धुलिखेलदेखि हालसम्मका प्रतिवद्धताबारे महानिर्देशकको ध्यानाकर्षण गराइने
काठमाडौं : नेपाल वैदेशिक रोजगार व्यवसायी संघले वैदेशिक रोजगार विभागका महानिर्देशक कुमार दाहालले समस्या समाधान भन्दा अनुचित नियन्त्रणको शैली अपनाएको आरोप लगाउँदै आइतबार विभाग घेराउको कार्यक्रम राखेको छ ।
शनिबार संघको बैठक बसी घेराउको स्वरुप तय गरेको संघका अध्यक्ष विष्णुप्रसाद गैरेले मध्यान्हलाई बताए । अध्यक्ष गैरेले सुधारका लागि गर्नुपर्ने कामका सम्बन्धमा गत वर्ष धुलिखेलमा सम्पन्न कार्याशला गोष्ठी र त्यसयता विभिन्न समयमा विभागका महानिर्देशक दाहालले राखेका प्रतिवद्धता स्मरण गराउँदै ती प्रतिवद्धता बारे लिखितरुपमा ध्यानाकर्षण गर्ने कार्यक्रम तय गरिएको बताए । उनले भने, ‘घेराउ कार्यक्रम सभ्यरुपमा नै सम्पन्न गरिने छ, तर विभागले गर्न सक्ने समस्या समाधानका कुरा गम्भीरताका साथ राखिने छ ।’
तत्कालीन महानिर्देशक डा. भिष्म कुमार भुसाल अख्तियार सरुवा भएपछि गत वर्ष फागुन पहिलो हप्ता महानिर्देशक दाहाल विभागको प्रमुख भई आएका थिए । त्यसपछि उनले वैदेशिक रोजगार विभागमा रहेका समस्याहरुको स्थायी समाधान खोज्ने भन्दै तत्कालीन श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामेश्वर राय यादवसहित मन्त्रालयका उच्च अधिकारी, संघ पदाधिकारी, गृह र परराष्ट्र मन्त्रालयका उच्च अधिकारीहरुसहित नेपाल प्रहरीको मानव बेचविखन अनुसन्धान व्युरोका प्रतिनिधिसमेत राखी काभ्रेको धुलिखेलमा आवासीय गोष्ठी गरेका थिए ।
संघका अध्यक्ष गैरेले उक्त आवासीय गोष्ठीमा सुधारका धेरै कुराहरु उठेको र महानिर्देशक दाहालले विभागबाट हुने सुधारका काम तत्कालैदेखि शुरु गर्ने प्रतिवद्धता जनाएको तर व्यवहारमा भने सुधारको कुनै काम नभएको दावी गरे ।
उनले भने, ‘सुधारका लागि दिइएका सुझावहरु दराजमा थन्काएर राखियो, विभागीय निर्णयबाट हुने काम पनि मन्त्रालयबाट राय परामर्श लिनुपर्छ भन्दै पन्छाउने काम भयो । पछिल्ला दिनमा वैदेशिक रोजगारमा जाने कामदारको राहदानी म्यानपावर कम्पनीले राख्न नपाउने सार्वजनिक सूचना नै जारी भयो । म्यानपावर कम्पनीको शाखा कार्यालय सञ्चालनको अनुमति दिइएन, पटक–पटक माग गर्दा पनि वैदेशिक रोजगार सूचना प्रणालीमा रहेका समस्या समाधान भएनन् । घरेलु कामदार पठाउन छुट्टै, जापानमा प्रशिक्षार्थी कामदार पठाउन छुट्टै ईजाजत लिनुपर्ने हालको झन्झटिलो प्रणाली पनि परिवर्तन गरिएन । यी विषयलाई तत्काल समाधान गर्न दवाब दिनु नै हाम्रो घेराउको उद्देश्य हो ।’
संघका महासचिव सुजित कुमार श्रेष्ठले व्यवसाय प्रवर्द्धनमा तथा सुशासनका लागि विभागले गर्नुपर्ने अत्यावश्यक सुधार गर्न आनाकानी गर्ने तर तर्साएर नियन्त्रणमा राख्ने शैली देखाएको दावी गरे । उनले कोरोना महामारीका कारण व्यवसाय धारासायी हुने अवस्थामा पुगेको अवस्थामा सुधार तथा राहतका कार्यक्रम ल्याएर व्यवसायीको मनोवल उकास्नु पर्ने समयमा विभागले नियन्त्रणमुखी रवैया अपनाएका कारण व्यवसायी सडकमा ओर्लन वाध्य भएको दावी गरे ।
अध्यक्ष गैरेले आइतबार महानिर्देशक दाहालसँग हुने छलफका आधारमा आन्दोलनका थप कार्यक्रम घोषणा गर्ने जानकारी दिए । विभाग श्रोतले संस्थागत सुशासनका लागि काम भइरहेको भन्दै समस्याहरुको समाधान खोज्न निरन्तर क्रियाशिल रहेको बताएको छ ।
यसैबीच नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएसनले व्यवसायीको हितको लागि नेपाल बैदशिक रोजगार संघले गर्ने कार्यक्रममा ऐक्यवद्धता जनाउने निर्णय गरेको छ । एसोसिएसनका अध्यक्ष नरेन्द्र प्रसाद ढकालको अध्यक्ष्यतामा शुक्रबार बसेको एसोसिएसन कार्यसमिति बैठकले उक्त निर्णय गरेको हो ।
एसोसिएसन अध्यक्ष ढकालले संघको नेतृत्वमा हुने आन्दोलनको सफलता नै व्यवसायीहरुका समस्याको समाधान भन्दै सबै व्यवसायीहरुलाई एकसाथ सडकमा उत्रिन आह्वान समेत गरेको बताए । एसोसिएसनले वैदेशिक रोजगार व्यवसायमा चौतर्फी आक्रमण भएको भन्दै त्यसको पूर्णरुपमा भर्त्सना गरेको बताएको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies