तेजबहादुर बन/मध्यान्ह
इटहरी । पटक–पटक राजमार्ग सुधारका उपायहरू लागू गराउन आवश्यक पहल गर्दा पनि सम्बन्धित सरोकारवालाहरूले चासो नराखेपछि निर्माणधिन रानी–विराटनगर, इटहरी–धरान ६ लेन राजमार्ग अन्तरगत इटहरीमा दिनहुँ स्थानीय व्यवसायीहरूले आन्दोलन गर्न थालेका छन् ।
निर्माणको पहिलो चरण देखि नै बिवादमा आएको ६ लेन राजमार्ग इटहरीमा आइपुग्दा धरानलाइनले निरन्तरता पाइरहेको छ भने विराटनगर लाइनमा निर्माण अवरूद्ध हँुदै आएको छ । समयमै राजमार्ग टुंगोमा नपुग्दा दैनिक व्यवसायीहरू धुँवा र धुँलोको सिकार बनिरहेको भन्दै इटहरीमा दैनिक आन्दोलन शुरू भएको हो ।
धुँवा र धुँलोको कारण स्थानीयको स्वास्थ्यमा नकारात्मक असर पर्नुका साथै व्यवसायीहरू प्रत्यक्ष मर्कामा परेको भन्दै कोशी राजमार्ग अन्तरगत विराटनगर सडक अहिले दैनिक जसो २ घण्टासम्म चक्कामा हुने गरेको छ । धुँलोकै कारण जनजीवन अस्तब्यस्त बनेको भन्दै मंगलबार पनि व्यवसायीहरूले १ घण्टा चक्काजाम गरेका थिए ।
स्थानीय सरकारको रूपमा रहेको इटहरी उपमहानगरले पनि नियमित पानी नहालेको भन्दै विराटनगर लाइनका व्यवसायीहरूले दैनिक चक्काजाम गर्ने गरेका छन् । दैनिक धुँलोका कारण आफुहरू समस्यामा परेको कुरा सम्बन्धित सरोकारवालाहरूलाई राख्दा पनि चासो नदेखाएपछि बाध्य भएर यसरी राजमार्ग नै अवरूद्ध बनाउनुपरेको इटहरीका व्यवसायी ध्रुव अधिकारी बताउँछन् । उनले आफुहरूको समस्यामा स्थानीय सरकार बेखबर, सडक परियोजनाको कार्यालयले वेवास्था गरेको कारण सडकमा आउनुपरेको बताए ।
राजमार्गलाई समयमै निर्माण सम्पन्न नगराए तथा राखिएका मागहरूप्रति गम्भिर नभए यो भन्दा कडा संघर्ष गरेर देखाउने व्यवसायीहरूले चेतावनी दिँदै आएका छन् ।
यता स्थानीयकै अवरोधका कारण विराटनगर सडकमा एक पक्षमात्रै राजमार्ग निर्माण भइरहेको परियोजनाको कार्यालय इटहरीले बताएको छ ।
सडक क्षेत्रको संरचना तथा भवनहरू भत्काउँदा उचित मुआब्जा दिनुपर्ने उच्च अदालतको फैसलापछि इटहरीको विराटनगर लाइनमा अहिलेपनि एक पट्टि मात्रै सडक निर्माण भइरहेको सो परियोजनाले जनाएको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies