व्यवसायीको बृहत् सहभागितामा विभाग घेराउको तयारी
काठमाडौं : वैदेशिक रोजगार व्यवसायीहरुले वैदेशिक रोजगार विभागले आफुहरुको व्यवसायिक स्वतन्त्रतालाई अनुचितरुपमा नियन्त्रण गर्ने खोजेको आरोप लगाएका छन् । वैदेशिक रोजगारमा कामदार पठाउने प्रकृयाको अनुमगमन तथा नियमन गर्ने अख्तियारी पाएको सरकारी निकायका रुपमा रहेको विभागले व्यवसाय प्रवद्र्धनभन्दा नियन्त्रण गर्न रुची राखेको कतिपय व्यवसायीहरुको भनाइ छ ।
सुधारका कामहरु नगरेको भनी विभागप्रति गुनासो गर्दै आएका व्यवसायीहरुले गत पुस २३ गते अन्तर्वार्तामा छनोट भएका कामदारको मात्र सक्कल राहदानी लिन सार्वजनिकरुपमा सूचना जारी गरेपछि विभाग स्वतन्त्ररुपमा पेशा व्यवसाय गर्ने कम्पनीको व्यवसायिक स्वतन्त्रतामाथि नै आघात पार्ने तयारीमा लागेको निष्कर्षमा उनीहरु पुगेका हुन् ।
संघका महासचिव सुजित कुमार श्रेष्ठले व्यवसाय प्रवद्र्धन तथा सुशासनका लागि विभागले गर्नुपर्ने अत्यावश्यक सुधार गर्न आनाकानी गर्ने तर व्यवसायीहरुले राहदानी नै राख्न नपाउने गरी विभागबाट सार्वजनिक सूचना जारी हुनु गम्भीर चिन्ताको विषय भएको बताए ।
संघले राहदानी राख्ने अधिकारको रक्षा तथा सुधारका अन्य विषयमा महानिर्देशकको ध्यानाकर्षण गराउन विभाग घेराउ लगायतका कार्यक्रम गरेर संस्थागत दवाब दिने योजना बनाएको पनि महासचिव श्रेष्ठले बताए । बिहीबार र शुक्रबार संघका पूर्व अध्यक्ष, सल्लाहकार तथा घटक संस्थाहरुसँग छलफल गर्ने र त्यसबाट आएका सुझावको आधारमा व्यवसायीहरुको व्यापक सहभागितासहितको उपस्थितिमा आइतबार विभागलाई दवाब दिने योजना बनेको महासचि श्रेष्ठले बताए । उनले भने, ‘यो एक किसिमको विभाग घेराउ कार्यक्रमका रुपमा रहने छ । हामी सबै व्यवसायीहरुलाई व्यवसायिक स्वतन्त्रताको रक्षा र सुधारका लागि विभागमा उत्रिन आह्वान गर्दैछौं ।’
व्यवसायीहरुलाई वैदेशिक रोजगारमा जाने कामदारको राहदानी नराख्न विभागले सार्वजनिक गरेको सूचनामा ‘वैदेशिक रोजगारमा जान लागेका नागरिकहरुले अन्तर्वार्तामा छनोट भएपछि मात्र सम्बन्धित ईजाजतपत्रवाला संस्था (म्यानपावर कम्पनी)हरुलाई सक्कल राहदानी लगायत आवश्यक कागजातका सक्कलप्रति बुझाउन तथा इजाजतपत्रवाला संस्थाहरुले पनि आवेदकहरुबाट प्रतिलिपि वा स्क्यान गरी मात्र राहदानी माग गरी छनोट भएका कामदारहरु बाहेक अरुका सक्कल राहदानी जम्मा गर्ने गराउने कार्य नगराउनु होला’ भनेको छ ।
महासचिव श्रेष्ठले विभागको यस्तो सूचना अव्यवहारिक रहेको बताए । उनले भने, ‘यो सूचनाले त बैंकलाई नोट नराख, अस्पताललाई उपकरण नराख, औषधि पसललाई औषधि नराख भने जस्तो भयो । हामीले वैदेशिक रोजगारमा जाने युवायुवतीको राहदानी राख्ने विषयमा वैदेशिक रोजगार ऐनले दिएको अधिकार प्रयोग गर्न पाउनुपर्छ भनेका छौं ।’
वैदेशिक रोजगारमा जाने युवायुवातीको भिसा लगाउन, श्रम स्वीकृतिको निस्सा लगाउन, श्रम स्वीकृति रद्द गर्न र कामदारले विदेशी विमानस्थल प्रयोग गर्ने भए त्यस्तो अनुमति माग गर्दा कामदारको सक्कल राहदानी आवश्यक हुने गरेको छ । त्यस्तै ऐनले राहदानी विदेश लैजान विभागको स्वीकृति अनिवार्य गरेको छ । संघका अध्यक्ष विष्णुप्रसाद गैरेले राहदानी म्यानपावर कम्पनीमा राख्ने विषय वैदेशिक रोजगारमा जाने कामदारकै हितमा हुने भन्दै म्यानपावर कम्पनी र कामदारबीचको सहमति अनुसार राहदानी राखिने गरिएको बताए ।
कुनै म्यानपावर कम्पनीमा विदेशबाट आकर्षक तलव र सुविधासहितको डिमाण्ड आउने जानकारी पाए वैदेशिक रोजगारीमा जाने युवा युवतीहरुले म्यानपावर कम्पनीलाई स्वेच्छाले राहदानी जिम्मा लगाउने गरेको भन्दै अध्यक्ष गैरेले त्यस्तो अवस्थामा विभागले हस्तक्षेप गर्न नहुने बताए ।
अनुचित हस्तक्षेपले व्यवसाय फस्टाउन र कामदारको अधिकार रक्षा हुन नसक्ने भन्दै अध्यक्ष गैरेले वैदेशिक रोजगारमा जाने कामदारको श्रम अवधिभर म्यानपावर कम्पनीले तलव, सुविधालगायत सबै प्रकारको जिम्मा लिने भएकाले सरकारी निकायले म्यानपावर कम्पनीलाई अनावश्यक शंकाको दृष्टिले हेर्नु उचित नहुने टिप्पणी समेत गरे । विभागले भने वैदेशिक रोजगारलाई मर्यादित एवं व्यवस्थित बनाउन राहदानीको प्रयोगसहित अन्तर्वार्तामा छनोट भएका कामदारले सेवा शुल्क बैंकमार्फत बुझाउनु पर्ने र म्यानपावर कम्पनीहरुले पनि बैंकमार्फत उक्त सेवा शुल्क लिनुपर्ने बताएको छ ।
संघले राहदानीको विषयसहित म्यानपावर कम्पनीको शाखा कार्यालय सञ्चालनको अनुमति, वैदेशिक रोजगार व्यवसायी कोष सञ्चालन, वैदेशिक रोजगार सूचना प्रणालीमा रहेका समस्या, घरेलु कामदार पठाउन छुट्टै, जापानमा प्रशिक्षार्थी कामदार पठाउन छुट्टै ईजाजत लिनुपर्ने हालको झन्झटिलो प्रणाली परिवर्तन जस्ता विषय पनि तत्काल समाधान गर्नुपर्ने तर त्यसमा ध्यान नदिइएको बताएको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies