विश्वब्यापी कोरोना महामारीको भयबाट मुलुक सामान्य कालको आशामा रहिरहँदा फेरि संक्रमण बढेको छ । सोमवार सार्वजनिक स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रतिवेदनअनुसार, पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १३ जनाको मृत्यु भएको छ । लामो समय यता एकैदिन मृत्यु हुनेको संख्या यो उच्च हो । केही महिना यता संक्रमण दर मात्रै घटेको थिएन, संक्रमणबाट मृत्यु हुनेको संख्या पनि घटेको थियो । सोमवार मृत्यु हुनेको संख्या मात्रै नभएर संक्रमण पुष्टि हुनेको संख्या पनि बढेको छ । मन्त्रालयका अनुसार, सोमवार एकैदिन झण्डै पाँच सयमा संक्रमण पुष्टि भएको छ । मन्त्रालयले एकैदिन ४९६ जनामा संक्रमण पुष्टि भएको जनाएको छ । तर, संक्रमण मुक्त हुनेको संख्या भने २४ घण्टामा १३८ जना मात्रै छन् ।
संक्रमण दर घटेर जाँदा दैनिक संक्रमित दुई डिजिटमै झरेको थियो । तर, दक्षिणी छिमेक भारतमा संक्रमण बढेसँगै नेपालमा पनि संक्रमित संख्या बढेको छ । गएको वर्ष माघ पहिलो साताबाट संक्रमण देखिन थालेको नेपालमा अहिलेसम्म दुई लाख ८० हजार बढीमा संक्रमण भइसकेको छ । त्यस मध्ये दुई लाख ७४ हजार बढी संक्रमित निको भएका छन् भने तीन हजार ५३ जनाको संक्रमणबाट मृत्यु भएको छ । संक्रमण दर घट्ने मात्रै नभएर सरकारले कोरोना विरुद्धको खोप समेत लगाउन थालेको थियो । यसले कोरोनाको भय घटेर गएको बेला फेरि संक्रमणको खतरा बढेको छ । छिमेकी भारतमा दैनिक लाख बढीमा संक्रमण पुष्टि हुने गरेको छ । खुला सीमाना र अन्य व्यापारिक सम्बन्धका कारण नेपालमा यसको असर पर्ने खतरा बढी छ ।
यस्तो अवस्थामा कोरोनाबाट बच्न सतर्कता अपनाउनु नै उत्तम विकल्प हो । किनभने, आवश्यक मात्रामा खोप उपलब्ध गराउन नसकिरहेका बेला सरकारले रोकथाममै बढी जोड दिनुपर्नेछ । त्यसैपनि नेपालमा संक्रमण रोकथामका क्रममा निकै ठूलो आर्थिक, सामाजिक र मानवीय क्षति बेहोर्नु परेको छ । फेरि पनि संक्रमणको भय बढेर जाँदा मुलुक सामान्य कालमा फर्कन थप मूल्य चुकाउनुपर्ने अवस्था आउन सक्छ । अतः चाँडपर्व, भेला तथा भीडभाड जस्ता कार्यलाई रोक लगाउनु र सामाजिक दुरी कायम गर्नु नै अहिलेका लागि उत्तम विकल्प हो । सरकारसँगै सरोकारवालाहरुले यसबारे उचित ध्यान दिन आवश्यक छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies