काठमाडौं : खाडीका विभिन्न देशमा रहेका नेपाली दूतावासहरुले स्वदेश फर्किंदा सुनको भरिया नबन्न वैदेशिक रोजगारीमा रहेका नेपाली कामदारहरुलाई आग्रह गरेको भएपनि सुन तस्करी गर्ने गिरोहले नयाँ शैली अपनाएर कामदारहरुलाई भरिया बनाउन छोडेका छैनन् ।
तस्करहरुले पछिल्ला दिनमा सुन तस्करहरुले परफ्युम, बच्चाको डाईपर, मोबाइलको ब्याट्रीको भित्री भागमा लुकाई स्वदेश फर्किने कामदारलाई बोकाएर नयाँ शैलीमा सुन तस्करी गराइरहेको विमानस्थलस्थित सुरक्षा स्रोतले बतायो ।
केही महिनाअघिसम्म खाडीका मुलुकमा रोजगारी गरी घर फर्किने कामदारहरुलाई केही रकम दिने प्रलोभनमा पारेर सुनको औंठी वा बाला दिएर विमानस्थलमा सम्पर्कमा आउने व्यक्तिलाई दिन भन्दै तस्करी गर्दै आएका छन् । प्रहरीले सानो परिमाणमा हुने सुन तस्करीको तरिका थाहा पाएपछि तस्करहरुले शैली परिवर्तन गरेको उक्त स्रोतले बतायो ।
विमानस्थल प्रहरीले मंसिरयता साढे तीन महिनाको अवधिमा मात्रै नयाँ शैलीमा तस्करी गरी ल्याएइएको चार किलो भन्दा बढी सुन बरामद गरेको बताएको छ । तस्करहरुले सोझा कामदारहरुलाई भरिया बनाएपछि कतारस्थित नेपाली दूतावासले सूचना जारी गर्दै कतारबाट नेपाल फर्किने कामदारहरुलाई नचिनेका व्यक्तिहरुले अनुरोध वा प्रलोभनमा परेर सुन लगायतका बहुमुल्य वस्तुहरुको भरिया बनाउने गरेको भन्दै सचेत रहन आग्रह गरेको थियो । शिक्षा र चेतनाका दृष्टिले कमजोर र न्यून आय भएका कामदारहरु सचेत हुन नसक्दा भरिया भई अनाहकमा जेलसमेत पर्ने गरेका छन् ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies