सरकारले बहुदलीय लोकतान्त्रिक गणतन्त्र स्थापनार्थ भएको आन्दोलनहरुमा सहभागीलाई सम्मान गर्ने तयारी गरेको छ । परराष्ट्रमन्त्री प्रदीकुमार ज्ञवालीको संयोजकत्वमा सम्मानित हुनेको लगत संकलन भइरहेको सरकारले जनाएको छ । २०४६ साल र त्यस यताका विभिन्न आन्दोलनमा सहभागीलाई ‘लोकतान्त्रिक योद्धा’ सम्मान दिने सरकारको तयारी छ । त्यसका लागि प्रमुख जिल्ला अधिकारी मार्फत् लगत संकलन गरिदैछ । चाँडै लगत संकलन हुने जनाइएको छ । यो सम्मानका निम्ति गृहमन्त्री रामबहादुर थापा बादलले पहलकदमी लिएका थिए । साविकको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विभाजित हुँदा प्रधानमन्त्री केपी शर्मा ओलीलाई साथ दिएका गृहमन्त्री थापाले दश वर्षे माओवादी जनआन्दोलनका घाइते, बेपत्ता र साहदत प्राप्त गर्ने परिवारलाई सम्मान गर्नेगरी यस्तो अवधारणा अगाडि बढाएका थिए ।
अहिले गृहमन्त्री थापाको त्यो अवधारणा परिस्कृत गर्दै ‘लोकतान्त्रि योद्धा’ सम्मान गर्ने तयारी गरिएको छ । व्यवस्था परिवर्तनमा सहभागीलाई सम्मान गर्ने प्रस्ताव र तयारी दुवै राम्रो कुरा हो । यसको स्वागत नै गर्नुपर्छ । किनभने, व्यवस्था परिवर्तनका निम्ति लडेकाहरुलाई प्रोत्साहन गर्नुले परिवर्तनलाई पनि दीगो बनाउनुका साथै अपनत्वको विकास समेत हुन्छ । तर, तीन दशक पछाडि बल्ल लोकतान्त्रिक योद्धाको सम्मानको परिकल्पना कसरी भयो ? यसबारे पनि सोच्नुपर्ने हुन्छ । यदि, सकारात्मक उद्देश्यले सम्मानको कल्पना गरिएको हो भने यसमा कुनै बिमती रहने कुरै भएन । तर, सम्मानको पछाडि निहीत उद्देश्य रहेछ भने त्यो राजनीति भयो । योद्धामाथिको राजनीति किमार्थ अनुचित कुरा हो ।
किनभने, नेकपा विभाजन पछि नेकपा एमाले र माओवादी केन्द्र ब्यूँताएको पृष्ठभूमिमा माओवादी लडाकूहरु आफूतिर तान्न सरकारले यस्तो सम्मान अगाडि बढाएको देखिन्छ । किनभने, माओवादी संघर्षको कट्टर विरोधी प्रधानमन्त्री ओलीले पूर्व लडाकूहरुलाई बालुवाटारमै बोलाएर छलफल गरेका थिए । ती लडाकूहरुलाई आफ्नोतिर तान्ने प्रयास समेत गरेका थिए । अहिले तिनै पूर्वलडाकूलाई सम्बोधन गर्नेगरी सजिलो भाषा प्रयोग गरिएको अनुमान समेत गरिएको छ । व्यवस्था परिवर्तन गर्न शान्तिपूर्ण होओस् अथवा सशस्त्र आन्दोलनमा होमिएकाहरुलाई सम्मान गर्नु पर्छ । तर, त्यो कुनै राजनीतिक उद्देश्यले प्रेरित हुन चाहिँ हुँदैन । त्यसै पनि शहीद, अपाङ्ग र घाइतेहरुको नाममा राजनीति हुने मात्रै नभएर व्यवस्था परिवर्तन पछि उनीहरुमाथि उपेक्षा समेत हुने गरेको छ । त्यसैले अहिले अगाडि बढाएको कार्यक्रम कुनै राजनीतिक उद्देश्य प्रेरित नभएर योद्धाहरुको सम्मानका निम्ति हुनुपर्छ । त्यसमा कुनै राजनीतिक रंग र गन्ध आउनु हुन्न । त्यसैपनि सरकार देशको हुन्छ, कुनै पार्टी विशेषको मात्रै होइन ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies