-चुपबहादुर थापा
नेपाली राजनीतिमा जे नहुनुपर्ने हो, त्यो भइरहेको छ । नदेखिनुपर्ने दृश्य देखिरहेका छन् । धेरैको मन अमिलो भइरहेको छ । नेपाल कम्यूनिष्ट पार्टी भित्रको आन्तरिक झगडाले सिङ्गो मुलुक खल्बल्याएको छ । पाँच दशक भन्दा बढी समय एउटै छातामुनि गोलबद्ध भएका सहपाठीहरु बीचको मन फाटेको छ । आफूू सकिएर भएपनि अर्कोलाई सक्ने प्रतिस्पर्धामा कम्मर कसेर लागेको देखिन्छ । आखिर यो सब के का लागि ?
नेकपा भित्रको झगडा साँढेको जुधाई बाछाको मिचाइ जस्तो भएको छ । नेताहरुको पद लोलुपता र व्यक्तिगत पारिवारीक स्वार्थको कारण आम नेपाली जनताको खुशी र समृद्धिमा कालो बादलले ढाकेको छ । सिङ्गो मुलुक विभाजित अवस्थामा छ । स्थानीय सरकारका पदाधिकारीहरु विभाजित छन् । प्रदेश सरकारका सांसदहरु विभाजित छन् । गाँउघर र समाज विभाजित छ । परिवार भित्र विभाजन आएको छ । देश अशान्ति र आन्तरिक विवादमा फसेको छ । आखिर यो सब किन र कसको लागि ?
आज लाखौको संख्यामा जनताहरु दिन प्रतिदिन आन्दोलनमा होमिएको देखिन्छ । के यसले आम नेपाली र राष्ट्रको हित गर्छ ? प्रमुख पदमा विराजमान नेताहरुको पद लोलुपता, पारिवारीक र गुटगत स्वार्थबाट सुरु भएको झगडाले आज देश भर अशान्ति र विभाजन ल्याएको छ । द्वन्द्व हुनु आफूैंमा नौलोे होइन । तर द्वन्द्वलाई सही किसिमबाट रुपान्तरण गर्न सकिएन भने चाँही त्यसबाट विनाश हुन सक्छ । सही तरीकाले रुपान्तरण गर्ने हो भने द्वन्द्वबाट प्राप्त उर्जाले देश र जनताको भलाई नै गर्ने छ ।
उदारहणको लागि सलाईको काँटी र बट्टा वीचमा द्वन्द्व हुँदा आगोको ज्वाला निस्कन्छ । त्यो ज्वाला राम्रो कि नराम्रो भन्ने कुरा त्यसको प्रयोगमा भर पर्दछ । यदि गलत तरीकाले प्रयोग ग¥यो भने त्यसले संसार ध्वस्त पार्दछ । सहि तरीकाले उर्जाको रुपमा प्रयोग ग¥यो भने संसार निर्माण गर्दछ । त्यसैगरी द्वन्द्वलाई सही तरीकाले सम्बोधन गर्न सकिएको खण्डमा त्यसले संसार बदल्न सक्दछ ।
हाल नेकपा भित्रको आपसी द्वन्द्वबाट एक किसिमको उर्जा निस्किएको देखिन्छ । सिंङ्गो देश तातेको छ । गाँउ समाज तातेको छ । यो अवस्थालाई हरेक तह र संरचनामा आपसी संवादको माध्यमबाट फाटेका मनहरु सिलाई सम्बन्ध दरो बनाउँदै विवाद रुपान्तरण गर्न सकेको खण्डमा अवको केही दशक मजवुत रुपमा नेकपा एक भएर देश र जनताको लागि काम गर्न सक्छ । त्यसो नभएर यो उर्जा एक अर्कोलाई सक्ने खेलमा लाग्ने हो भने यसले नेकपा पार्टी आफू त सकिन्छ नै, सङ्गै देश र जनताको लागि समेत ठूलो क्षति हुनेछ ।
नेकपाल भित्रको अहिलेको अवस्थालाई हेर्दा प्राध्यापक जोन पल लेडरेकले द्वन्द्व रुपान्तरणको तालिमको क्रममा सुनाउनु भएको एउटा कथाको याद आयो । कथा यस्तो छ,
एकादेशमा एक जना राजा हुन्छन् । उनी आफ्नो देशका सबै जनतामा खुशी, अमन चयन र शान्ति होस भन्ने चाहन्छन् ।
एक दिन राजाकोमा सूचना पुग्छ कि एउटा घरका दुई दाजु भाई आपसी अंश वण्डाको कुरा नमिलेर पानी बाराबार र मारामारको अवस्थामा पुगेका छन् । उक्त खबर थाहा पाउन साथ राजाले दुवै दाजुभाईलाई दरवारमा बोलाउँछन् र झगडाको कारण सोध्छन् ।
झगडाको कारण थाहा पाएपछि राजाले दुवैलाई सामुन्ने राखेर भन्छन् तिमीहरुले जे माग्छौ त्यो म दिन्छु । आजबाट झगडा नगर । तर एउटा सर्तमा दिन्छु । दुवैको माग्ने पालो आउँछ । पहिलोले जे माग्छौ त्यो तिमीले पाँउछौ अनि त्यसको ठिक दोब्बर अर्काेलाई दिन्छु । फेरि अर्कोको पनि माग्ने पालो पाँउछ । उसले मागेपछि मागेजति उसलाई दिन्छु अनि फेरि त्यसको दोब्बर अर्को भाइलाई दिन्छु ।
राजाको यो कुरा सुनिसकेपछि दुवै भाइ एकछिन अकमक्क पर्छन् । केही समय पछि दाजुले सोध्छन्, महाराज मैले जे माग्छु त्यो मैले पाएपछि मेरो भाईले त्यसको दोव्वर पाउने हो ? महाराजले हो भनेपछि उसो हो भने मेरो एउटा खुट्टा काटिदिनुहोस् । त्यसपछि महाराजले उसको एउटा खुट्टा काटिदिन्छन् र दोव्वर पाउने नियम अनुसार भाइको दुवै खुट्टा काटिन्छ ।
अब भाइको माग्ने पालो आउँछ । उसले पनि महाराज मेरो एउटा आँखा फोरीदिनुहोस् भन्छन् । माग बमोजिम उसको एउटा आँखा फोरिन्छ र दाजुको दुवै आँखा फोरिन्छ । यहाँ राजाले त दुवै दाजुभाइले सम्पत्ति माग्लान् र खुशी भएर फर्कलान् भन्ने सोचका थिए । तर अवस्था ठिक विपरित भयो । दुवै दाजुभाइको आपसी झगडाको कारण आफू सकिएर अर्कोलाई सक्काउने धन्दामा लागे र दुवै अपाङ्ग भए ।
म यहाँनिर नेकपाका दुवै पक्षलाई प्रश्न गर्न चाहन्छु कि आज केन्द्रदेखि गाँउसम्मका कार्यकर्ताहरुका वीचमा कतै यही प्रतिस्पर्धा त चलेको छैन ? सामाजिक सञ्जाल अनि भेला बैठक र चौतारीमा हुने कुराकानी सुन्दा यस्तै आभाष हुन्छ ।
के तपाईहरु ती दुई दाजुभाई जस्तै अपाङ्ग हुन चाहनुहुन्छ ? दुवै दाजुभाइले आफूलाई आवश्यक पर्ने घर, गाडि, धन सम्पत्ति मागेको भए आफूले पनि पाँउथे अनि अर्कोले पनि पाउँथ्यो र दुवै जीवनभर आनन्दसँग जीवन सक्थे । खोइ तिनको बुद्धिले काम गरेको ?
तसर्थ नेकपा भित्रका दुवै पक्षका नेता कार्यकर्ताहरुलाई मेरो जिज्ञासा छ कि तपाईहरु आफू सकिएरै भएपनि अर्कोलाई सक्ने अत्यन्तै घातक खेलमा किन लागिरहनु भएको छ ? अरुलाई हराएर आफू जित्ने खेल बन्दा गर्नुहोस् । साँच्चै देश र जनताको लागि राजनीति गर्नु भएको हो भने अरुलाई जिताएर आफू जित्ने खेल तर्फ लाग्नुहोस् । ती दाजुभाइले अर्कोलाई जिताएर आफू जित्न सक्ने अवसर थियो नि । आफूले सिंगल पाएर अर्कोलाई डबल दिलाउने अवसर त्यहाँ थियो । तर त्यहाँ घातक बाटो रोजियो । जसरी ऐले नेकपा भित्र देखिएको छ ।
समृद्ध नेपाल र सुखी नेपाली भन्ने लोकप्रिय नारालाई सफलिभुत पार्ने हो भने अब अरुलाई जिताएर आफू जित्ने संस्कार हरेक घर परिवार, समाज र यो देशमा स्थापित गर्नु जरुरी छ । यसका लागि आम नेपाली जनता र दलहरुका कार्यकर्ताहरु सचेत भएर लाग्नु पर्दछ । नेकपाका केन्द्रिय तहका शीर्ष नेता भित्रको यो झगडा साम्य पार्नको लागि कार्यकर्ताहरु बुद्धिमत्तापूर्वक लाग्नुपर्नेमा यहाँ त एक अर्कोलाई कसरी सक्ने भन्ने ध्रुविकरण तल सम्म पुगेको छ । यो कदापी देश र जनताको हितमा छैन । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको लागि पनि यो हितकर छैन । किनकी प्रतिस्पर्धि कमजोर भयो भने खेलमा मज्जा आउँदैन । जसरी ब्राजिल र नेपाल वीचको फुटबल खेल हेर्न कुनै मज्जा आँउदैन । हुन त नेपाली कांग्रेस भित्र पनि आपसी मतभेदहरु त्यतिकै छन् । नेपाली कांग्रेस पनि बेलैमा सचेत भएर नेकपाबाट पाठ सिकेर एक ढिक्का भएर अघि बढ्नु जरुरी छ । अन्य दलहरुमा पनि यो जरुरी छ ।
नेकपा भित्रको हालको अवस्थामा देखिएको द्वन्द्वलाई दिगो रुपमा रुपान्तरण गर्न जरुरी छ । यसको लागि दुवै पक्ष भित्रबाट पार्टी एकता चाहने दुरदर्शी नेताहरुको एउटा टीम गठन गर्नु जरुरी छ । उक्त टीमले आफूै वा मेलमिलापकर्ताको सहयोग लिएर संवादको थालनी गर्नु जरुरी छ । जे जति विग्रीयो यो भन्दा थप विग्रन नदिनको लागि पहल कदमी गर्न ढिला गर्न हुन्न । विभाजनको वीउ गाँउसम्म पुग्न लागिसकेकोले अव जिल्ला र गाँउ तहका कार्यकर्ताहरुका वीच आपसी संवादको माध्यमबाट एकता गर्दै माथिल्लो तहका नेताहरुलाई समेत दवाव सृजना गर्नु आवश्यक छ । नेताहरुका वीचको घोचपेच र आरोप प्रत्यारोप अनि आपसमा सिध्याउने खेल अन्त गरी विगतका सम्वन्धहरु, सँगै मिलेर पार्टीलाई यहाँसम्म ल्याउँदाका राम्रा क्षणहरुको समिक्षा हुनु जरुरी छ ।
अहिले सम्मको विवादबाट निस्किएको उर्जालाई पार्टी निर्माण र संगठन सुदृढिकरणमा उपयोग गर्न सक्नुपर्दछ । जे जति आन्दोलन र संघर्ष भएतापनि अन्तमा आपसी संवाद नै सबैभन्दा उत्तम उपाय हो । त्यसैले आपसी संवादको सियोले सिएर विश्वासको धागोले टाँका लगाउन सकेको खण्डमा ठुलो दुर्घटना तर्फ द्रुत गतिमा दौडिएको नेकपामा ब्रेक लाग्न सक्दछ र पुन संगठित भई देश र जनताको सुखको खातिर लाग्न सक्दछ । नेकपाको आम कार्यकर्ता र शुभचिन्तकको खुशी पुनरवहाली हुन सक्दछ ।
अब, नेकपाका कार्यकर्ताहरु आपसमा जतिसक्दो खुइल्याउने प्रतिस्पर्धा छोडी आपसी सम्वन्धका सम्भावनाहरुको खोजी गर्नुहोस । हतारमा गल्ती गरेर फुर्सतमा पछुताउने बाटो छोड्नुहोस । यदि हाल तपाइहरुमा देखिएको उर्जा विनाशकै बाटोमा लागिरह्यो भने तपाइँहरु केही दशक सम्म पछुताउनु बाहेक केही हाता लाग्ने वाला छैन ।
देश र जनताको खुशी र सम्वृद्धिको लागि राजनीति प्रमूख कुरा भएकोले जनताले विश्वास गरेका हरेक दलहरु भित्रका आपसी मतभेदहरुलाई संवादबाट समाधान गरी एक ढिक्का भएर लाग्नु नै आजको आवश्यक्ता हो । विकास र सम्वृद्धिको लागि फरक दल समेत हातेमालो गरेर हिड्नुपर्ने अवस्थामा एउटै दलभित्रको रडाको कदापी राम्रो हुने छैन । त्यसैले सबै दलहरु सक्षम र सवल भएको खण्डमा नै देश र जनताको लागि हित हुनेछ ।
हाल नेकपाका नेता कार्यकर्ताले यस विषयमा बढी सजग हुनु पर्ने देखिन्छ । विगतमा सँगै हात मिलाएर हिँडको सहकर्मीहरुको उछिटो काट्ने काम बन्द गरी एकताको संभावनाहरु खोज्नमा परिश्रम लगाउनुहोस् भन्ने यो शान्ति अभियन्ताको अनुरोध छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies