काठमाडौं : बहुप्रतीक्षित मेलम्ची खानेपानी आयोजनाको पानी काठमाडौंको सुन्दरीजल आइपुगेको छ । शनिबार विशेष कार्यक्रमका साथ प्रधानमन्त्री केपी ओलीले स्वीच थिचेर सुन्दर जलमा पानी खसालेका हुन् ।
गत फागुन १० गते सिन्धुपाल्चोकको मेलम्ची खोलादेखि काठमाडौँको सुन्दरीजलसम्मको साढे २६ किलोमिटर सुरुङमा पानी पठाइएको थियो । निर्माण शुरु भएको १२ वर्षपछि मेलम्चीको पानी सुन्दरीजल आइपुगेको हो ।
खानेपानी मन्त्रालय र मेलम्ची खानेपानी विकास समितिले आवश्यक सम्पूर्ण प्राविधिक काम पूरा गरेर सुरुङमा पानी परीक्षण गरेको थियो । अब सुन्दरीजलम आएको पानीलाई प्रशोधन गरेर परीक्षण गरिनेछ ।
गत असारमै सुरुङमा पानी भनेर परीक्षण गरिएको थियो तर हेलम्बु गाउँपालिका-१ स्थित अम्बाथानको अडिटको मुख्य गेट (नं १७) फुटेर निस्केको पानीले आयोजनाका एक इन्जिनियर र चालकलाई बगाएको थियो ।
त्यसपछि आयोजनाको मुख्य दातृ निकाय एसियाली विकास बैंक (एडीबी) को अनुदान सहयोगअन्तर्गत चार जना विशेषज्ञको टोलीले सुरुङ, मुहानस्थल, गेटलगायत संरचनाको पुनः जाँच गरेको थियो ।
कार्यक्रममा प्रधानमन्त्री ओलीले केही दिनभित्रै काठमाडौंवासीका घर घरका धारामा मेलम्चीको पानी झर्ने बताए । लामो समयदेखि जारी बागमती सफाइ अभियानमा पनि मेलम्चीको पानीले सहयोग पुग्ने प्रधानमन्त्री ओलीले विश्वास व्यक्त गरे ।
पहिलो चरणमा काठमाडौंमा १५ हजार घरधुरीमा टेस्ट भइसकेको भन्दै प्रधानमन्त्री ओलीले दोस्रो चरणमा यांग्री र लार्केबाट पानी थपेपछि काठमाडौंलाई खानेपानी पुग्ने बताए । सुन्दरीजलमा पानी आउनु नयाँ उचाइको सफलता भन्दै ओलीले काठमाडौंवासीलाई बधाई तथा शुभकामना दिए ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies