नेपाल टेलिभिजन र युनिसेफको संयुक्त लगानीमा २००३ ताका निर्माण भएको टेलिचलचित्र क्याट्म्याण्डुबाट आफ्नो अभिनय यात्रा शुरु गरेका हालका ब्यस्त अभिनेता सविन श्रेष्ठ त्यसपछि कान्तिपुर टिभिबाट प्रसारित ‘घरबेटी बा’, ‘कलेज’ हुँदै म्युजिक भिडियोहरु गर्दागदै ठुलो पर्दाको चलचित्रमा प्रवेश गरे । चलचित्र ‘अन्दाज’ उनको डेब्यु चलचित्र हो । तीन दर्जन बढी चलचित्रमा अभिनय गरिसकेका नायक सविन श्रेष्ठले भोजपुरी चलचित्रमा समेत काम गरेका छन् । उनले वर्षाद, रावण, हवल्दार सुन्तली, आदि बाटो, हिरो रिटन्स् लगायतका व्यावसायिकरुपले सफल चलचित्रमा अभिनय गरिसकेका छन् ।
उनी चलचित्र क्षेत्रका नेशनल बक्स अफिस फिल्मफेयर अवार्ड २०१७, नेफ्टा फिल्म अवार्ड, एलजि सिने अवार्ड २०७२ लगायत विभिन्न संघ संस्थाबाट समेत सम्मानित भैसकेका छन् । निर्माणाधीन केही चलचित्रमा अनुबन्ध अभिनेता श्रेष्ठ कमलपोखरी, काठमाडौंका स्थानीय वासिन्दा हुन् । अभिनय र आफ्नो व्यवसायलार्ई निरन्तरता प्रदान गर्ने सोच बनाएका अभिनेता श्रेष्ठ कोरोना कहरका कारण चलचित्र क्षेत्र नराम्ररी प्रभावित बनेकोमा चिन्तित छन् । कोरोना कहरले चलचित्र क्षेत्रमा पारेको असर र भावी दिनमा चलचित्रकर्मीहरुले अपनाउनुपर्ने कुराहरुको सेरोफेरोमा रहेर अभिनेता सविन श्रेष्ठले मध्यान्ह दैनिकका लागि सानु श्रेष्ठसँग गरेको कुराकानीको सम्पादित अंशः
पछिल्लो समय केमा ब्यस्त हुनुहुन्छ ?
लकडाउनको समयमा सुटिङ रोकिएको चलचित्र र केही भिडियोको सुटिङमा ब्यस्त छु । भर्खरै एउटा नयाँ चलचित्रमा अनुबन्ध भएकोले त्यसको होमवर्कमा पनि समय दिनु परेको छ । बाँकी समय ब्यायममा बिताउने गरेको छु ।
नेवार समुदायको मान्छे ब्यपारी नबनेर कलाकार बन्नुको कारण ?
कुनै पनि समुदायको मान्छेले आफ्नो प्रतिभा आमरुपमा देखाउन पाउँछन् । चाहे त्यो चलचित्रको माध्यमबाट होस् वा स्टेज कार्यक्रममार्फत । जहाँसम्म मेरो कुरा छ, मेरो सानै देखिको चाहना चलचित्रमा काम गर्ने जुन पूरा भएको छ भने व्यवसायमा पनि संलग्न छँदैछु ।
कोरोना कहरका कारण थलापरेको चलचित्र उद्योगलाई उठाउन के गर्नु पर्ला ?
कोरोना महामारीका कारण थलापरेको चलचित्र क्षेत्रलाई गतिशील बनाउन चलचित्र क्षेत्रसँग सम्बद्ध सबै पक्ष मिलेर जानुको विकल्प छैन । कोरोना कहरका कारण दर्शक हलसम्म पुग्न सक्ने अवस्था अझै बनिनसकेको अवस्थामा कम्तिमा हप्ता दिनमामात्रै सिनेमा रिलिज हुनुपर्छ । कोरोना महामारीका कारण बन्द भएका चलचित्र हल विस्तारै खुल्ने क्रम शुरु भएपनि अझै पनि दर्शकहरु हलसम्म पुग्न डराइरहेका छन् । चलचित्र क्षेत्रलाई गतिशील बनाउन चलचित्र उद्योगी र राज्य दुबै गम्भिर बन्नुपर्ने देखिन्छ ।
पहिले कै अवस्थामा चलचित्र हल संचालन गर्न के गर्नुपर्ला ?
कोरोना महामारीका कारण हल लामो समय बन्द हुँदा श्रमिकलाई पारिश्रमिक दिन समस्या परेको होला । अहिले हल संचालनका लागि हलवालाहरु तयार भएपनि राम्रा चलचित्र पाउन सकिरहेका छैनन् । राम्रा चलचित्र पाए सुरक्षाका मापदण्ड अपनाउँदै हल संचालन गर्न हल संचालकलाई सजिलो हुने थियो । कोरोना कहरकै कारण चलचित्र रिलिज गर्न निर्माताहरु डराइरहेका छन् । कारोनाका कारण दर्शक नपाउने अवस्था छँदैछ । दर्शकलाई कसरी हलसम्म ल्याउने भन्ने वातावरण निर्माण गर्नु आवश्यक छ । अहिले हल खुलेको जस्तो देखिएपनि पूर्णरुपले सबैतिर हल संचालनमा आउन सकिरहेको छैन, पूर्णरुपले हल संचालनका लागि हल संचालक व्यवसायी तयार हुनुपर्छ र हलमा नयाँ चलचित्र लाग्नु पर्छ ।
सफल कलाकार भएको नाताले यस्तो अवस्थामा चलचित्र हलमा हाल्नु हुन्छ त ?
चलचित्र निर्माण गरिसकेपछि कम्तिमा पनि लगानी फर्किनुपर्ने आशा राख्नु लगानीकर्ताको धर्म हो । कोरोना महामारीका कारण चलचित्र उद्योग धरासयी बन्दै गएकोले राज्यले पनि चलचित्र निर्माणमा अनुदान दिनुपर्ने हो । तर अहिलेसम्म राज्यले यो क्षेत्रलाई हेरेको अवस्था छैन । दर्शकलाई कोरोनाको डर कायमै रहेको हुँदा हलमा दर्शकले सुरक्षाको अनुभूति दिलाउनका लागि हल संचालकले पनि ध्यान दिनुपर्ने हुन्छ ।
थुप्रै चलचित्र, भिडियोमा काम गर्नुभयो आफ्नो पहिचान बनाउन सफल चलचित्र कुन हो ?
सुरुका टेलि चलचित्रहरुले पनि मलाई कलाकारको रुपमा पहिचान नदिलाएको भने होइन । तर, मेरो पहिलो चलचित्र ‘अन्दाज’ले उद्योगमा स्थापित गरायो । र, चर्चा पनि गराएको हिसावले ‘अन्दाज’ ले नै आम रुपमा चिनाएको ठान्दछु । ‘रावण’ र ‘हवल्दार सुन्तली’ पनि मेरा हिट चलचित्र मध्येका हुन् ।
भावी लक्ष्य के छ तपाईंको ?
एउटा कलाकारको लक्ष्य भनेको दर्शक माझ उहाँहरुको रुचीमुताविक चलचित्र दिन सक्दो प्रयास गर्ने हो । राम्रो टिमसँगको सहकार्यमा उत्कृष्ट चलचित्र निर्माण, प्रदर्शन र व्यवासायिक रुपले पनि सफल गराउन लागिपर्ने हो । राम्रो विषयवस्तुको छनोटसँगै त्यसको गृहकार्यमा समेत हामी जुटिसकेको अवस्था भएकोले आगामी दिनमा अझै राम्रा चलचित्र दर्शकमाझ पस्कँदै जानेछु भन्ने विश्वास दिलाउन चाहन्छु ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies