-नारायण शर्मा
संसद पुनर्बहाली दीपावली
करिब साढे दुुई महिनाको भीषण राजनैतिक तथा संवैधानिक लडाइँपछि केपी ओलीद्वारा विघटन गरिएको संसद सर्वोच्चको आदेशसँगै पुनर्बहाली भयो । पुनर्बहालीको खुशीमा देशैभरि दीपावली पनि गरिए । पुरानै सत्ता, पद, पावर, विधि र व्यवस्थाको बहाली भएकोमा खुशियाली मनाइयो । साथै लड्डु पनि खाइयो अनि खुवाइयो । संक्षिप्तमा भन्नुपर्दा प्रतिगमन उन्मुख नेपाली राजनीतिलाई संसदवादी यथास्थितिमै फर्काउन सकेकोमा ठूलो खुशियाली मनाइएको छ ।
सत्ताको वरिपरि रहेका ठूला–ठूला पार्टी र तिनका नेताहरुमा आएको वैचारिक, राजनीतिक तथा सांस्कृतिक विचलनका कारण मुलुकमा शक्ति केन्द्रको हालिमुहाली गर्ने स्थिति बनेको छ । यो अवस्थामा देशले सहि गति लिन्छ भन्ने आशा, अपेक्षा र विश्वासले मानिसहरुका दिलदिमाग भरिएका छन् । यसक्रममा हाल संसदीय सत्ताका आधारहरु संविधानवाद, संवैधानिक सर्वोच्चता र संसदवादलाई केही हदसम्म संरक्षण, सम्र्बद्धन, सुदृढ र सबल बनाएको भनी अलि बढी नै डङ्का पिटिएको अवस्था हो ।
अहिले आफैँमा असफल र अफाप सिद्ध भैसकेको संसदीय सत्तालाई कसरी सफल बनाउने भन्ने चिन्ताले संसदीय व्यवस्थाका हिमायतीहरु पिरलोमा छन् । योबीचमा तीनै हिमायतीबीच किचलो र लुछाचुँडी पनि बढेको देखिन्छ । यो वातावरणलाई थोरै सङ्लाएर शान्त पार्दै संसदीय व्यवस्थाका सम्बद्र्धन र सुदृढीकरण गर्ने पनि कोशिस भईरहेको छ ।
झुटा आश्वासन र प्रतिगामीहरुको चलखेल
यसदौरानमा परिवर्तनकारी जनतालाई भ्रमपूर्ण विश्वास बढाइएको छ – संसदको पुनस्र्थापनाद्वारा अब प्रतिगमन र प्रतिक्रान्ती रोकिएको छ । उनीहरुलाई आशा र अपेक्षा देखाइएको थियो – अब देशमा अग्रगमनको ढोका खुल्नेछ । राष्ट्रियता, जनतन्त्र र जनजीविकाका जल्दाबल्दा समस्याहरु छिट्टै समाधान हुनेछन् । देशभित्रै गाँस, बास, कपास, शिक्षा, स्वास्थ्य र रोजगारीजस्ता आधारभूत र मौलिक हकको सुनिश्चितता गरिनेछ । राजनीतिक, आर्थिक र सांस्कृतिक अधिकारहरुको समुचित र सुव्यस्थित संरक्षण गरिनेछ । अब देशमा सुशासन, सुव्यवस्था, सुखशान्ति र समृद्धिको आधार खडा हुनेछ । सँगसँगै देशमा दिगो शासन व्यवस्थाको सुुरुवाती भएको छ ।
यस्तै आशा, अपेक्षा र विश्वासरुपी मृगतृष्णामा नेपाली जनतालाई फेरि पनि दिन खोजिएको छ । जुन विश्वास दिलाउने खेलका बीच आन्तरिक तथा बाह्य संसदवादी शक्तिकेन्द्रहरुले आ–आफ्ना कुत्सित स्वार्थहरु पूरा गर्ने दाउपेच र चलखेल पनि गर्दैछन् ।
घोषित रुपमै ‘गोटी’ बने ओली र प्रचण्ड
यसमाथि थप बिडम्बना जनयुद्धको नेतृत्व गरेर आएका माओवादीका सर्वोच्च कमाण्डर प्रचण्डले नेकपाको छँदाखाँदाको सरकार गिराउन मरिहत्ते गरेका छन् । नेकपाका एक नम्बर अध्यक्ष भनिएका प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार टिकाउन संसदमा निकै मूर्खतापूर्ण दुश्साहस गरिरहेका छ । उनका कुकर्महरु वैदेशिक शक्तिकेन्द्रहरुका सुझाब, दवाब, षड्यन्त्र र डिजाइनमा भएका स्पष्ट नै छन् । एमसीसी सम्झौता पास गराएर एकैसाथ अमेरिकी र भारतीय शासक वर्ग खुसी बनाउन उनी लागेका छन् । उनीमाथि हिन्दूवादी मोदीको उक्साहटमा आएर पार्टी नै फोड्ने मूर्खतापूर्ण दुस्साहस गरेको आरोप छ । यता भारतीय स्थायी सरकार (रअ) तथा विपक्षी कांग्रेसको डिजाइनमा प्रचण्ड–माधव समूह लागेको आरोप छ ।
एउटा ज्यादै नै लज्जास्पद कुरा, घोषित प्रतिगामी, प्रतिकृयावादी शक्तिहरुको संरक्षण र सम्बद्र्धन गर्दै प्रधानमन्त्री ओली सत्ता टिकाउने खेलमा लागेका छन् । अमेरिकी र भारतीयहरुलाई ‘कम्र्फटेबल’ हुने गरी तिनका दलाल शक्तिहरुसित मिलेर संयुक्त सरकार बनाउन प्रचण्ड–माधवहरुले खुलेआम आव्हान गरेका छन् । त्यसमाथी थप विचित्र बिडम्बना, यसप्रकारका गतिविधिहरुलाई पनि पार्टीभित्रका क्रान्तिकारी र राष्ट्रवादी भनिएका नेताहरुले तर्क, वितर्क र कुतर्क गरेर पक्षपोषणमा गर्न लागेका छन् । जसप्रति उनीहरुले गर्व र गौरव पनि गरिरहेका छन् । सत्ता, भत्ताको, सुख र सुविधाको प्रलोभनमा परेपछि यी बौद्धिक र स्वच्छ ठानिएका नेताहरु समेत दलालमा परिणत हुने रहेनछन् भन्ने देखिएको छ । स्पष्ट छ, यो एउटा दुःखद आश्चर्य नै हो ।
केपी ओली र उनको गुटको कथित राष्ट्रवाद र क्रान्तिकारीता नक्कली हो भनी तत्कालीन माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठकमा यो लेखक स्वयंले भनिरहँदा किंचित पनि सुन्ने गरिएन । यस्तो राजनीतिक र वैचारिक स्पष्टता नभै, क्रान्तिकारी सिद्धान्त र राजनीतिबाट झन् पछि झन् तल गलत दिशातर्फ उन्मुुख बनाईयो । देशमा छरिएर रहेका नेकपा (क्रान्तिकारी माओवादी), नेकपा विप्लव समूह, नेपाल मजदुर किसान पार्टी र नेकपा मसाललगायतका तुलनात्मक रुपले बढी क्रान्तिकारी, देशभक्त र सिद्धान्तनिष्ठ शक्तिहरुसँग एक भएर मात्र तत्कालीन एमालेसँग पार्टी एकता गर्नु उपयुक्त हुने धेरै नेताहरुको सुुझाब थियो । पार्टी केन्द्रीय कार्यालयको बैठकमै बारम्बार यस विषयलाई उठाइएको थियो । तर, आफ्नो पद, प्रतिष्ठा र पावर प्राप्तिको लागि मुर्खतापूर्णं रुपले प्रचण्डले एकता गरे ।
दशबर्षे महान् युद्ध र क्रान्तिका बेला सत्य र न्यायको लागि अघि बढ्न प्रशिक्षण र निर्देशन दिने महामहिम प्रचण्ड आज एकता र शान्तिका बेला संसदीय सत्ता र शक्तिको लागि अरुकै लागि कम्फर्टेबल हुने सरकार निर्माणतिर लागे । भारतीय विस्तारवादको लागि कम्फर्टेबल हुने गरी घोषित रुपमै नेपालमा सरकार बनाउने प्रयासमा जुट्ने हदसम्म गिर्नु प्रचण्डसहित पेरिफेरिका झलनाथ, माधव, भीम रावलजस्ताको लागि लज्जास्पद छ । उनीहरु एमसीसी पास गर्नु हँुदैन भनी कुर्लन्थे तर, आज एमसीसी पास गर्नैपर्छ भनेर चिच्याईरहेका छन् । एकैसाथ अमेरिकी साम्राज्यवाद र भारतीय विस्तारवादको चर्को चाकरी गर्नु वामपन्थी राजनीतिक संसारमै सायद पहिलो दुःखद बिडम्बना होला । यसैगरी समाजवाद–साम्यवादका निम्ति वर्ग शत्रु सफाया गर्दै अघि बढ्दा १४ वर्ष जेल बसेर नझुकेका र नचुकेका केपी ओली अहिले शक्तिशाली प्रधानमन्त्री भएको बेला साम्राज्यवादी–विस्तारवादीको गलत प्रलोभन र आश्वासनमा फसेर आफ्नो नेतृत्वको शक्तिशाली पार्टी र सरकारलाई नै धरापमा पारेका छन् । आफ्नो इच्छा र अहंकारको तुष्टीकरण गर्न खोज्नु संसारमै मूर्खताको पराकाष्ठाको एउटा नमुना नै होला ।
यी दुई नेता र यिनका गुटका यसप्रकारका निचतम कृयाकलापहरुका कारण संसदको पुनर्बहालीपछी खुसी सेलाउन नपाउँदै यसले जगाएको आशा र अपेक्षामा पुनः झन् ठुलो कुठाराघात भएको बिडम्बनापूर्ण अवस्था उत्पन्न भएको छ । तथापी सच्चा इमान्दार, देशभक्त र स्वाभिमानी कम्युनिस्ट क्रान्तिकारीहरु यसप्रकारका नीति, नियत र नेतृत्वका विरुद्धमा निरन्तर संघर्ष गर्दै क्रान्ती र मुक्तिको यात्रामा अथक रुपमा लागिरहनु नै पर्दछ । अनिमात्र उपरोक्त धोका र विश्वासघातको बढ्दो बिडम्बनापूर्ण कुठाराघातलाई रोकेर स्वतन्त्र, स्वाभिमान र समुन्नत समाजवादी नेपाल र सक्षम, सुखी र समृद्ध नेपाली बनाउन सकिन्छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies