काठमाडौं । संसद पुनर्स्थापना गर्ने सर्वोच्चको फैसलाले निकास दियो भनिरहँदा देश थप अन्यौंलता तर्फ गएको देखिएको छ । संसदमा सत्ता समिकरणका लागि निकै फोहोरी खालका खेलहरु सुरु हुन थालेको आभाष पछिल्ला गतिविधिले देखिएको छ ।
यस्तोमा निर्णायक अवस्थामा देखिएको नेपाली कांग्रेसको भूमिका के हुुने भन्ने कुरा प्रश्नमा आएको छ । राजनीतिक अन्यौंलताका बीच कांग्रेसको आगामी भूमिकाबारे मध्यान्ह दैनिकले नेपाली कांग्रेसकी नेतृ एवं प्रतिनिधि सभा सदस्य डा. डिला संग्रौला पन्तसँग केहि जिज्ञासा राखेको छ । नेतृ संग्रौलासँग गरिएको छोटो संवादको सम्पादित अंश :
सर्वोच्चको फैसलाले निकास दियो भनेर भनिरहँदा देश थप अन्यौंलतातर्फ गएको देखिन्छ । पछिल्लो राजनीतिक अवस्थालाई कसरी हेर्नुभएको छ ?
संसद विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमलाई हामीले असंवैधानिक, अलोकतान्त्रिक र स्वेच्छाचारी भनेका थियौं । हामीले उहााको कदमलाई अधिनायकावाद तर्फ उन्मुख पनि भनेका थियौं । उक्त कदम खारेज हुनुपर्छ भनेर हामीले आन्दोलन पनि चलायौं । अहिले सर्वोच्च अदालतले उक्त कदम खारेज गरेको छ । जुन निर्णयलाई हामीले स्वागत गरेका छौं ।
हाम्रो बुुझाई, सर्वोच्चको फैसलाले संविधानलाई सहि ट्र्याकमा ल्याएको छ । मुलुकको राजनीति सहि ठाउँमा आएको छ । अब यही बाटोबाट नै राजनीतिक समस्याहरुको समाधान खोजिनुपर्छ । संसद भनेको जनताको थलो हो । यसलाई अन्यौंलता भनेर बुुझ्न मिल्दैन् । हामी सहि ठाउँमा आएका छौं । अब संसदबाट विवादको निकास खोज्नुपर्छ । समाधान खोजिनुपर्छ ।
नेकपा विभाजनसँगै संसदमा कुनै पनि पार्टीसँग बहुमत रहने अवस्था छैन् । सरकार नयाँ समीकरणबाट निर्माण गर्नुुपर्ने अवस्था छ । फेरि राजनीतिक उस्तै फोहोरी ट्र्याकमा गयो भन्ने छ । यसलाई कसरी हेर्नुुभएको छ ?
हामीसँग जे अवस्था छ, त्यहिँबाट नै निकास खोज्ने कुरा हुन्छ । यस्तो अवस्थामा सबै दलहरु जिम्मेवारपूर्णं रुपले अगाडि बढ्नुपर्छ ।
हामीले हिजोको कदमलाई सच्याउन जसरी संघर्ष गर्यौं त्यसरी नै समस्याको निकास दिन सहकार्य गर्नुपर्छ । राजनीतिक दलहरुबीच सहकार्य नभई निकास सम्भव छैन् ।
हामी पार्टीको केन्द्रीय समिति बैठक र संसदीय दलको बैठकमार्फत आगामी कदमबारे निर्णय लिन्छौं । हामी लोकतान्त्रिक ढंगले अगाडि जाने कुरामा प्रतिबद्ध छौं । जनतालाई अधिकार दिलाउने कुरामा हामीले अरुसँग सम्झौता गर्न सक्दैनौं । देशले निकास पाउँछ, अन्यौंलतामा जाँदैन् ।
प्रधानमन्त्री ओलीलाई तानाशाही, निरंकुश, अधिनायकवादी भन्दै कांग्रेस सडकमा निस्किएको थियो । सडक आन्दोलनका क्रममा कांग्रेसले ओलीको विकल्प खोज्नुपर्ने पनि बताएको थियो । अब कांग्रेस कसरी अगाडि बढ्छ ?
यसको विषयमा व्यक्तिविच्छे, नेताविच्छे फरक–फरक धारणा हुनसक्छ । कांग्रेसको संसदीय दलको बैठक छिट्टै हुँदैछ । दलको बैठक लगत्तै हामी केन्द्रीय समिति बैठक पनि बसाल्दै छौं । संसदीय दलको सुुझाबका आधारमा केन्द्रीय समिति बैठकले यसबारे निर्णय गर्छ ।
हामीले जब प्रधानमन्त्रीको कदमलाई अलोकतान्त्रिक, असंवैधानिक र सर्वसत्तावादी भन्यौं भने त्यसैको लागि आन्दोलन गर्ने कांग्रेसले निकास त खोज्नै पर्ला नि !
तपाईँ स्वंय पनि आन्दोलनको नेतृत्व गर्दै विभिन्न ठाउँमा पुुग्नुभएको थियो । तपाईँलाई के लाग्छ, अबको निकास कसरी लिने ?
हो म एक महिनासम्म प्रधानमन्त्रीको कदमविरुद्व सडक संघर्षमा थिएँ । तर, यहाँ व्यक्तिगत विचारले पार्टी अगाडि बढ्ने कुरा हुन्न । मेरो विचारमा हाम्रो पार्टीले जनताको भावनाअनुसार निकास दिनेछ । जसको लागि आन्दोलन गर्यौं, त्यो समस्याको निकासका लागि हामी प्रतिबद्ध हुनैपर्छ ।
जसको कदमका विरुद्वमा हामी सडकमा पुुगेका थियौं, उसको कदम अदालतले सच्याउँदा पनि ऊ सत्तामा टिकिरहेको अवस्था छ । उसँग सामान्य नैतिकता पनि देखिएको छैन् । उसमा निकै सत्ता लिप्सा देखिएको छ । यो अलोकतान्त्रिक सोंचको निकास हामीले दिनैपर्छ । कांग्रेस सधैं समस्यामा निकास दिने पार्टी हो । यसमा कांग्रेसले निकास दिन्छ ।
प्रधानमन्त्री ओली फेरि मेरै नेतृत्वमा सरकार बन्छ भनिरहनुु भएको छ । उहाँले पूूर्णं विश्वासका साथ कांग्रेसले पनि साथ दिने बताईरहनुु भएको छ । उहाँ निकटकाले आफ्नो पक्षमा सांसदहरु प्रत्येक दिन थपिईरहेको बताएका छन् । पछिल्ला गतिविधिले निकै अन्यौंलता थपेको छ । तपाईँको बुुझाई के हो ?
अहिले नेकपाका सांसदहरु बाटाबाटै समातेर लगेको भनेर समाचारहरु आईरहेका छन् । सत्तामा बस्नेले निकै फोहोरी खेल खेल्न खोजेजस्तो देखिएको छ । यसअघि राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश ल्याउँदा पनि रातारात सांसदहरु अपहरण गरिएका थिए । यस्तो अवस्थामा राजनीतिलाई सहि ट्र्याकमा ल्याउन कांग्रेसले भूमिका खेल्छ । गलत तत्वलाई किनारा नलगाई राजनीति सहि ठाउँमा आउँदैन् भन्ने कुरामा हामी स्पष्ट छौं । अहिले हामी प्रतिपक्षमा छ । हाम्रो भूमिका सक्दो शसक्त बनाउने भन्ने हुुन्छ । अहिलेको अवस्थामा देशलाई यत्तिकै बन्धक बनाएर जान मिल्दैन् । हामी निकास खोज्छौं ।
स्पष्ट भनिदिनुस न, कांग्रेस ओली सरकारसँग सहकार्य गरेर जान्छ कि जाँदैन् ?
प्रधानमन्त्री ओलीसँग सहकार्य गर्ने कुरा तत्काल सम्भव छैन् । उहाँको कदम गलत भयो भनेर हामी महिनौंसम्म सडकमा निस्कियौं । फेरि सहकार्य गर्ने कुरा सोंच्न सकिन्न । हिजो पनि हामी संसद पुनर्स्थापना हुनुुपर्छ भनेर स्पष्ट रुपमा आन्दोलनमा थियौं । थप यसबारे दलले निर्णय गर्छ । यहाँ कुनै एक नेताको निर्णय सर्वमान्य हुँदैन् । हामीले भोलीसम्मको अवस्थालाई हेरेर निर्णय लिन्छौं । भोली फेरि जनतामा जाने कुरालाई हामीले ध्यान दिनेछौं । हामी जिम्मेवार बन्नैपर्छ । फोहोरी खेलबाट देशलाई मुुक्त गर्छौं ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies