काठमाडौं : बजेट खर्चको स्रोत जुटाउन सरकारले प्रत्येक वर्ष सार्वजनिक ऋण लिने गर्छ । राजश्व स्रोत र वैदेशिक अनुदानबाट अपुग हुने विनियोजनका लागि सार्वजनिक (वैदेशिक तथा आन्तरिक) ऋणबाट बेहोरिन्छ ।
सरकारले चालू आर्थिक वर्ष २०७७/०७८ को बजेटमा करिब सवा ५ खर्ब रुपैयाँ सार्वजनिक ऋण उठाउने घोषणा गरेको थियो । जसमध्ये चालू आर्थिक वर्षको ८ महिनामा (साउनदेखि फागुनसम्म) सरकारले १ खर्ब ९२ अर्ब ४२ करोड ४४ लाख रुपैयाँ सार्वजनिक ऋण उठाएको महालेखा नियन्त्रक कार्यालयले जानकारी दिएको छ ।
अर्थ मन्त्रालयका अनुसार २०७७ असार मसान्तसम्म सरकारले लिएको सार्वजनिक ऋण १४ खर्ब १९ अर्ब ८८ करोड रुपैयाँ थियो । जसमध्ये आन्तरिक ऋण ६ खर्ब १३ अर्ब ७४ करोड रुपैयाँ थियो भने वैदेशिक (बाह्य) ऋण ८ खर्ब ६ अर्ब १४ करोड रुपैयाँ थियो । चालू आर्थिक वर्षको ८ महिनामा थपिएको समेत गरी फागुन मसान्तसम्म खुद सार्वजनिक ऋण १५ खर्ब ७३ अर्ब ५८ करोड रुपैयाँ पुगेको छ ।
फागुन मसान्तसम्मको खुद सार्वजनिक ऋणमध्ये ७ खर्ब २ अर्ब ९४ करोड रुपैयाँ आन्तरिक ऋण छ भने ८ खर्ब ७० अर्ब ६४ करोड रुपैयाँ वैदेशिक (बाह्य) ऋण छ । फागुन मसान्तसम्मको खुद सार्वजनिक ऋणलाई जनसंख्या (३ करोड)को अनुपातमा हिसाब गर्दा प्रत्येक नेपालीको टाउकोमा ५२ हजार ४ सय ५२ रुपैयाँ हुन्छ ।
चालू आर्थिक वर्ष २०७७/०७८ को साउनदेखि फागुन महिनासम्मको अवधिमा सार्वजनिक ऋणको साँवा र ब्याज भुक्तानीमा सरकारको ३८ अर्ब ७१ करोड रुपैयाँ खर्च गरेको महालेखा नियन्त्रक कायालयले जानकारी दिएको छ ।
चालू आर्थिक वर्ष २०७७/०७८ को साउनदेखि फागुन महिनासम्म आन्तरिक ऋणको साँवा फिर्ता भुक्तानीमा सरकारले ८ अर्ब २२ करोड खर्च गरेको छ । यस्तै, आन्तरिक ऋणको ब्याज भुक्तानीमा १५ अर्ब ८ करोड रुपैयाँ खच गरेको छ ।
२०७७ असार मसान्तसम्म खुद वैदेशिक (बाह्य) ऋण ८ खर्ब ६ अर्ब १४ करोड रहेको थियो । चालू आवको ८ महिनामा सरकारले ७९ अर्ब ९० करोड ९१ लाख रुपैयाँ बाह्य ऋण लिएको महालेखा नियन्त्रणको कायालयले जानकारी दिएको छ । चालू आवको ८ महिनामा सरकारले वैदेशिक (बाह्य) ऋणको साँवा तथा ब्याज भुक्तानीमा सरकारले १५ अर्ब ४० करोड रुपैयाँ खर्च गरेको छ ।
चालू आर्थिक वर्ष २०७७/०७८ मा सरकारले कूल १४ खर्ब ७४ खर्ब ६४ करोड रुपैयाँ बराबरको बजेट कार्यान्वयन गरिरहेको छ । यसमा संघीय बजेटका लागि राजश्वबाट ८ खर्ब ८९ अर्ब ६२ करोड रुपैयाँ परिपूर्ति हुनेछ ।
न्यून हुने ५ खर्ब २४ अर्ब रुपैयाँमध्ये ६० अर्ब ५२ करोड वैदेशिक अनुदान, २ खर्ब ९९ अर्ब ५० करोड वैदेशिक ऋण र २ खर्ब २५ अर्ब रुपैयाँ आन्तरिक ऋणबाट परिपूर्ति गर्ने लक्ष्य चालु आर्थिक वर्षको बजेटले लिएको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies