काठमाडौं : प्रतिनिधिसभा विघटनको विरोध गर्नेहरू देश विरोधी हुन् भन्ने प्रधानमन्त्री केपी शर्मा ओलीको अभिव्यक्तिप्रति नेपाली कांग्रेसले आपत्ति जनाएको छ ।
कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले सोमबार एक विज्ञप्ति प्रकाशित गर्दै प्रधानमन्त्रीको अभिव्यक्ति अलोकतान्त्रिक र अधिनायक आकांक्षालाई थप उजागर गर्ने किसिमको भएको बताएका हुन् ।
आइतबार प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटनको विरोध गर्नेलाई देश विरोधीको संज्ञा दिएका थिए । कांग्रेसले कुनै पनि रंग र स्वरुपको अधिनायकवाद विरुद्ध संघर्षमा उभिने चेतावनी दिएको छ ।
आफ्नो कदमविरुद्ध उठेका स्वर र समुदाय हरेकलाई होच्याउने र अपमान गर्ने काम प्रधानमन्त्रीले गरेको कांग्रेसको आरोप छ । विज्ञप्तिमा फरक मत राख्न, आफ्नो विचार र विरोध प्रकट गर्न संविधानले प्रत्याभूत गरेको हकको प्रयोग गर्नु हरकोहिको नैसर्गिक अधिकार भएको उल्लेख गरिएको छ ।
सर्वोच्च अदालतमा भइरहेको बहसलाई ‘तमासा’ को संज्ञा दिएर अदालतको स्वतन्त्र विवेकलाई कुण्ठित गर्ने प्रयत्न भएको पनि कांग्रेसले जनाएको छ । सम्मानित र पाका अधिवक्ताको अपमान सम्पूर्ण ज्येष्ठ नागरिक अनि सभ्य समाजकै अपमान भएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
कांग्रेसले आलोचक पत्रकारलाई नर्क जान्छन् भन्नु, प्रेस स्वतन्त्रता विरोधी अभिव्यक्ति र पूर्व प्रधानन्यायाधीशहरुलाई ‘अजासु’ भनेर टिप्पणी गर्नु अभिव्यक्ति स्वतन्त्रता विरुद्धको बर्बराहट भनेको छ । प्रधानमन्त्रीका पछिल्ला कयौं अभिव्यक्तिले प्रधानमन्त्री पदको गरिमालाई धुलिसात बनाउँदै लगेको कांग्रेसको भनाइ छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies