दार्चुला जिल्लाको ९ स्थानीय तहमध्ये नौगाड गाउँपालिका भौगोलिक रुपले निकै विकट गाउँपालिका हो । साविक इयरकोट, खार, सिप्टी र धुलिगडा गाविसलाई समायोजन गरेर गाउँपालिकाको घोषणा भएको थियो ।
नौगाड दार्चुलाको निकै विकट गाउँपालिकामा परे पनि पर्यटकीय र धार्मिक रुपमा निकै सम्पन्न छ । पर्यटकीय र धार्मिक रुपमा निकै सम्भावना बोकेको नौगाडमा पछिल्लो समय निर्वाचित भएर आएको कमिटीले निकै उत्साहपूर्णं कामहरु गरेको छ ।
२०७४ मा भएको निर्वाचनबाट निर्वाचित भएर आएको प्रेमसिंह धामी नेतृत्वको कमिटीले गरेको नमुना काम र आगामी सम्भावनाबारे मध्यान्ह दैनिकका स्थानीय संवाददाता गणेशसिंह धामीले गरेको कुराकानीको सम्पादित अंश :
तपाईँ निर्वाचित भएपछि नौगाड गाउँपालिकाको विकास निर्माण कार्यलाई कसरी अगाडी बढाउनु भएको छ ?
नौगाड गाउँपालिकाको जनप्रतिनिधिका रुपमा निर्वाचित भएपछि गाउँपालिकाको सर्वांङ्गिण विकासका लागि अल्पकालिन, मध्यकालिन र दिर्घकालिन योजना बनाई अगाडि बढेको अवस्था छ ।
हामीले नौगाड गाउँपालिकामा विकास निर्माणको काम जनताहरुलाई अनुभूत हुने गरि अगाडि बढाएका छौं । हामीले यातायात पूर्वाधार, खानेपानी तथा सरसफाई, शिक्षा क्षेत्र, स्वास्थ्य क्षेत्र, कृषि÷पशुलगायतलाई केन्द्रीत गरि काम गरिरहेका छौं ।
शिक्षा क्षेत्रमा के–के प्रगति गर्नु भएको छ ?
शिक्षा क्षेत्रको समग्र प्रगतिका लागि सबैभन्दा पहिले पूर्वाधार पर्याप्त मात्रामा निर्माण भएको हुनुपर्दछ । जसका लागि हामीले नौगाड गाउँपालिकामा चालु आर्थिक वर्षसम्म ५० वटा जति भवनहरु (१६० कोठाभन्दा बढी) निर्माण गरिसकेका छौं । साथै केहि निर्माणको क्रममा रहेका छन् । यसबीच अधिकांश विद्यालयहरुमा सुविधा सम्पन्न शौचालयहरु निर्माण गरिसकेका छौं । साथै निर्माण गर्ने क्रममा पनि छन् ।
त्यसैगरि विगतदेखि नै विद्यालयहरुमा दरबन्दी अभावका कारण निजी स्रोतबाट शिक्षक नियुक्त गरि अभिभावकहरुबाट आर्थिक संकलन गरेर शिक्षकहरुको तलबभत्ता दिने परिपाटीको अन्त्य गर्दै गाउँपालिका बजेटबाट विद्यालयहरुलाई शिक्षकहरुको तलबभत्ताका लागि गाउँपालिकाबाट अनुदान उपलब्ध गराउने गरेको र न्युन पारिश्रमिकमा काम गर्दै आईरहेका बालविकास कार्यकर्ता, विद्यालय कर्मचारी र कार्यलय सहयोगीहरुलाई मासिक ५०० रुपैयाँका दरले प्रोत्साहन भत्ता उपलब्ध गराउने गरेका छौं ।
गाउँपालिकाभित्र स्वास्थ्य क्षेत्रलाई प्रभावकारी बनाउन के–कस्तो कार्यक्रम अगाडि बढाउनु भएको छ ?
स्वास्थ्य क्षेत्र आम नागरिकहरुको जीवनसँग प्रत्यक्ष सरोकार राख्ने क्षेत्र भएका कारण पनि हामीले नौगाड गाउँपालिकाको स्वास्थ्य क्षेत्रलाई अझ बढी महत्वका साथ हेरेका छौं । हाम्रा स्वास्थ्य कार्यक्रम पनि सोहिअनुरुप अगाडि बढेका छन् ।
हामी निर्वाचित भएर आउनुभन्दा पुर्व भौगोलिक रुपमा विकट रहेको गाउँपालिकाभित्र ४ वटा स्वास्थ्य चौकी र १ सामुदायिक स्वास्थ्य केन्द्र गरि जम्मा ५ वटा संस्थाबाट मात्र सेवा प्रवाह गरिन्थ्यो । तर, हामी निर्वाचित भएर जिम्मेवारीमा आएसँगै थप ८ वटा सामुदायिक स्वास्थ्य इकाई केन्द्रहरुको स्थापना गर्दै अहिले १४ वटा स्वास्थ्य संस्थाहरुबाट सेवा प्रवाह गरिरहेका छौं । साथै ४ वटा स्वास्थ्य संस्थामा बर्थिङ्ग सेन्टर र ४ वटा स्वास्थ्य संस्थामा प्रयोगशालासमेत सञ्चालनमा ल्याएर आम नौगाडबासीलाई प्रभावकारी ढंगले सेवा प्रवाह गर्ने प्रयत्न गरेका छौं ।
यसबीच स्वास्थ्य चौकी भवन र सामुदायिक स्वास्थ्य इकाई केन्द्रका भवनहरु पनि निर्माण गरेका छौं । हामीले गाउँ–गाउँमा एकिकृत घुम्ति शिविरहरु सञ्चालन गरि स्वास्थ्य सेवा दिईरहेका छौं । दिर्घरोगी, गरिब विपन्न र असहाय व्यक्तिहरुलाई आर्थिक सहायता कोष स्थापना गरि उपचार खर्च वापत राहत सहयोग गर्ने गरेका छौं ।
देश कोरोनाले आक्रान्त भएका बेला तपाईँले आफ्नो गाउँपालिकामा के–के गर्नुभयो ? ति काममा जनताबाट कस्तो प्रतिकृया पाउनु भएको छ ?
कोरोना संक्रमणबाट गाउँबासीलाई जोगाउन १५ वटा क्वारेन्टाईन स्थापना गरेका थियौं । जिल्ला बाहिर तथा वैदेशिक रोजगारी गएर अलपत्र रहेका नागरिकहरुलाई उद्दार गरेर झण्डै २ हजार जनाभन्दा बढी मानिसहरुलाई क्वारेन्टाईनमा राखेका थियांै । त्यसैगरि गाउँपालिका भरिका एक हजार ४ सय ६० विपन्न घरधुरीहरुलाई तोकिएको मापदण्डअनुसार राहत वितरण पनि गरेका थियौं ।
यसबीच अध्ययनको शिलशिलामा जिल्ला बाहिर रहेका एक सय ५० जनाभन्दा बढी विद्यार्थीहरुलाई समेत तीन हजारका दरले राहत उपलब्ध गरेका थियौं । हामीले प्रत्येक घरमा करेसाबारी निर्माण, फलफुल रोपणका लागि खाडल निर्माणलगायतका कृयाकलापहरु गरेबापत एक हजार ४ सय ६० विपन्न परिवारहरुलाई राहत वितरण गरेका थियौं । प्रत्येक राहत पाउने परिवारलाई निःशुल्क तरकारी बिउविजन र फलफुलका बोटसमेत उपलब्ध गरेका थियौं ।
कोरोना महामारीका बेला हामीलाई सम्पुर्ण जनप्रतिनिधि, राष्ट्रसेवक कर्मचारी, स्वास्थ्यकर्मी, सुरक्षाकर्मीलगायत आम नौगाडबासीबाट निकै सौहार्दपूर्णं खालको साथ र सहयोग प्राप्त भयो । जसको प्रतिफल हाम्रो गाउँपालिकाभित्र एक जनालाई पनि कोरोना संक्रमण भएन । नौगाड गाउँपालिका कोरोना मुक्त गाउँपालिकाको रुपमा हामीले चिनाउन सफल भयौं ।
गाउँपालिकाको विकास गर्ने सबालमा संस्कृति तथा पर्यटन पूर्वाधार विकासको क्षेत्रमा के–के नीति ल्याउनु भएको छ ?
हामीले संस्कृति तथा पर्यटन पुर्वाधार विकासको क्षेत्रमा धेरै कामहरु गरेका छौ । जसअनुसार चालु आर्थिक बर्षमा मात्र नौगाड गाउँपालिकाको वडा नं. २ स्थित धार्मिक तथा पर्यटकीय क्षेत्रको रुपमा रहेको छिपुलथानमा पर्यटन मन्त्रालय र नौगाड गाउँपालिकाको साझेदारीमा २ वर्षमा सम्पन्न गर्ने गरी छिपुलथान डाईभर्सिटी पार्क निर्माणका लागि ४ करोड ९१ लाख रुपैयाँ विनियोजन गरिएको छ । जसमा पर्यटकीय पथ मार्ग, पार्क, मन्दिर, पानीधारा लगायतका संरचनाहरु निर्माण गरिनेछन् ।
त्यसैगरी नेपालकै एघारौँ धामको रुपमा रहेको वडा न. १ स्थित नागेश्वरधामलाई पर्यटकीय एवं धार्मीक रुपमा विकास गर्दै त्यसको प्रचार–प्रसार र त्यस क्षेत्रमा चाहिने भौतिक पूर्वाधार निर्माणअन्तर्गत झण्डै ८ कि.मि. टाढाबाट खानेपानी योजना निर्माण गरिएको छ । त्यस क्षेत्रसम्म पुग्नका लागि ढुङ्गाको बाटो (पथ मार्ग) निर्माण गरिरहेका छौं । निकट भविष्यमा नै यस क्षेत्रमा बिवद्युत सेवा विस्तारलगायत अन्य पूर्वाधार निर्माण गर्ने तयारीमा रहेका छौं ।
गत वर्षात्को समय गाउँपालिकाले निकै ठूला प्राकृतिक प्रकोपका घटना बेहोर्नु पर्यो । प्राकृतिक प्रकोपबाट पीडित बनेका स्थानीयलाई कसरी सहयोग गर्नुभयो ?
नौगाड गाउँपालिकाले विभिन्न समयमा वर्षातमा ठुलो नोक्सानी बेहोर्नु परेको छ । जसअनुसार यहि वर्ष मात्र ५÷६ जनाले ज्यान गुमाउने स्थिति बन्यो । २० भन्दा बढी घरहरुमा पुर्णं रुपमा क्षति पुर्याएको छ । खेतबारी, २७ वटा खानेपानी योजनाहरु, ३६ वटा पानी घट्ट, ३६ वटा आर.सि.सि पुल, ७–८ वटा पोलिहाउस, सडक, विद्यालयलगायत अन्य विकास निर्माणका करोडौंका संरचनाहरु पुर्ण रुपमा क्षति पुर्याएको थियो । यस्तो विषम परिस्थितिमा नौगाड गाउँपालिका जनप्रतिनिधी, राष्ट्रसेवक कर्मचारी, सुरक्षाकर्मी, स्वास्थयकर्मीलगायत सम्पुर्ण स्थानीयवासीहरुको साथ र सहयोगमा तत्काल उद्दार, राहत वितरण र पुनस्र्थापनालगायतका कामहरु गरिएको थियो । साथै अन्य सरोकारवाला निकायहरुसँग सहकार्य गरि बिभिन्न राहत सामग्रीहरु वितरण गरिएको छ ।
हाल धेरै जसो स्थानीय तहका पदाधिकारीहरु पालीका बाहिर अर्थात् जिल्ला बाहिर रहेको सुनिन्छ । तपाईँको पालिकामा के कस्तो छ ?
हाम्रो पालिकामा त्यस्तो छैन । हामी सबै जनप्रतिनिधि र कर्मचारीहरु गाउँपालिकाभित्र अथवा कार्यक्षेत्रमा नै रहेर आम नौगाडवासीहरुसँग विकास निर्माणलगायतका काममा हातेमालो गरिरहेका छौं ।
समग्रमा, नौगाड गाउँपालिकाले भोग्नु परेका समस्या, कठिनाई र चुनौतीहरु के–के हुन ?
भौगोलिक विकटता, बजेटको अभाव र सीमित स्रोत तथा साधनका हामीले काम गरिरहेका छौं । एकातर्फ हाम्रा सामुदायिक विद्यालयहरुमा आवश्यताअनुसार दरबन्दी छैन् भने अर्कोतर्फ स्वास्थ्य संस्थाहरुमा समेत दरबन्दी निकै अभाव छ । वर्षातमा आउने बाढीपहिरो नै नौगाड गाउँपालिकाका कठिनाई तथा चुनौति पनि हुन् ।
चुनावको बेला तपाईँले मतदाता समक्ष राखेका प्रतिबद्दताहरु पुरा गर्नुभयो कि भएन ?
अधिकांश प्रतिबद्दताहरु पुरा गरिसकेका छौं र केहि गर्ने क्रममा छौं ।
प्रदेश सरकारको पदाधिकारी सेवा सुविधाअन्तर्गत गाउँपालिका अध्यक्षले सवारी साधन प्रयोग गर्ने प्रावधान छ । धेरै जसो अध्यक्षहरुले महंगा गाडी प्रयोग गरेको पाईन्छ । तपाईले त्यो सुविधा लिनु भएको छ कि छैन ?
प्रदेश कानुनमा सो व्यवस्था भएता पनि नौगाड गाउँपालिका अध्यक्ष अथवा अन्य जनप्रतिनिधिहरुले त्यस्तो सुविधा लगेका छैनौ । काम विशेषले गाउँपालिका बाहिर वा जिल्ला बाहिर जाँदा पनि सार्वजनिक यातायातका साधनहरु नै प्रयोग गर्ने गरेका छौं ।
ति महंगा गाडीहरु किन्ने बजेटले त कुनै बस्ती जोड्ने बाटो निर्माण गर्ने, कुनै ठाउँको विद्यालय तथा स्वास्थ्य भवन निर्माण गर्ने वा कुनै सामाजिक हितको काममा लगाउने गरेका छौ ।
नौगाड गा.पा भौगोलिक आधारमा निकै विकट छ । तपाईँले गाउँ–गाउँ जोड्ने सडक सञ्जाल कत्तिको बनाउनु भएको छ ?
सहि भन्नु भो, नौगाड गाउँपालिका भौगोलिक रुपमा निकै नै विकट गाउँपालिका हो । म निर्वाचित भएर आईसकेपछि मैंले सडक निर्माणका कार्यक्रमलाई नै पहिलो प्राथमिकतामा राखेर काम गरेको छु । अहिले गाउँपालिकाभित्र ५ वटा सडकहरु निर्माणको क्रममा छन । जसले नौगाड गाउँपालिकाका धेरै विकट बस्तीहरुलाई सडक संजालमा जोड्नेछ ।
अहिलेसम्म गाउँपालिकाका ५ वटा वडाहरु सडक संजालसँग जोडिईसकेका छन् भने १ नं. वडा मात्र जोडिन बाँकी छ । जुन निकट भविष्यमा नै जोडिने क्रममा रहेको छ ।
नेकपा फुटको कारण राजनीतिक अवस्था निकै संकटपूर्णं छ । स्थानीय जनप्रतिनिधिको हिसाबले नेकपा विभाजन र देखिएको संकटलाई कसरी हेर्नुभएको छ ?
आधिकारिक रुपमा र कानुनी रुपमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विभाजन भएको छैन । अहिले पछिल्लो अवस्थामा दुई वटा गुटमा विभक्त भएको देखिन्छ, । गुटमा विभक्त हुनुभन्दा पनि पार्टी एक ढिक्का भएर जानुको विकल्प छैन । २०७४ सालको प्रतिनिधि सभा र प्रदेश सभाको जनताले दिएको जनादेशले त्यही कुरा बताउछ र व्यक्तिगत स्वार्थ, परिवारिक स्वार्थ र गुटको स्वार्थ त्यागी सिंगो मुलुक र मुलुकका नागरिकको स्वार्थलाई सर्वोपरी हित ठानी नेपाल कम्युनिष्ट पार्टी एक ढिक्का भएर जानुको विकल्प छैन । कम्युनिष्ट पार्टी भित्र संघर्ष भईरहन्छ हुनु पनि पर्छ तर, एकता संघर्ष र रुपान्तरणमा परिवर्तन गरि अगाडी बढ्नुको विकल्प छैन ।
अन्तमा, तपाईँको गाउँपालिकाका जनसमुदायलाई केही भन्नु छ ?
नौगाड गाउँपालिका र आम दार्चुलावासी आदरणीय आमाबुबा, दाजुभाई तथा दिदीबहिनीहरु निराश हुनु पर्दैन । समग्र हामीले सर्वाङ्गिण विकास निर्माणका गतिविधिहरु अगाडी बढिरहेका छौं । हामी निरन्तर जनताको जनमत प्राप्त गर्ने बेला गरेका प्रतिबद्दताहरु पुरा गर्ने बाटोमा अगाडी अगाडि बढिरहेका छौं ।
पछिल्लो राजनैतिक राष्ट्रिय परिस्थिति जस्तो खालको सिर्जना भएको छ, यसबाट नहिच्हिचाई, निराश नबनीकन पार्टी पंक्ति र आम नागरिकमा अनुरोध गर्दै विश्वस्त हुन आग्रह गर्दछु ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies