तेजबहादुर बन/मध्यान्ह
इटहरी : सुनसरीको इटहरीस्थित शारदा माविका शिक्षक शिक्षिका एक आपसमा भलाकुसारी गरिरहेका देखिन्थे । विद्यार्थीहरू चौरमा छरिएर कोहि खेलिरहेका थिए, त कोहि कक्षा कोठामै अध्ययन गरिरहेका देखिन्थे । त्यतिकैमा नेपाल प्रहरी लेखिएको निलो रंगको भ्यान विद्यालयको गेटैमा रोकिन्छ । भ्यानबाट २, ४ जना प्रहरीहरू निस्केर विद्यालयतर्फ अघि बढ्छन् ।
यो दृश्य देखिरहँदा विद्यालयका विद्यार्थीहरू पनि छक्क पर्छन् । एकोहोरो भएर प्रहरीलाई हेरिरहन्छन् । शिक्षकहरू पनि केहिले प्रहरीलाई स्वागत गर्छन् भने केहि किन आएको हो भनि बुझ्ने प्रयत्न गरिरहेका हुन्छन् । यो दृश्य गएको शुक्रबार इटहरीस्थित शारदा माविको हो ।
इलाका प्रहरी कार्यालय इटहरीले गाउँ देखि शहर सम्म सक्रियता बढाउँदै समुदायलाई प्रहरीसँग जोड्दै सामुदायिक एवम् नीजि विद्यालयहरूमा पनि विभिन्न उपयोगी र आवश्यकीय सचेतना अभियान सञ्चालन गर्न थालेको छ । २१ गते शारदा मावि पुगेको इलाका प्रहरी कार्यालय इटहरीको टोलीले उक्त विद्यालयमा पनि लागूऔषध दुव्र्यसन सम्बन्धी सचेतना जगाएको थियो ।
विशेष गरी टिन एज उमेरका विद्यार्थीहरूलाई लागूऔषध सेवन गर्दा भोग्नुपर्ने समस्या र कानूनका विषयमा प्रशिक्षण दिइएको थियो । समुदायसँग प्रहरी अभियान अन्तर्गत सचेतना जगाउने कार्यक्रम गरिरहँदा सामुदायिक विद्यालयहरूमा पनि लागूऔषध दुर्व्यसन सम्बन्धी उपयोगि जानकारी गराइएको इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी प्रमुख डीएसपी अर्जुन केसीले जानकारी दिए ।
प्रहरीले दिएको उपयोगी सन्देशलाई सहभागि विद्यार्थीहरूले पनि जिवनमा लागू औषधको प्रयोग नगर्ने र घरमा पनि अभिभावकहरूलाई यो बारेमा जानकारी गराउने साथै गाउँमा त्यस्तो कोहि व्यक्ति रहेमा तुरून्त प्रहरीलाई खबर गर्ने प्रतिवद्धता जाहेर गरेका थिए । त्यस्तै विद्यालयका विद्यार्थीहरूलाई प्रहरीले यस्तो ज्ञानमुलक शिक्षा प्रदान गरेकोमा शिक्षकहरूले पनि धन्यवाद दिएका थिए । त्यस्तै इलाका प्रहरी कार्यालय इटहरीले पिसजोन आवसिय माध्यमिक विद्यालयका विद्यार्थीहरूलाई साइवर अपराध सम्बन्धि सुसुचित गराउँदै सचेतना अपनाउन सुझाव दिएको छ ।
पछिल्लो समय सामाजिक सञ्जालको दुरूपयोग भइरहेको र धेरैको घरबार र जिवन नै तहसनहस भएको घटनाहरू अवगत गराउँदै इटहरी प्रहरीले साइबर अपराध भनेको के हो ? यसको कानूनी प्रक्रियाबारे विद्यालयका विद्यार्थी, अभिभावक र शिक्षक शिक्षिकाहरुलाई पनि एक दिने प्रशिक्षण दिएको थियो ।
विद्यालयका संस्थापक जगदिश ओलीले प्रहरीले जारी गरेको यो अभियानलाई निरन्तर दिन सुझाव दिएका थिए । त्यस्तै साइबर अपराध सम्बन्धि धेरै थाहा नभएका कुरा र कानुनहरू प्रहरीले सिकाएको प्रति विद्यालयका प्रिन्सिपल केशव प्रसाद भट्टराइले धन्यवाद ज्ञापन गरेका थिए ।
यता समुदायसँग सामिप्यता बढाउँदै समाजलाई अपराधरहित बनाउन इटहरी प्रहरीले विभिन्न अभियानहरू सञ्चालन गरिरहेका इटहरी प्रहरीले जानकारी दिएको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies