-शिव प्रसाद ढुंगाना
साहित्य सिद्धान्तमा प्रतिक्रियालाई ‘प्वालबाट छिरेर ढोका बनाउने प्रयास’ भन्ने गरिन्छ । अर्थात् प्रतिक्रियाले विचारको प्रतिनिधित्व गर्दैन । प्रतिक्रिया भनेकै विचारमाथिका स–सना प्वाल खोजेर टिप्पणी मात्रै गर्ने हो ।
साहित्यमा प्रतिक्रिया परिमार्जन र निखारताका लागि महत्वपूर्ण मानिन्छ तर, प्रतिक्रियाको राजनीतिले नेतृत्व प्रदान गर्ने होइन, अतित्वको खोजी मात्रै गर्छ । साहित्यमा प्रतिक्रियाले कहिलेकाँही प्वाललाई ढोका बनाउने काम पनि गर्छ । अर्थात् प्रतिक्रिया लेखेर स्तम्भकार वा लेखक बनेका उदाहरण छन् । तर, नेपाली राजनीतिको ५ दशक यताको इतिहास हेर्दा अपवादबाहेक प्रतिक्रियाबाट उदाएका राजनीतिज्ञले नेतृत्व दिएको इतिहास छैन ।
यो सन्दर्भ वर्तमान अवस्थामा प्रधानमन्त्री केपी शर्मा ओलीको संसद विघटन गर्ने कदम, देशव्यापी अभियानमा दिएका अभिव्यक्ति, निर्वाचन र आफ्ना कदमको प्रतिरक्षासँग जोड्न खोजिएको हो । केपी ओलीको राजनीतिक जीवन निकै लामो होला तर, २०७१ अघिसम्म उनको भूमिका पार्टी भित्र वा बाहिर प्रतिपक्ष र प्रतिक्रिया दिने मात्रै थियो । मिडियाले उनलाई ‘कटु आलोचक’का रुपमा चित्रित गर्नुको कारण पनि त्यही थियो ।
प्रतिक्रियाको राजनीतिबाट संस्थापन नेतृत्वमा पुगेका ओलीका हकमा पनि साहित्य सिद्धान्तमा ‘प्वाल खोजेर ढोका बनाउने’ प्रतिक्रियाको अपवादकै रुपमा लिन सकिन्छ । नेपाली राजनीतिमा प्रतिक्रियाको राजनीतिबाट संस्थापन भएका पछिल्लो पुस्ताका उनी मात्रै राष्ट्रिय नेता हुन् ।
करिव चार दशकको प्रतिक्रियाको राजनीतबाट उदाएर २०७१ यताको करिव ६ वर्ष उनले नेतृत्वमा रहेर क्रियाको राजनीति गरे । अर्थात् नेतृत्व प्रदान गरे । र, यो नेतृत्व स्थापित पनि भयो । यसलाई बाहिरी कोणबाट हेर्दा खारिएको नेतृत्व भन्ने पनि लाग्न सक्छ । यथार्थमा भने त्यस्तो देखिएन । उनी नेतृत्व गरेको ६ वर्षपछि फेरि प्रतिक्रियाको राजनीतिमा फर्किए । पार्टी अध्यक्ष र प्रधानमन्त्री भएर नेतृत्वमा हुँदा समेत उनका कृयाले भन्दा प्रतिक्रियाले बढी चर्चा पाए, चर्चा मात्रै होइन आम मान्छेको ध्यान पनि खिचे ।
उदाहरणका लागि आफैंं पार्टी अध्यक्ष हुँदा बैठक नबस्ने, बस्न अरुले आग्रह गर्दा आउन नमान्ने, आएपछि निर्णय हुँदा चुपचाप सुन्ने, हस्ताक्षर गरेर निस्केपछि ‘म त मान्दिन’ भनेर प्रतिक्रिया दिने । आफू नगर्ने, अरुले पहल गरे अस्वीकार गर्ने ढोंगी प्रवृत्ति पुनरावृत्त गरिरहे । यो उनको प्रतिक्रियाको राजनीतिको अर्को अध्याय थियो ।
यसले पार्टीभित्र अन्तरद्वन्द्व यति चकिर्यो कि राम्रोसँग एकता भइ नसकेको नेकपा फुटको तहमा पुग्यो । कार्यकर्ता तहमै दुई अध्यक्ष एक अर्कालाई खुइल्याउन दस्तावेज छापेरै बाँड्न थाले । यस्तै अवस्थामा ओलीले संसद भंग गरिदिए ।
दोस्रो पटक प्रधानमन्त्री भएपछि उनले गरेको यो क्रिया थियो । तर, यो क्रिया आवेश, आक्रोश र सनकमा गरिएको प्रतिगामी क्रियाका रुपमा स्थापित भयो । उनका प्रतिक्रियाले जति मन जितेका थिए, यो क्रिया त्यति हैसियतमा पनि उभिएन, उल्टै उनीविरुद्ध आक्रोश पैदा मात्रै गरेको छैन, शसस्त्र द्वन्द्व, मधेश तथा जनजाति आन्दोलन, बृहत जनआन्दोलन सबैको भावना समेटेको संविधानमाथि नै प्रहार भएको आभाष दिलायो ।
केही अन्धभक्तहरुले ओलीले नेपालको नक्सा छापेर क्रियाको राजनीति गरे पनि भन्लान् । तर, नक्सा छाप्ने काम प्रतिक्रिया नै थियो । किनकी भारले छापेर नेपाली भूभाग दावी ग¥यो, सडक खनेर उद्घाटन ग¥यो । कालापानी, लिपुलेक नेपालको हो, नेपाल किन चुप बस्यो भनेर देशभर आक्रोश पैदा भयो र बल्ल भारतलाई देखायो नि भन्न बल्ल नक्सा आयो । नक्सा छपाइ र नेपाली भू–भाग दावी गर्ने सवालमा देश एकै स्वरमा उभियो । राष्ट्रसँग जोडिएको मुद्दा भएकाले । तत्र भारतको क्रियामा उनको नेतृत्वमा प्रतिक्रिया मात्रै दिएको हो नक्सा काण्डले ।
संसद विघटनपछि एकथरीले निर्वाचन गराउनु, ताजा जनादेश लिएर शासन सत्ता चलाउनु लोकतन्त्रको मेरुदण्ड पो हो त, यसले त लोकतन्त्र जीवन्त बनाउने भन्ने तर्क पनि गरिरहेका छन् । यो तर्क निरपेक्ष रुपमा हेर्दा सहि जस्तो लाग्छ । तर, सापेक्षतामा भन्ने हो भने दुई वर्षको संसदको अवधि बाँकी हुँदै जनताले आफैंलाई अत्याधिक बहुमत दिएको संसद विघटन, मध्यावधि निर्वाचन घोषणा यसकारण बेमौषमी बाजा हो कि, जुटेर बहुमत ल्याएकाहरु बेमौसममा कारण फुटेर चुनावमा गए बहुमत ल्याउने सपना पूरा हुन असंभवप्रायः छ ।
उनका अरु थुप्रै प्रतिक्रियाहरु छन् । बालुवाटारबाट पार्टीको बैठकमा धुम्बाराही जान स्वास्थ्य असुरक्षाका कारण नसकेको बताउने ओली फुटको अभियान देशव्यापी बनाउँदै सम्बोधनमा देश दौडाहामा जाँदा असुरक्षा भएन । ती सभाहरुमा उनले आफूले चालेका कमदको विरोधमा व्यक्ति धारणामा फेरि प्रतिक्रिया दिन थाले । भाषा मिलाई मिलाइ उनले दिएका प्रतिक्रिया अर्थात् जवाफ प्रतिक्रिया नै हुन् ।
आर्थत् ओली संस्थापन दावा गरिरहँदा प्रतिक्रियामै फर्किए, प्रतिपक्षको जस्तो भूमिकामा । आफ्ना कदममाथि अहिले आफैं टिप्पणी र अनुमान गरिरहेका छन् । संसद विघटन सर्वोच्चले ठिक भन्छ, भन्नुपर्छ, यो राजनीतिक कदम हो, संवैधानिक होइन भनिरहेका छन् । उनले यसो भनिरहँदा कानुनी हिसाबले मुद्दा संवैधानिक इजलाशमा छ । र यसले संवैधानिक मान्यता प्राप्त गरिरहेको छ ।
उनी यतिमै सीमित छैनन् । निर्वाचन आयोगले प्रचण्ड माधवको निवेदननै दर्ता गरेन, म आधिकारिक हुँ भनेर झुट प्रचारमा रमाए । आयोगका अधिकारीले त्यसको खण्डनै गर्नुुपर्यो । दलसम्बन्धी मुद्दा पनि आयोगमा पुगेपछि उनले आफ्नो दावी पेश गर्ने र प्रतिक्रिया दिने मात्रै गरे । यसरी हेर्दा ओली क्रियामा होइन प्रतिक्रियामा रमाउने पात्र हुन् भन्न अरु तथ्य खोजिरहन पर्दैन । संस्थापनमा भन्दा प्रतिपक्षमा रमाउने उनको मनोवृत्तिले दिर्घकालीन नेतृत्व दिन सक्दैन भन्ने यी नै घटनाक्रमले पुष्टि गरिरहेको छ । पार्टीभित्र विवाद भयो, संसदीय दलमा छलफल गर्ने सहास आएन, संसदमाथि आक्रमण गरे । कुर्सी जोगाउने मोहमा संसदको हत्या गर्नेले फेरि नेतृत्वमा पुगे सोही प्रवृत्ति नदोहो¥याउने विश्वास कसरी गर्न सकिन्छ ?
प्रतिक्रिया, आरोप, कटाक्ष र टिप्पणीमा रमाउनेका लागि राजनीतिभन्दा वकालत पेशा बढ्ता सुहाउँछ । राजनीतिमा त प्रतिक्रिया, आरोप, कटाक्ष र टिप्पणी सबैको अभिभावकत्व दिनुपर्छ । ओली अहिले आफ्नै प्रतिक्रियाले, प्रतिगामी क्रियाले जन्माएका मुद्दामा आफ्नै इजलाशमा आफंै सहि छ भनेर बहस गरिरहेका छन् । देश सञ्चालन गर्ने, विकास र समिृद्धिका सपना पूरा गर्न काम गर्ने भन्दा बढ्ता उनमा मुद्दा केन्द्रित बहसमा रुचि देखिन्छ । इजलाशमा बहस गरेर प्रभाव पार्नु न्यायिक सिद्धान्तमा स्वभाविक मानिन्छ, तर ओली प्रधानमन्त्रीका रुपमा बहस गर्न वकिल बनिरहेका छन् । र, सर्वोच्चलाई प्रभावित पार्ने प्रयत्न गरिरहेको देख्दा भन्न मन लाग्छ, ओली सर, सर्वोच्च नजिकै एउटा ‘ल फर्म’ खोलेर बहस गर्न जाने कि !
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies