-विष्णु पन्त
संसद विघटन वा पुनः स्थापनाले देशलाई झन ठूलो भड्खालोमा हाल्न खाजेको देखिएको छ । संसद पुनः स्थापनाका पछिका खेल सोही दिशातर्फ उन्मुख छन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई असफल भन्दै गर्दा उनैको ठाउँमा पुनः असफल सिद्ध भएका पुष्पकमल दाहाल ‘प्रचण्ड’, शेरबहादुर देउवा, माधवकुमार नेपाल र डा. बाबुराम भट्टराईहरु आउने सम्भावना देखिएको छ । पछिल्ला समिकरणहरुले सबैभन्दा अगाडि देउवाको नाम पनि आएको छ । तर, देउवा व्यवस्था परिवर्तन अगाडि र फेरिएको व्यवस्थामा पनि निकै पटक ‘टेस्टेड’ भएका पात्र हुन् ।
अहिले ओलीको ठाउँमा दाहाल, नेपाल, देउवा र भट्टराईलाई प्रधानमन्त्री बनाउने दृष्टिकोणको विषयमा बहस गर्न जरुरी देखिएको छ । अर्काेतर्फ पार्टी वा देश सबैलाई भड्खालोमा हालेर भए पनि आफूँ सत्तामा टिकिरहनुपर्ने प्रवृत्तिका बारेमा छलफल चलाउनु पर्ने देखिन्छ । व्यक्ति फेर्दैमा अहिलेका संकट र समस्याको हल हुन्छ भन्ने देखिन्न । हल विधी र पद्धतीबाट खोज्नुपर्दछ । तर, संसदीय नेतृत्वको बिडम्बना उसले व्यवस्थाको विकल्प साेंचेकै छैन । नेपालीमा उखान छ, ‘कुवाको भ्याकुताले कुवाभन्दा बाहिरको संसार परिकल्पना नै सक्दैन’ भने जस्तै अहिलेका नेताहरु यो व्यवस्था बाहिर जाने कल्पना नै गर्न सक्दैनन् ।
उनीहरु बरु त्यहि लडीबुडी गरिरहन्छन् । फोहोर गरेका छन् र फोहोरमा लत्पतिएर गन्हाएका छन् तर, नुहाउने वा सफा गर्ने विषयमा सोंचेकै छैनन् । आफू सरकारमा जान राष्ट्रियतालाई बन्धक बनाउन तयार हुन्छन् । आत्मसमर्पणवादी र गुलामीको पनि चरम सीमामा पुगेका छन् । यदि बाहिर आए जस्तै एमसीसी, चुच्चे नक्सा र कालापानीमा रहेको भारतीय शैन्य क्याम्पमा आत्मसमर्पण भएको हो भने भन्नुपर्दछ, प्रचण्ड आत्मसमर्पण र गद्दारीका चरम नमुना हुन् । हिजो त्यहि विषयमा ओलीलाई गद्दार भन्ने अनि आज आफैँ त्योभन्दा पनि तल गिर्ने ? यस्तो छुट हुन्छ ?
जरुरी छ राष्ट्रिय मुक्ति आन्दोलनको
फेरि पनि नेपालमा राष्ट्रिय मुक्ति आन्दोलनको अपरिहार्यता बनेको छ । अब व्यक्ति बदलेर मुलुकले निकास पाउँदैन । मुख्य दोषी दलाल संसदीय व्यवस्था हो । यो व्यवस्था कायम रहँदासम्म आत्मसमर्पण, दलाली र भ्रष्टचार बढिरहन्छ । अस्ति मात्र संविधान बन्यो र जनताको जीत भयो भनेर दिपावली गरे । पछि कम्युनिष्टको बहुमत आयो जनताको जीत भयो भनेर उत्सव मनाए ।
अहिले केपी ओलीको प्रतिगमन पराजित भई संसद पुनः स्थापना भयो भन्दै दिपप्रज्वलन र लड्डु पान गरे । तर, प्रश्न उठ्छ देश र जनताको जीत भयो त ? जनताको जीत भन्दै महाभ्रमको सम्प्रेषण गर्दै फेरी पनि देश र जनतालाई नै बन्धक बनाउने खेल दोहोरिएको छ ।
संसद पुनः स्थापना पछि यदि एमसीसी पास भयो भने चुच्चे नक्सा गायब भयो भने वा नदीनाला भारतलाई बुझाईयो भने वा नेपालभित्र विदेशी सेना राख्ने निर्णय गरियो भने त्यो राष्ट्रघाती साबीत हुनेछ । अतः फेरि पनि राष्ट्रिय स्वाधिनताका लागि सबै क्रान्तिकारी, प्रगतिशील, देशभक्त र सच्चा लोकतन्त्रवादी अनि मानवअधिकारवादी शक्तिहरु एक हुनुपर्दछ । अब सरकारमा पुग्नका लागि विदेशीहरुसँग आत्मसमर्पण गर्ने दलाल नेतृत्वलाई लखेट्नु पर्दछ । व्यवस्था, संविधान वा सरकारभन्दा ठूलो देश हो । देश रहे मात्र अरु सबै बनाउन सकिन्छ । त्यसका लागि विप्लव, प्रकाण्ड र किरणको नेतृत्वमा राष्ट्रिय मुक्ति आन्दोलनको घोषणा गरौं ।
संसदमा रक्तपात नहोस्
सबैलाई थाहा छ, सरकारी नेकपाभित्रको लडाईँ राजनीतिक र वैचारिक हैन । दुवै समूहमा कसरी सत्ता प्राप्त गर्ने भन्ने मात्रै एजेण्डा छ । दुवै फासीवादी, निरंकुश र अधिनायकवादी दृष्टिकोणबाट चलिरहेका छन् । दुवैको पृष्ठआधार पनि आन्तरिक राजनीतिक शक्ति देखिएको छैन् । दुवैमा आफुँ जित्ने र अर्कोलाई सिध्याउने धङधङी चढाइएको छ । अहिलेको सत्ता संघर्ष र शक्ति संघर्ष अझै बढ्ने क्रममा छ । फाल्गुण २३ गते संसद आव्हान गरिएको छ । अहिलेसम्म सडकमा भएको लडाईँ अब संसदमा हुने निश्चित छ । लडाईँ हिंसात्मकसमेत हुने संकेतहरु देखिएका छन् ।
लडाईँमा उत्रिएको एउटा पक्षले अर्को पक्षलाई जसरी पनि सिध्याउने गरि लागेको छ । दुवै पक्षले सार्वजनिक रुपमै अर्को पक्षलाई स्वीकार नगर्ने बताईरहेको छ । यो लडाईँमा अरु दलहरु रमीते मात्र बन्ने छन् । सबै दलमा विभाजनका सम्भावनाहरु पनि छन् । यस्तो अवस्थामा कतै संसदमा रक्तपात त हुँदैन् भन्ने प्रश्नहरु पनि उब्जिएका छन् । फेरि पनि संसदमा भण्डारखाल पर्वहरु वा कोतपर्वहरुको पुनरावृत्ति नहोस् । दुवै शक्तिलाई भिडाउने र सिध्याउने नै विदेशी शक्तिकेन्द्रको मनशाय देखिन्छ । अबको पुनः स्थापित संसद अधिवेशन निकै संकटपूर्णं र हिंसात्मक हुने खतरा छ । देखिएका त्यस्ता संकेतहरुले राष्ट्रियता स्वाभिमान नै प्रश्न उठाउने सम्भावना छ । हामी कामना गरौं, वर्तमान लडाईँ त्यतातर्फ नजाओस् ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies