प्रमुख विपक्षी दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको सक्रियता केही समय यता बढेको छ । राजनीतिक कार्यक्रम सम्बोधन गर्न देश दौडाहा गरिरहेका छन् । राष्ट्रिय राजनीतिमा उनको भूमिकाका कारणले मात्रै नभएर देउवाको अभिव्यक्तिले अझ बढी चर्चा पाइरहेको छ । मुख्यगरी पाँच वर्षे स्थीर सरकारको नेतृत्व गरिरहेको दल नेकपा भित्रको आन्तरिक कलह चुलिदै संसद् विघटनसम्म अवस्था पुग्दा देउवा एकाएक राष्ट्रिय राजनीतिको महत्वपूर्ण पात्र बनेका छन् । त्यसै पनि संसदीय अभ्यास र विधिको शासन चल्ने मुलुकमा प्रमुख विपक्षी दलको भूमिका महत्वपूर्ण हुन्छ– संविधान, व्यवस्था र जनताका समस्या सम्बोधनका क्रममा । सरकारले जनताको आधारभूत समस्या भुल्ने र संविधानबाट डिरेल भएर जाने खतरा हुने भएकाले विपक्षी दलको भूमिका महत्वपूर्ण मानिन्छ ।
तर, देउवाको चर्चा र आलोचनाको पाटो भने यसको ठीक उल्टो छ । देउवाले खेल्नुपर्ने भूमिका विपक्षी दलका नेताको हो । तर, देउवाले अहिले नेकपाभित्रै एक समूह भन्दा पनि लचक भएर सरकारसँग घाँटी जोडेका छन् । विशेषगरी संवैधानिक शक्ति सन्तुलन भत्काउनेगरी अध्यादेश मार्फत् संवैधानिक नियुक्ति गर्ने र असंवैधानिक कदम चालेर प्रधानमनत्री केपी ओलीले संसद् भंग गर्ने कदममा देउवाको अपत्यक्ष सहयोगको कारण उनी आलोचित छन् । अझ देउवाले बुधवार दिएको अभिव्यक्ति भने आपत्तिजनक मात्रै नभएर निन्दनीय नै छ । आम नरसंहारको आरोप पुष्टि भएर जेलजीवन बिताइरहेका आफताब आलमको बचाउमा देउवा बोलेका छन् । २०६४ को निर्वाचनका क्रममा रौतहटमा नरसंहार भएको र त्यसमा संलग्न भएको अभियोगमा आलम जेलजीवन बिताइरहेका छन् । तिनै आलमलाई बचाउने अभिव्यक्ति दिएका छन् । “शेख अफ्ताव जेलमा हुनुहुन्छ, उहाँलाई छुटाउन म आफ्नो तर्फबाट लागिरहन्छ्”, देउवाको भनाइ थियो ।
नरसंहारका अभियुक्तलाई बचाउने र त्यसका लागि लागिरहने प्रतिबद्धता प्रमुख विपक्षी दलका सभापतिले दिनु स्वभाविक कुरा होइन । अझ काँग्रेस जस्तो लोकतन्त्र र संविधानवादमा विश्वास गर्ने दलका सभापतिले यस्तो अभिव्यक्ति दिनु निन्दनीय हो । मुलुकमा शान्ति सुव्यवस्था कायम र गर्न सामाजिक न्यायको प्रत्याभूति दिलाउन पनि देउवाले यो अभिव्यक्ति सच्याउन जरुरी छ । काँग्रेसको लोकतन्त्र प्रतिको निष्ठा र विधिको शासन कायम राख्न पनि यो अभिव्यक्ति निन्दनीय छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies