रामहरि रिमाल/मध्यान्ह
नुवाकोट : कोरोना भाइरस (कोभिड १९) विरुद्धको खोप अभियान नुवाकोट जिल्लामा पनि शुरु भएको छ । जिल्ला अस्पताल त्रिशूलीमा जिल्ला समन्वय समिति नुवाकोटका प्रमुख सन्तमान तामाङले स्वास्थ्यकर्मीहरुलाई खोप हस्तान्तरण गर्दै अभियानको शुरुवात गरेका हुन् ।
जिल्ला समन्वय समिति नुवाकोटका प्रमुख तामाङले जिल्ला अस्पताल त्रिशुलीका मेडिकल सुपरिटेण्डेन्ट डा दिपेन्द्र पाण्डेलाई खोपको पहिलो डोज हस्तान्तरण गरेर अभियान शुरु गरेका हुन् । कार्यक्रममा जिल्ला समन्वय समिति नुवाकोटका प्रमुख सन्तमान तामाङले पुरै विश्व नै कोरोनाको त्रासले बाँचिरहेको अवस्थामा कोरोनाविरुद्धको खोप लगाउन पाउनु गौरवको कुरा भएको बताए । उनले सबैको अथक प्रयासपछि जनतालाई कोरोनाविरुद्धको लडाइँ जिताउन शुरु गरिएको पनि बताए ।
कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यालय नुवाकोटका प्रमुख सागर घिमिरेले जिल्लामा पहिलो चरणमा २ हजार ४ सय २ जनालाई खोप लगाइने जानकारी दिए । उनले सरकारको निर्णय अनुसार पहिलो चरणमा स्वास्थ्यकर्मी, एम्बुलेन्स चालक, महिला स्वास्थ्य स्वयंसेविका, सरसफाईकर्मी र कोरोना संक्रमणबाट मृत्यु भएकाको शव व्यवस्थापन गर्नेलाई दिइने बताए । घिमिरेले नुवाकोटको त्रिशुली र तादी गाउँपालिकाको खरानीटार अस्पतालबाट कोरोनाविरुद्धको खोप लगाउन शुरु गरिएको बताए ।
यस्तै, जिल्लामै पहिलो खोप लगाएका त्रिशुली अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा दिपेन्द्र पाण्डेले कोरोनाविरुद्धको खोपको आफूहरुले लामो समयदेखिको प्रतीक्षा गरिरहेको अवस्थामा खोप लगाउन पाउँदा खुशी लागेको बताए । उनले खोपको कुनै पनि असर नदेखिने भन्दै यसलाई निर्धक्क लगाउन सकिने बताए । यस्तै, त्रिशुली अस्पतालका स्त्रीरोग विशेषज्ञ डा मधुकर दाहालले कोरोनाविरुद्धको खोपले कुनै पनि साइडइफेक्ट नदेखाउने भन्दै कुनै समस्या देखिएमा आफूहरु उच्च सतर्कताका साथ समानका लागि तयारी अवस्थामा रहेको बताए ।
कार्यक्रममा विदुर नगरपालिकाका मेयर सञ्जु पण्डितले पछिल्लो समय त्रिशुली अस्पतालले भौतिक र जनशत्तिका क्षेत्रमा व्यापक सुधार गरेको भन्दै खुशी व्यक्त गरे । मेयर पण्डितले सबैको साझा पहलले जिल्ला अस्पताल त्रिशुलीमा अहिले ११ जना विशेषज्ञ डाक्टहरुले सेवा दिइरहेकोले सबैले अस्पताल सुधार्न लाग्नुपर्ने बताए ।
त्यस्तै, बुधबार नै त्रिशुली अस्पतालमा टोकन सिस्टम लागू गरिएको छ । नुवाकोट जीसस प्रमुख सन्तमान तामाङ र बिदुर नगरपालिकाका मेयर सञ्जु पण्डितले संयुक्त रुपमा रिबन काटेर टोकन प्रणालीको उद्घाटन गरेका हुन् । नुवाकोट, रसुवा र धादिङका सेवाग्राहीहरुको धेरै भिड लाग्ने भएपछि अस्पतालमा टोकन सिस्टम लागू गरिएको हो । टोकन सिस्टम लागू भएसँगै सेवा प्रवाहमा सहजता आउने अस्पताल प्रशासनले जानकारी दिएको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies