वीरगन्ज : कानून बमोजिम उमेर नपुगी विवाह (बाल विवाह) गरेको कसुरमा पर्सा प्रहरीले बेहुला र बेहुलीसहित तीनजनालाई पक्राउ गरेको छ । पर्साको वीरगन्ज महानगरपालिका-१६ लक्ष्मीनारायण टोलकी १७ वर्षया किशोरीको उमेर नपुगी विवाह गरेको आरोपमा प्रहरीले बेहुली, बेहुला र बेहुलाको बुवा समेत गरी तीनजनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा वीरगन्ज महानगरपालिका-१६ घर भएकी १८ वर्षीय बेहुली, वीरगन्ज-१६ कै बेहुला १९ वर्षीय गुड्डु सर्राफ र बेहुलाका बुवा ४६ वर्षीय कृष्ण सर्राफ छन् । १८ वर्षकी किशोरी र १९ वर्षीय किशोरले कानून विपरित विवाह (बाल विवाह) गरेको भन्ने सूचनाको आधारमा खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । उनीहरुले स्थानीय भुटनदेवी मन्दिरमा गइ गत माघ १९ गते विवाह गरेका थिए ।
प्रहरीले विवाह भएको करिब एक महिना पछि ३ जनालाई शनिबार (फागुन १५ गते) पक्राउ गरेको हो । पक्राउ परेका तीनै जनाविरुद्ध बाल विवाह गरेको कसुरमा मुद्दा चलाउन जिल्ला अदालत पर्साबाट ७ दिनको म्याद लिएर अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता डीएसपी ओमप्रकाश खनालले जानकारी दिए ।
मुलुकी देवानी संहिता २०७४ अनुसार महिला वा पुरुषको उमेर २० वर्ष नपुगी विवाह गर्न पाइँदैन । संहिताको दफा ७० को उपदफा (१) को देहाय (घ) मा २० वर्ष उमेर पुगेका महिला र पुरुषबीच विवाह हुनसक्ने व्यवस्था गरिएको छ ।
पर्सामा अन्य व्यक्तिले समेत कानूनअनुसार तोकिएको उमेर नपुग्दै विवाह गर्ने गराउने गरेको समेत प्रहरीले जानकारी दिएको छ । अभिभावककै चाहना र दवावमा यस्ता विवाह हुने गरेकाले यस्ता बाल विवाह गर्न लागेको वा गरिरहेको वा गरेको जानकारी पाउने व्यक्तिले तत्काल खबर गर्न पनि पर्सा प्रहरीले सबैलाई अनुरोध गरेको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies