राजनीतिक संकट बढेसँगै नेपालमा राष्ट्रवादी बन्ने होड नै चलेको छ । एकले अर्कालाई नेपालको अहित र विदेशीको पक्षमा उभिएको आरोप लगाउने गरिदै आएको छ । एक अन्तर्वार्ताका क्रममा पुष्पकमल दाहाल प्रचण्डलाई मुलुकको सरकार निर्माणमा विदेशीको सहजताबारे अभिव्यक्ति दिएको आरोप लागेको छ । प्रचण्डले नेकपा प्रचण्ड र माधव समूह, नेपाली काँग्रेस र जनता समाजवादी पार्टीको संयुक्त सरकार बन्दा छिमेकी मुलुकहरुलाई पनि कम्फर्ट हुने अभिव्यक्ति दिएका थिए । दुई छिमेकी भारत र चीनलाई नेपालमा संयुक्त सरकार बन्दा नै कम्फर्ट हुने बताएका थिए । तर, चीन र छिमेकी मुलुकहरु भन्ने शब्द हटाएर भारतको कम्फर्ट सरकार बन्ने अभिव्यक्तिलाई भाइरल बनाउने प्रयास गरिएको छ । यही अभिव्यक्तिलाई लिएर विभाजित नेकपाका दुई समूहका नेता तथा कार्यकर्ता सामाजिक सञ्जालमा उत्रिएका छन् ।
यसअघि प्रधानमन्त्री केपी ओलीलाई छिमेकी मुलुक भारतसँग मर्यादा भुलेर सम्वाद र भेटवार्ता गरेको आरोप लागेको थियो । ओलीले भारतका खुफिया एजेन्सी रअका प्रमुख सामन्तकुमार गोयलसँग मध्यरातमा भेटवार्ता गरेर भारतलाई चलखेलको निम्तो दिएको आरोप लगाइएको थियो । तर, ओलीले भने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको दूतका रुपमा गोयल आएकाले उनीसँगको भेटवार्तालाई आशंकाले हेरिन नहुने आशंका गर्दै आग्रह गर्दै आएका थिए । यसपछि भारतीय विदेश सचिवको नेपाल भ्रमण, नेपालका परियोजना भारतलाई दिने लगायत निर्णयमा ओलीको आलोचना भएको थियो । अझ अमेरिकी सहायता परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सँग जोडेर ओलीको चर्को आलोचना भइरहेको छ । ओलीले एमसीसी पारित गराउनकै लागि नेकपा विभाजन देखि संसद् विघटनसम्म गरेको इतर समूहका नेताहरुले बताउने गरेका छन् ।
यसोत नेपालको आन्तरिक मामलामा भारतीय चासो, सक्रियता र आशंका नौलो होइन । राणाशासन विरोध आन्दोलन, पञ्चायत विरोधी आन्दोलन र राजतन्त्र अन्त्य गर्ने २०६३ सालको निर्णायक आन्दोलनमा पनि भारत संलग्न रहेको भन्दै विभिन्न दृष्टिकोणले व्याख्या हुने गरेको छ । अहिले फेरि दुई वर्ष कार्यकाल बाँकी रहँदै संसद् भंग गर्ने ओलीको कदम पछि एकाएक नेपालमा राष्ट्रवादी होड चलेको छ भने छिमेकी रिझाउने अभिप्राय सहितका अभिव्यक्ति र गतिविधि रोकिएको छैन । यसले मुलुकको सार्वभौमता मात्रै नभएर राजनीति अस्थिरता समेत बढ्ने र राजनीतिप्रति नागरिकमा बितृष्ण जाग्ने देखिन्छ । जसतर्फ बेलैमा सचेत रहनु र यस्तो गम्भीर विषयमा हल्का टिप्पणी नगर्नु नै मुलुकको हितमा हुने देखिन्छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies