गएको २ माघदेखि लगातार बहस गर्दै मंगलबार साँझ सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनस्र्थापना गरेको छ । केही ढिलो फैसला आउनसक्ने आँकलन भइरहेका बेला प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले मंगलबार साँझ नै संसद् भंग गर्ने निर्णय बदर गर्ने फैसला सुनाए । संसद् पुनस्र्थापनासँगै देशभर दीपावली गरिएको छ । संविधानमै नभएको अधिकार प्रयोग गरी संसद् भंग गर्ने प्रधानमन्त्री केपी ओली समूह बाहेक सवै राजनीतिक दल, नागरिक समाज, पेशाकर्मी र आमसर्वसाधरणले सर्वोच्चको फैसालप्रति खुशीयाली मनाएका छन् । संसद् पुनस्र्थापनाको माग सहित लगातार दुई महिनादेखि आन्दोलनरत नेकपा प्रचण्ड–माधव समूहका नेता तथा कार्यकर्ताले सडकमै उत्रिएर खुशीयाली मनाएका छन् । विपक्षी दलहरु नेपाली काँग्रेस र जनता समाजवादी पार्टी (जसपा) का कार्यकर्ताहरुले पनि मैन बोलेर संसद् पुनस्र्थापनाको स्वागत गरेका छन् ।
सर्वोच्च अदालतप्रति आशंका गर्दै आएका पूर्वप्रधानमन्त्रीहरु पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले त मिठाइ नै खाएका छन् । नागरिक समाजले बक्तव्य मार्फत् संसद् पुनस्र्थापनाको स्वागत गरेको छ । दीपावली मनाउने र सर्वोच्चको फैसलालाई स्वागत गर्नेहरुको लगभग साझा निष्कर्ष छ– संसद् पुनस्र्थापनासँगै संविधान, लोकतान्त्रिक गणतन्त्र र मुलुक समेत जोगिएको छ । सर्वोच्चको फैसलालाई ऐतिहासिक फैसलाको सम्मान गरिएको छ । हुन पनि सात दशक लामो राजनीतिक संघर्षबाट गठित संविधानसभाबाट जारी भएको संविधान नै कुल्चिएर ओलीले प्रतिगामी कदम चालेका थिए । मुलुक राजनीतिक अस्थिरताबाट कहिल्यै मुक्त हुन नसक्दा जनताका अधिकार पटक–पटक खोसिएकाले वर्तमान संविधानमा प्रधानमन्त्रीलाई संसद् भंग गर्ने अधिकार दिइएको थिएन ।
तर, नेकपाको आन्तरिक कलहलाई कारण देखाएर ओलीले संसद् विघटन गरेका थिए । संसद् विघटनलाई यदि, सर्वोच्चले सदर गरिदिएका थिए भने कहिल्यै पनि मुलुकमा राजनीतिक स्थिरता हुने थिएन । सँगै, प्राप्त राजनैतिक तथा नागरिक अधिकार खोसिने र मुलुकमा निरंकुशता हाबी हुने नजीर स्थापित भएर जाने थियो । सर्वोच्चको फैसलासँगै अब कुनैपनि प्रधानमन्त्रीले सनकको भरमा संसद् भंग गर्ने हिम्मत गर्ने छैनन् । बरु, संसदीय लोकतन्त्र बलियो बनाउनेगरी आमविश्वास जितेर अगाडि बढ्ने बाटो रोज्नेछन् । हजारौं शहीद, घाइते र बेपत्ताहरुको सपना अनि दशकौं लामो संघर्षको जगमा बनेको संविधान मुताविक मुलुक अगाडि बढ्ने आधार स्थापित गर्नुको विकल्प रहनेछैन । अतः सर्वोच्च अदालतको संवैधानिक फैसला प्रशंसनीय छ । स्वागत छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies