स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले राजधानी उपत्यकाका तीन जिल्ला सहित १४ जिल्लालाई अतिप्रभावित जिल्ला वर्गीकरण गरेको छ । मन्त्रालयले अपिल जारी गरी काठमाडौं, ललितपुर, कास्की, रुपन्देही, चितवन, बाँके, पर्सा, भक्तपुर, कैलाली, मोरङ, दाङ, सुर्खेत, बारा र बाग्लुङलाई अतिप्रभावित जिल्लामा वर्गीकरण गरेको हो । कोरोना संक्रमण दर बढी भएका जिल्लाहरुलाई सरकारले अतिप्रभावित जिल्लाको वर्गीकरण गरेको छ । यी जिल्लाहरुमा विद्यालय, सिनेमा हल, सभा, जात्रा जस्तो भीड हुने काम नगर्न समेत अपिल गरिएको छ । विशेषगरी विद्यालयमा बालबालिका नपठाउन अपिल गरिएपछि यसतर्फ धेरैको ध्यान तानिएको छ । मन्त्रालयले जारी गरेको अपिलमा उल्लेख छ, “अति प्रभावित भनी वर्गीकरण गरेका जिल्लाहरुमा बढी भीडभाड हुने सबै क्षेत्र तथा सेवाहरु अविलम्ब बन्द गर्नुपर्ने भएपनि विद्यालय, रात्रि व्यवसाय, ७ बजेपछि सबै रेष्टुरेन्ट तथा क्लबहरु, खेलकुद, जीम, सार्वजनिक पूजाआजा तथा जात्राहरु, सभा सम्मेलन, बैठक तथा भेलाहरु, सिनेमा हल, सपिङ मल, नाचघर, पार्टी प्यालेस, हेल्थ क्लब, स्विमिङ पुल आदि स्थानमा सहभागी नभई दिनु ।”
स्वास्थ्य मन्त्रालयले यसअघि बाटै उच्च सतर्कता अपनाउन आग्रह गर्दै आएको थियो । दक्षिणी छिमेक भारतमा कोरोना महामारीबाट संक्रमित हुनेको दर उच्च भए पछि नेपालमा सतर्कता अपनाउन आग्रह गरिएको थियो । तर, मन्त्रालयको आग्रह बमोजिम कुनैपनि क्षेत्र रोकिएको छैन । विद्यालयहरु सञ्चालनमा छन् भने धार्मिक पर्वहरु धुमधामका साथ मनाइदै आएको छ । शैक्षिक संघसंस्थाले सतर्कता अपनाउने, तर बन्द भने नगर्ने अडान लिएको थियो । अघिल्लो वर्ष मात्रै लकडाउन र निषेधाज्ञाका कारण नराम्रोसँग प्रभावित भएको शैक्षिक संस्थाहरु बन्द गर्न तयार भएका थिएनन् । तर, स्वास्थ्य मन्त्रालयको अपिल पछि अब गतिविधिहरु प्रभावित हुने र विद्यालयमा बालबालिका नपठाउने अवस्था सिर्जना भएको छ ।
स्वास्थ्य मन्त्रालयले कोरोना महामारीको जोखिम बढेर गएको भन्दै विहीवार अपिल जारी गरेको छ । विहीवार सार्वजनिक प्रतिवेदनअनुसार, पछिल्लो २४ घण्टामा पाँच सयको हाराहारीमा संक्रमण पुष्टि भएको छ । यसैलाई आधार मानेर स्वास्थ्य मन्त्रालयले कडाइ गर्ने संकेत दिएको छ । तर, सरकारले गत वर्ष गरिएको लकडाउन र निषेधाज्ञाबाट पाठ सिक्नु जरुरी देखिन्छ । किनभने, संक्रमण नियन्त्रणको बन्दाबन्दी निर्विकल्प होइन रहेँछ । त्यसका लागि उच्च सतर्कता अपनाउने, परीक्षण बढाउने र उपचारलाई विशेष ध्यान दिने नै हो । नत्र, त्रास मात्रै फैलाएर सफलता नमिल्ने तथ्य हामीले भर्खरै भोगेका छौं, जसलाई नभुलौ पनि ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies