वर्गमा व्याप्त सर्वसत्तावादी चिन्तनले नै आज मुलुकमा राजनीतिक अस्थिरताको अवस्थामा पुगेको हो । सत्तारुढ दलभित्रका केही नेतासँगको रिस र सनकका भरमा प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानमै नभएको प्रावधान प्रयोग गरी प्रतिनिधि सभा विघटन गराएपछि मुलुकको राजनीतिक अवस्था त बिग्रियो नै यसले प्रतिक्रान्तिको खतरा पनि निम्त्याउँदै छ ।
सरकार गठनको सुरुबाटै सत्तारुढ दलभित्र खटपट हुन थालेको थियो । दलका अध्यक्ष द्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’को व्यवहार र कार्यशैलीमा दम्भ र अहङ्कार बढेको अनुभव हुन थालेको थियो । ओलीले आफ्नै ढिपी गर्ने, कसैको कुरै नसुन्ने र कसैलाई गन्दै नगन्ने अरूको कुरै नमान्ने गर्न थाले भने प्रचण्ड पनि ओलीलाई ‘साइज’मा ल्याउने कसरतमा लागे । अन्ततः सत्तारुढ दल विखण्डनको अवस्था पुग्यो । नेतृत्वको अहङ्कार र सर्वसत्तावादी चिन्तनले नेकपालाई धुजा धुजा बनायो । अध्यक्ष द्वय एक अर्काप्रति कटाक्ष गर्दै हिँड्ने अवस्थामा पुगे ।
नेकपाका अध्यक्ष तथा कामचलाउ सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीको ‘हुकुम’ले नयाँ जनादेश निर्देशित गर्ने हो कि संविधानले निर्देशित गर्ने हो । यसका बारेमा पनि राजनीतिक वृत्तमा प्रश्न उठ्न थालेको छ । के कुनै नेताको सनकले मुलुकलाई अन्योलमा धकेल्न मिल्छ र विधिको शासनमा व्यक्तिको रिस वा आवेगले मुलुकलाई अस्थिरतामा लान पाइँदैन ।
दलभित्रको झगडाले संसद् विघटन भएपछि सत्तारुढ दल दुई खेमामा विभाजित भएको छ । एउटा खेमा चुनाव हुन्छ सबै चुनावमा लागिसके भन्दै देश दौडाहामा जनतालाई उखान र टुक्काले हसाउनमा व्यस्त छ भने अर्को खेमा आन्दोलन गर्न अन्य राजनीतिक दलसँग मोर्चाबन्दी गर्ने कसरतमा जुटेको छ । प्रतिनिधि सभा विघटनको मुद्दा अदालतमा पुगेको हुनाले सम्मानित अदालतको फैसला नै निर्णायक हुन्छ संसद् ब्युँतिन्छ या ब्युँतिदैन भन्नेमा । यसका बारेमा अनावश्यक टीकाटिपणी गर्न अनुचित हुन्छ । तर, अहिलेको नेकपाका नेताहरूले आआफना पक्षमा गर्दै हिँडेको भाषणवाजी जनमानसमा अपच भइसक्यो । कुन नेताले के बोल्यो भन्दा पनि कुन नेताले नेतृत्व गरेको समयमा के परिवर्तन भयो र हाम्रो दैनिकीमा कति सकारात्मक प्रभाव परेको थियो भन्ने मूल्यांकन जरुरी भएको छ ।
चुनाव हुँदा पार्टीको चुनाव चिन्हमा बहकिएर उमेदवारको क्षमता, दक्षता, प्रतिबद्धता, अग्रगमन, चिन्तन, दूरगामी सोच भएको उमेदवार नहेर्दा आज हामीले यो दुर्दशा भोग्नु परिरहेको छ । जनताले राजनीतिक स्थिरताका निम्ति, देश विकास हुने अपेक्षा, निम्नवर्गीय जनताको जीवनमा समृद्धि आउने आशामा नेकपालाई करिब दुई तिहाइको नजिक मत दिएर सत्तामा पठाएका थिए । नेकपाका अध्यक्ष द्वय ओली र दाहाल दुवै निम्न वर्गीय जनताका आवाज बोल्ने नेता भएको भ्रम जनतामा परेको थियो । तर, नेकपाको झगडाले विखण्डन निम्त्याएपछि जनतामा निराशामात्र बढेको छ । सँगै भएर कुरा मिलुन्जेल देशै डुबाउने सहमति हुँदा पनि एकअर्काको बारेमा चुँक्क नगर्ने ओली आज फरक मत राख्नेका विरुद्ध अरिँगाल झैँ चिल्दै हिँडेका छन् भने जनताका लागि चुइँक्क नबोल्ने प्रचण्ड पद सत्ताका लागि सडकमा उफ्रिँदैछन् ।
मुलुकमा कोरोना महामारीले अत्यायो । जनता भोकले छटपटिए । मजदुर एकछाक खान सडकमा लाम लाग्न लागे । मलर सदाहरुले खानै नपाएर ज्यान गुमाए । राधा सदाहरु काँचो आँप खाएर तड्पिए । प्रचण्डले यी समस्या उठाएर ओलीसँग जवाफतलब कहिल्यै गरेनन् । पार्टीको समस्या भन्दा पनि जनताको समस्या प्रमुख भएकोले अहिले म जनताको समस्यामा केन्द्रित हुन्छु भनेर ओलीले भनेको पनि कहिल्यै सुनिएन ।
केपी शर्मा ओलीले देशै बेचेर खाइसके भने जसरी प्रचण्डलाई अहिल्यै प्रधानमन्त्री हुनुपर्ने र ओलीलाई प्रधानमन्त्रीको कुर्सी भनेको आफ्नै बिर्ताजस्तै गरी छोड्नै नहुने सामन्ती प्रवृत्तिले गर्दा उनीहरूको पार्टी चिरा परेको हो । ओलीले पार्टीभित्रको झगडालाई गौण मानेर जनमुखी काममा ध्यान दिई जनता हितमा खुरुखुरु काम गरेका भए विरोधी त्यसैपछि हट्थे ।
प्रचण्डले पनि दुई वर्षसम्म पदको लोभ नगरी जनताको दुःखमा आफूलाई संलग्न गराई जनमुखी काम गर्न सरकारलाई सकारात्मक दबाब दिने काम गरेका भए जनताले चुनावमा मूल्यांकन गर्ने नै थिए । अहिले नै सत्ता र शक्तिको हतारोले पार्टीभित्र विवाद जन्माएर त्यसको असर जनता र मुलुकले भोग्नुपर्ने अवस्था उत्पन्न भयो ।
विश्वव्यापी महामारी कोरोनाको निःशुल्क उपचार गर्ने खर्च छैन भनेर सरकारले परीक्षण तथा उपचारमा जनतासँग शुल्क लिने निर्णय गरेको सबैलाई थाहै छ । पैसा नभएको भन्दै भोका जनतालाई पनि सरकारले सहायता दिएन । पैसाकै अभावले अस्पतालहरूमा पर्याप्त भेन्टिलेटर तथा आईसीयुको व्यवस्था हुन नसक्दा संक्रमितहरुले उपचार नपाएरै ज्यान गुमाए । कोरोनाले व्यवसायीहरु थला परेका छन् । तिनीहरुलाई ऋण दिन पनि सरकारसँग बजेट छैन । देशको अर्थतन्त्र धाराशायी भएकोमा सरकारलाई चासो देखिँदैन । यस्तो अवस्थामा खर्चको भारको वास्तै नगरी नयाँ जनादेश माग्न सरकार कस्सिएको छ । यो जति दुःखद र मूर्खता अरू के हुन सक्छ ।
अन्ततः पार्टीलाई नै जनविश्वासबाट टाढा लाने वातावरण नेकपाका नेतृत्वले नै तयार गर्दैछ । दूरगामी सोच र प्रगतिशील चिन्तन भएको नेतृत्व सत्ता र शक्तिको जोखाना हेर्नभन्दा जनताको पीडा र मुलुकको भविष्यप्रति आफूलाई सधैँ तल्लीन गराउँछ । पद र सत्ताका लागि जनताको दुःखको उपेक्ष गर्ने नेतृत्व जनताका मनमा कहिलै पनि बस्न सक्दैन । लोकतन्त्रमा सधैँ विधिको शासन र जनताका समस्यालाई प्राथमिकता दिइन्छ । लोकतन्त्रको सुन्दरता नै यही हो । तर, अहिले नेकपाभित्र मौलाउँदै गएको अस्वस्थ प्रवृत्तिले नेपाली नागरिक निराश भएका छन् भने मुलुकले बाटो बिराउने जोखिम पनि त्यत्तिकै छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies