“सम्पूर्ण रुपले ममाथि प्रहार भएको छ, अत्यन्तै तीव्र रुपमा भएको छ । शारीरिक हमला नै भयो र ज्यान तलमाथि भयो भने पनि अनौठो नमान्नुहोला ।” यो अभिव्यक्ति देशकै कार्यकारी प्रमुखको हो । सोमवार पोखरा पुगेका प्रधानमन्त्री केपी ओली यतिमै मात्र सीमित रहेनन् । “म रहिन भने पनि केही छैन, पार्टी छ । आन्दोलन छ । देश बनाउने पार्टीको भविष्य अन्धकारमा लैजाने हुँदैन”, प्रधानमन्त्री ओलीले थपे । प्रधानमन्त्रीको यस्तो अभिव्यक्तिलाई बडो चासोका साथ हेरियो÷पढियो । तर, अभिव्यक्तिको आसयबारे भने ओलीले यी सवै कुराले केही नहुने निचोड सुनाए । “हरेक परिस्थितिको सपना हुन्छ”, ओलीले भने । कार्यकारी प्रमुखले आफूमाथि शारीरिक हमलाको खतरा औल्याइरहँदा सँगै थिए– गृहमन्त्री रामबहादुर थापा बादल ।
प्रधानमन्त्रीको यो त्रासदीयुक्त अभिव्यक्तिलाई गृहमन्त्री थापाले गम्भीर रुपमा लिए अथवा यो राजनैतिक फन्दा सम्झे । त्यो उनकै कुरा हो । यदि, प्रधानमन्त्रीले तथ्यमा आधारित भएर बोलेका हुन् भने यो सामान्य कुरा हुँदै होइन । देशका कार्यकारी प्रमुखमाथि कसबाट यस्तो कार्यको प्रयास भइरहेको छ । त्यो पत्ता लगाउने मात्रै नभएर नैतिक रुपमा जवाफ दिनुपर्ने पनि गृहमन्त्रीले नै हो । देशको सुरक्षा व्यवस्थाका लागि गरिएको प्रबन्ध, दिइएको जिम्मेवारी र नभएको असफलतालाई ओलीको अभिव्यक्तिले प्रतिविम्वित गर्छ । किनभने, प्रधानमन्त्री नै असुरक्षित रहनु भनेको राज्यको सुरक्षा संयन्त्रको हद तहको असफलता हो । तर, होइन प्रधानमन्त्री ओलीले राजनैतिक रुपमा फन्दा गरेका हुन् भने यो निन्दनीय कार्य हो ।
यदि, यो देशको कार्यकारी प्रमुख नै असुरक्षित हन्छ भने आमनागरिकले सुरक्षाको अनुभूति गर्न सक्दैनन् । प्रधानमन्त्री ओलीको अभिव्यक्तिले आमपंक्तिमा भय सिर्जना गर्छ । त्यसैले यस्ता अभिव्यक्तिलाई हलुका रुपमा लिन हुन्न । राजनीतिक अभिव्यक्ति हो भने त प्रधानमन्त्रीको गैरजिम्मेवारीपनको पराकाष्ठा हो । किनकि गृह प्रशासनको पनि प्रमुख हुन्– प्रधानमन्त्री ओली । हुन त यसअघि पनि नेताहरुले यदाकता यस्ता अभिव्यक्ति दिने गरेका थिए । तर, अहिलेको राजनैतिक संक्रमण र संकटको बेलामा यस्तो अभिव्यक्ति आउनुलाई गम्भीर रुपमा हेरिनुपर्छ । समस्याको जड के हो भन्ने खुट्याएर अगाडि बढ्नुपर्छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies