शुक्रवार कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई नेकपा एमालेका चार सांसदले फ्लोर क्रस गरेर विश्वासको मत दिएका छन् । ६ महिनाको अवधिमा दोस्रो पटक अविश्वाशको सामना गरेको मुख्यमन्त्री शाहीको दुवैपटक पद जोगिएको छ । गएको २५ असोजमा मुख्यमन्त्री शाही विरुद्ध साविकको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता यमलाल कँडेलको अगुवाइमा १८ सांसदले अविश्वासको प्रस्ताव दर्ता गराएका थिए । तर, बरिष्ठ नेता माधवकुमार नेपाल निकट सात सांसद अविश्वासको प्रस्तावबाट पछि हटेसँगै शाहीको पद जोगिएको थियो । फेरि एमाले ब्यूँतिए पछि तिनै नेता कँडेलले सरकारलाई दिएको समर्थन फिर्ता लिए । एमाले नेता कँडेलले समर्थन फिर्ता लिएसँगै तीन जना मन्त्रीले राजीनामा पनि दिए । तर, शुक्रवार प्रदेशसभा बैठकमा मुख्यमन्त्री शाहीले विश्वासको मत लिए ।
मुख्यमन्त्री शाहीलाई विश्वासको मत दिन एमालेका चार नेता (प्रकाश ज्वाला, अमर थापा, कुर्मराज शाही र नन्दसिङ बुढाले पार्टीको ह्वीप क्रस गरे । फ्लोर क्रससँगै एमालेले चारै जनालाई कार्बाही प्रक्रिया अगाडि बढाएका छन् । सांसदबाट निस्कासन गर्न प्रदेश कमिटीले केन्द्रीय कमिटीलाई सिफारिस गरेको छ भने शनिवार ज्वाल बाहेक तीन जनालाई पार्टीबाट निस्कासन गरेको छ । अर्थात्, माओवादी केन्द्रका नेता शाही थप एक वर्ष मुख्यमन्त्री रहने निश्चित भएको छ भने कँडेलको दोस्रो प्रयास पनि बिफल भएको छ । कँडेलको प्रयास बिफल हुनुमा भने एमालेभित्र चर्किएको आन्तरिक कलह नै प्रमुख हो । एमाले अध्यक्ष केपी शर्मा ओलीले नेता नेपाल सहित भीम रावल, घनश्याम भूसाल र सुरेन्द्र पाण्डेलाई कार्बाही गरेको छ । २८ फागुनमा बैठक राखेर ओलीले नेता नेपाल पक्षका कुनै पनि नेतालाई जिम्मेवारी नदिने निर्णय नै गरेका छन् ।
त्यसको असर कर्णाली प्रदेश सरकारमा देखिएको छ । शुक्रवार भएको फ्लोर क्रस नेपालको संसदीय प्रणालीमै नौलो बनेको छ । यसअघि सांसद खरीद–बिक्री हुने गरेको चर्चा चल्ने गरेको थियो । तर, यसरी अर्को दलका नेतालाई क्रस भोट भने पहिलो पटक भएको छ । यसले नेपालको राजनीति कुन अवस्थामा पुगेको छ भन्ने प्रष्ट हुन्छ । सँगै, यस्तो प्रवृत्ति र समस्या हल नगर्ने हो भने वर्तमान संसदीय प्रणाली नै संकटमा पर्ने खतरा देखिन्छ । अतः कर्णालीमा देखिएको प्रवृत्ति अन्यतिर सर्न नदिन दलहरुभित्रको लोकतन्त्र स्वस्थ्य बन्न जरुरी छ । त्यसो हुन नसकेमा अहिले कायम दलीय प्रणाली नै खतरामा पर्न सक्छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies