तेजबहादुर बन/मध्यान्ह
सुनसरी : करिब ९ महिनाको बन्दाबन्दी(लकडाउन) र कोरोना भाइरसको सन्त्रासका कारण ठप्प बनेको पर्यटकीय क्षेत्रहरू अहिले भरिभराउ देखिन थालेका छन् । कोरोना कहर हराउँदै गएपछि जिल्लामा रहेका अधिकांश पर्यटकीय स्थलहरूमा अहिले बनभोज आउने आन्तरिक पर्यटकहरूको घुइँचो लाग्ने गरेको छ ।
सुनसरीको इटहरीस्थित तालतलैयामा गएको शनिबार एकै दिन १२७ समूह बनभोजका लागि आएका थिए । सो क्षेत्रमा एकै दिन ५ लाख सम्मको कारोबार भएको त्यहाँस्थित संरक्षण समितिका अध्यक्ष बीरबहादुर लिम्बुले बताए ।
कोरोना कहरबीच अन्य पर्यटकीय क्षेत्र ठप्प रहँदा तालतलैयाले भौतिक संरचनाहरू निर्माण गरी बाल उद्यानलाई चिटिक्क बनाइ पर्यटकहरूका लागि आकर्षक संरचना निर्माणमा ध्यान दिएको थियो । फलस्वरूप लकडाउनको अन्त्यसँगै शुरु भएको जाडो मौसममा बनभोज आउने पर्यटकहरूको लागि पहिलो रोजाई तालतलैया बन्ने गरेको अध्यक्ष लिम्बुको भनाइ छ ।
त्यस्तै सुनसरीको रामधुनी नगरपालिकास्थित राष्ट्रिय सम्मानित ताल (रास ताल) मा पनि अहिले आन्तरिक पर्यटकहरूको घुँइचो लाग्ने गरेको छ । कोरोना सन्त्रासका कारण फाट्टफुट्ट मात्र पर्यटक भित्रिने रास ताल क्षेत्रमा हाल बनभोज तथा सेल्फि खिच्नकै लागि भनेर मात्रै आन्तरिक पर्यटकहरूको घुँइचो लाग्ने गरेको हो ।
कोरोना कहर र लकडाउन अन्त्य भएसँगै रास तालमा प्रवेश शुल्क र स्पट शुल्क सबै निःशुल्क गरेपछि हाल सो क्षेत्रमा पर्यटकहरूको घँुइचो लागेको उक्त ताल अन्तर्गत संरक्षण समितिका सचिव विकास राईले मध्यान्हलाई बताए । सो क्षेत्रमा गत शनिबार मात्रै १०९ समहू बनभोजको लागि आएको बताइएको छ । प्रवेश शुल्क र स्पट शुल्क नलिएपनि ताल आसपास सञ्चालन गरिएको डुंगाबाट भने रू.३० हजारको कारोबार भएको सचिव राईले बताए ।
विशेष गरी राइहरूको शाकेला , चण्डी नृत्य लगायत हिन्दु संस्कारसँग जोडिएका मौलिक तथा धार्मिक क्षेत्र भएकै कारण पनि रास तालमा आन्तरिक पर्यटकहरूको घुँइचो लाग्ने गरेको सचिव राईको भनाइ छ । सुनसरी सामुदायिक वन उपभोक्ता समूहको क्षेत्रमा पर्ने ६१ हेक्टर क्षेत्रफलमा फैलिएको रास ताललाई राष्ट्रिय विभुतीबाट सम्मानित किरात लिपी प्रवर्द्धक इमानसिंह चेम्जोङ स्मृति प्रतिष्ठानले संरक्षण गर्दै आएको छ । उक्त क्षेत्रको करीब ४४ बिगाहा मात्रै पानीको रमणिय तालले ओगटेको र सोहि तालको अवलोकन गर्नकै लागि भएनि आन्तरिक पर्यटकहरूको घुँइचो लाग्ने गरेको बताइएको छ ।
त्यस्तै रामधुनी नगरपालिका वडा नं.६ मा रहेको शंकरबेली सिमसार क्षेत्रमा पनि हाल आन्तरिक पर्यटकहरूको घुँइचो लाग्ने गरेको पाइएको छ । एक त जाडो मौसम त्यसमा पनि बन भोज आउने समय भएकै कारण यस क्षेत्रमा पनि आन्तरिक पर्यटकहरूको घँुइचो लाग्ने गरेको पाइएको छ ।
यस क्षेत्रमा रहेको काठबाट निर्मित हाउडे पुल, चारैतिर फैलिएको सिमसार र हालै निर्माण गरिएको सेल्फि डाँडाको अवलोकन गर्नकै लागि भएपनि आन्तरिक पर्यटकहरूको घँुइचो लागेको संरक्षण समितिले जनाएको छ । विगतको वर्ष भन्दा यो वर्ष सो क्षेत्रमा पर्यटकहरू कम आएपनि गत शनिबार मात्रै ६७ समूह बन भोजका लागि सो स्थानमा आएका थिए ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies