नेपालमा कोभिडको संक्रमण देखिएको वर्ष दिन पूरा भएको छ । चीनबाट स्वदेश फर्किएका विद्यार्थीलाई नेपालमा पहिलो पटक संक्रमण पुष्टि भएको थियो । हङकङको ल्याबमा लगेर उनको स्वाब परीक्षण गरिएको थियो । उनमा संक्रमण पुष्टि भएपछि नेपालमा महामारीको भय बढ्यो । चैत ११ गतेदेखि त १२० दिन लामो लकडाउन र त्यसपछि पनि लामै समय निषेधाज्ञा भयो । यसले मुलुकमा मानवीय, आर्थिक, सामाजिक, शैक्षिक लगायत क्षेत्र अस्तव्यस्त बन्यो । साउनसम्म आइपुग्दा संक्रमणको दर उच्च देखियो । अहिले संक्रमण कम देखिए पनि संक्रमित संख्या बढिरहेकै छ । यो वर्षदिन पुग्दा भारतले अनुदानमा दिएको दश लाख खोप बल्ल वितरण शुरु भएको छ । तर, ढुक्क हुने अवस्था छैन ।
यो वर्षदिनमा दुई लाख ७० हजारमा संक्रमण पुष्टि भएको छ । त्यस मध्ये दुई हजार १७ जनाको मृत्यु भइसकेको छ । अझै तीन हजार २५२ संक्रमित उपचारत छन् । सरकारले यो वर्षभरमा २० लाख ५२ हजारमा पीसीआर परीक्षण गरेको छ । विश्वभर अहिलेसम्म दश करोडमा संक्रमण पुष्टि भएको छ । २१ लाख ५१ हजार बढीको त संक्रमणबाट मृत्यु भएको छ । त्यस मध्ये अमेरिकामा सवैभन्दा बढी दुई करोड ५८ लाख बढी संक्रमित भए भने दोस्रोमा छिमेकी भारतमा एक करोड ६ लाखमा संक्रमण पुष्टि भयो । कोरोना महामारी शुरु भएको चीनले भने सफलतापूर्वक नियन्त्रणमा लियो । संक्रमण महामारी भन्ने थाहा हुँदा ८० हजार बढीमा संक्रमण भइसकेको चीनमा अहिलेसम्म ८९ हजारमा संक्रमण पुष्टि भएको छ । यसको अर्थ चीनको व्यवस्थापकीय क्षमता अद्भूत देखियो ।
तर, नेपालले भने बिडम्बना यसपटक सरकारको लाचारी मात्रै नभएर असंवैधानिक बाटो नै तय गर्दा संक्रमणको भयसँगै राजनीतिक र असंवैधानिक संकट गहिरिएको छ । छिमेकी देशले दिएको अनुदानको खोपलाई नै सरकारले सफलता सोचिरहेको छ । चैतमा लकडाउन गरेर केपी ओली नेतृत्व सरकार भने एकपछि अर्को असंवैधानिक र निरङ्कुश बाटो तर्फ उन्मुख भइरह्यो । नागरिकको सास्ती बीच मुलुकमा अस्थिरताको बिजरोपण गर्ने कार्यमा सरकार उद्दत देखियो । अहिले असंवैधानिक कदम विरुद्ध पुरै देश आन्दोलित हुने अवस्था बनेको छ भने त्यसको काउण्टरमा ओली पनि उत्रिएका छन् । अर्थात्, महामारीको यो वर्ष नेपाली जनताले एकपछि अर्को संकटको सामना गर्नुपर्यो । समग्रमा निन्दनीय संकट सामनामै वर्ष दिन बितेको छ, जसलाई सच्याउन एकपटक नागरिक सडकमा देखिएका छन् ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies